एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २,४०० बढी शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं ,२ पुस ।
नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका क्रममा गरेको प्रतिबद्धताअनुसार एनसेल फाउन्डेसनले देशभरका सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई २ हजार ४ सय २८ वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ। क्रिकेटको उत्साहलाई शिक्षा सहयोगसँग जोड्ने उद्देश्यसहित अघि बढाइएको यो पहललाई एनसेलले निरन्तरता दिएको हो।
एनपीएलको पहिलो संस्करणदेखि सुरु गरिएको “प्रत्येक चौकामा चार शैक्षिक सामग्री” वितरण गर्ने अवधारणाअन्तर्गत, दोस्रो संस्करणमा पनि खेल मैदानमा प्रहार भएका चौकाहरूलाई विद्यार्थीहरूको पठनपाठनसँग जोडिएको छ। एनसेलले हरेक चौकाको बदलामा चारवटा शैक्षिक सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो। यस पहलले खेलकुद र सामाजिक उत्तरदायित्वलाई एकैसाथ अघि बढाउँदै आएको छ।
यस वर्षको एनपीएलमा ९९ जना खेलाडीहरूले कुल ६०७ वटा चौका प्रहार गरेका थिए। सोही आधारमा २,४२८ वटा शैक्षिक सामग्री वितरण हुने सुनिश्चित भएको हो। प्रतियोगितामा पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले सबैभन्दा धेरै ३१ वटा चौका प्रहार गर्दै १२४ वटा शैक्षिक सामग्री वितरण सुनिश्चित गरे। त्यस्तै, लुम्बिनी लायन्सका डार्सी सर्ट २६ वटा चौकासहित दोस्रो स्थानमा रहँदै १०४ वटा सामग्री सुनिश्चित गर्न सफल भए भने सुदूरपश्चिम रोयल्सका बिनोद भण्डारीले २३ वटा चौका प्रहार गरी ९२ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका छन्।
एनसेल फाउन्डेसनले सञ्चालन गरिरहेको यो शैक्षिक सामग्री वितरण कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा देखिएको शैक्षिक स्रोतको अभाव सम्बोधन गर्दै उनीहरूको सिकाइ प्रक्रियामा सहयोग पुर्याउनु रहेको छ। वितरण गरिने प्रत्येक किटमा स्कुल ब्याग, कापी, पेन्सिल, शार्पनर, इरेजर तथा अध्ययनका लागि आवश्यक अन्य आधारभूत स्टेसनरी सामग्रीहरू समावेश हुनेछन्।
एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सस्टेनेबिलिटी निर्देशक बिषाखा लक्ष्मी खड्काले यस पहलमा योगदान पुर्याउने सम्पूर्ण खेलाडीहरूप्रति आभार व्यक्त गर्दै भनिन्, “यस अर्थपूर्ण सामाजिक पहलमा योगदान पुर्याउनु हुने सबै खेलाडीहरूलाई हामी हार्दिक बधाई तथा धन्यवाद दिन चाहन्छौं। उहाँहरूको प्रदर्शनले मैदानमा आफ्ना टिमलाई मात्र सशक्त बनाएको छैन, हरेक चौकाले विद्यार्थीहरूको पठनपाठनमा समेत प्रत्यक्ष सहयोग पुर्याएको छ।” उनले गत वर्षझैं यस वर्ष पनि सरोकारवालासँग सहकार्य गर्दै शैक्षिक स्रोतको बढी आवश्यकता भएका सरकारी विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी सामग्री वितरण गरिने जानकारी दिइन्।
यस वर्ष पनि एनसेल एनपीएलको ‘पावर्ड बाइ’ साझेदारका रूपमा रहेको थियो। कम्पनीले दोस्रो संस्करणका प्रत्येक खेलमा सबैभन्दा बढी चौका प्रहार गर्ने खेलाडीलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको थियो। साथै, दोस्रो संस्करणमा सबैभन्दा धेरै चौका प्रहार गरेका पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले एनसेलबाट २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
गत वर्ष सम्पन्न एनपीएलको पहिलो संस्करणमा प्रहार भएका ६५३ वटा चौकाका आधारमा एनसेल फाउन्डेसनले २,६१२ भन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने प्रतिबद्धता जनाएको थियो। सो प्रतिबद्धता पूरा गर्दै फाउन्डेसनले २,६१२ सामग्रीसहित देशभर ९ हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गरेको थियो, जसले हजारौँ विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्रीमार्फत सशक्त बनाएको थियो।
यस वर्ष पनि शैक्षिक सामग्रीहरूको वितरण नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकायहरू तथा साझेदार संस्था कर्मयोग फाउन्डेसनसँगको समन्वयमा गरिने एनसेलले जनाएको छ। शिक्षा क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने लक्ष्यसहित अघि बढाइएको यो पहलले खेलकुदमार्फत सामाजिक रूपान्तरण सम्भव छ भन्ने सन्देशलाई थप मजबुत बनाएको छ।






