देशभरीको बजार पुग्यो करोडौंको जुम्ली स्याउ

ओम शाही

सुर्खेत, ३०असोज ।

२०६२ सालतिर कर्णाली राजमार्ग सुर्खेत, दैलेख, कालीकोटहुँदै जुम्ला उक्लँदै थियो । तत्कालीन समयमा कर्णाली राजमार्गले यातायात सञ्जाल मात्रै विस्तार गर्दै थिएन, साविक कर्णालीमा अर्थतन्त्रको कोरिडोर पनि निर्माण हुँदै थियो ।

सडकको ट्र्याकसँगै सडकछेउमा सानातिना खाद्य, खुद्रा तथा बास बस्ने होटल खुल्दै गए । सडक निर्माणमा संलग्न मजदुरहरूले स्थानीयस्तरमा उत्पादित कृषिवस्तुहरू उपभोग गर्न थाले । यसले कर्णालीको स्थानीय अर्थतन्त्र बिस्तारै चलायमान हुँदै जान थाल्यो ।

३१ चैत २०६३ मा जब कर्णाली राजमार्गले पहिलोपटक जुम्लालाई औपचारिक रूपमा छिचोल्यो, तब जुम्लाको जीवनमा नयाँ अध्याय सुरु भयो । सडक सञ्जाल विस्तार भएसँगै जुम्लाको परिचय स्याउको राजधानीमा परिणत भयो ।

स्याउले जम्लाको पहिचान नेपालमा मात्र होइन, विश्व बजारसम्म कर्णाली राजमार्ग भएर पुर्‍याएको छ । त्यही स्याउ अहिले सिङ्गो कर्णाली प्रदेशको अर्थतन्त्र चलायमान बनाउने आधार बनेको छ । स्थानीयस्तरमा स्याउको उत्पादन र उत्पादकत्व राम्रो भए पनि जुम्ली किसानले अझै पनि उचित मूल्यसहितको स्याउ निर्वाध बजार पठाउन भने पाएका छैनन् ।

जुम्लाको सिंजा गाउँपालिका–५, फुग्र गाउँका किसान हिराबहादुर बुढाले यस वर्ष आफ्‌नै बगैंचामा फलेको स्याउ बेचेर यो बर्ष मात्र एक लाख ६८ हजार रुपैयाँ भित्र्याएका छन् । उनले आफ्‌नै बगैचामा फलेको स्याउ प्रतिकिलो ७० रुपैयाँमा बेचेका छन् । उनको बगैंचासम्म व्यापारीहरु आए र फलेका स्याउ लिएर गए ।बुढाले तीन प्रजातिको स्याउ आफ्‌नो बगैंचामा लगाएको छन् ।, रेड, रोयल र गोल्डेन । पछिल्लो समय सडक सञ्जाल गाउँसम्म पुगेपछि उनले फलेको स्याउ पशुवस्तुलाई खुवाउन परेको छैन । एक दशक अघिसम्म बजार नपाएर गाउँमै गाईवस्तुलाई दानाको रुपमा प्रयोग हुने गरेको जुम्लाको स्याउले सडक सञ्जाल गाउँ जोडिएसँगै बजारसँगै उपयुक्त मूल्य पाईरहको छ । ‘स्याउले घरमै हामीलाई रोजगारी दिएको छ, उहिलेको जस्तो गाइबाच्छालाई खुवाउनपर्दैन, ठूलो बजारसम्म जान्छ रे’ हिराबहादुरले भने ।

 

ढुवानी गर्न नपाउँदा फलेको स्याउ बगैंचामै कुहिने पहिलेको समय सिंजा गाउँपालिका–६ जोडु गाउँका जगबहादुर बुढाले सम्झिए । ‘उबेला हामीले फलाएको स्याउको न मूल्य थियो, कुनै महत्व पनि थिएन’, उनी भन्छन्, ‘अहिले स्याउ बेचेर गाउँमै मालामाल छ, पहिले खेर जाने उत्पादनबाट अहिले आम्दानी भएको छ ।’ उनले यो सिजनमा मात्र स्याउ विक्री गरेर तीन लाख ५२ हजार रुपैयाँ हात पारेका छन् ।

१७ हजार वर्गमिटरमा फैलिएको उनको बगैंचामा पाँच सय भन्दा धेरै फल दिने स्याउका बोट छन् । जोडु गाउँकै नरबहादुर बुढाले दुई लाख १५ हजार रुपैयाँ स्याउ बेचेर कमाएका छन् । चन्द्रबहादुर बुढाले दुई लाख ६० हजार चार सय ८० आफ्‌नै बारीको स्याउ बेचेर कमाए । गोपाल बुढाले पनि एक लाख ८५ हजार रुपैयाँ कमाए । दुर्गम गाउँमा स्याउले मनग्य आम्दानी दिन थालेपछि गाउँका कृषकहरु उत्साहित छन् । सिंजा गाउँपालिका–६ का लालबहादुर बुढाले जोडु गाउँपालिकाका एक सय ११ घरले कम्तीमा औसतमा ५० हजार रुपैयाँ बराबरको स्याउ बेचेको बताए । उनका अनुसार जोडु गाउँले मात्र यो वर्ष ५५ लाख ५० हजार रुपैयाँको स्याउ बेचेको वडा नम्बर ६ कार्यालयले हिसाब राखेको छ । जोडु गाउँका हरेक परिवारले आफ्‌नो बारीमा स्याउ बगैंचा बनाएका छन् । स्याउको बगैंचा भित्र अन्य बाली पनि लगाउँछन् ।

सिंजा गाउँपालिका–५ फुग्रगाउँका नर्मजङ रोकायाले यो सिजनमा ५७ क्विन्टल स्याउ बेचेको बताए । जसबाट उनले ६ लाख रुपैयाँ आम्दानी गरेका छन् । फुग्रगाउँमा एक सय ६ घरधुरी छन् । न्यूनतम ८० हजार देखि एक लाख रुपैयाँसम्मको स्याउ एउटा घरपरिवारले बेच्ने गरेका छन् । सिंजा–५, को वडा कार्यालयको तथ्याङ्क अनुसार यो वर्ष मात्रै एक करोड ६० लाख रुपैयाँको स्याउ वडाबाट बाहिरिएको छ । अहिले गाउँसम्मै सडक जोडिएकोले स्याउ ढुवानीमा निकै सहज भएको छ ।

कुनै बेला गाउँदेखि स्याउको भारी बोकेर एक दिनको पैदल हिँडेर सदरमुकाम खलंगा पुर्‍याउनुपर्ने बाध्यता थियो । तर अहिले बगैंचामै स्याउ लिन ट्रक पुग्ने गरेका छन् । अहिले फुंग्र, जोडु जस्ता जुम्लाका विभिन्न गाउँको स्याउ सुर्खेत, नेपालगन्ज, कोहलपुर हुँदै पोखरा र काठमाडौं जस्ता ठूला बजारमा पुग्ने गरेको छ ।

३३ करोडको स्याउ निर्यात

जुम्लाबाट यस वर्षको भदौ र असोज महिनाको अवधिमा चार हजार सात सय २५ मेट्रिटन अर्थात ३३ करोड बराबरको स्याउ निर्यात भएको छ । कृषि विकास कार्यालय जुम्लाले उपलब्ध गराएको तथ्यांक अनुसार यो वर्ष जुम्लाबाट ३३ करोड सात लाख ५० हजार बराबरको स्याउ दुई महिनाको अवधिमा निर्यात भएको छ ।

कार्यालयले यस वर्षको सिजन कार्तिक मसान्तसम्म ४५ करोडसम्मको स्याउ निर्यात हुने अनुमान गरेको छ । हालसम्म १३ हजार मेट्रिक टन स्याउ उत्पादन भइसकेको अनुमान छ । यो वर्ष मनसुनी प्रभावका कारण स्याउ उत्पादन घटेको छ । गत वर्ष यहीँ अवधिमा नौ हजार तीन सय ३१ मेट्रिक टन अर्थात ६१ करोड दुई लाख ४७ हजार बराबरको स्याउ बजार गएको थियो ।

गत वर्ष जुम्लामा १९ हजार आठ सय ४० मेट्रिक टन स्याउ उत्पान भएको कृषि विकास कार्यालय जुम्लाले तथ्यांक राखेको छ । कार्यालयका अनुसार यस वर्ष १६ करोड ६९ लाख बराबरको स्याउमा क्षति भएको छ । हाल जुम्लामा चार हजार चार सय हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । जुम्लामा रेड, रोयल, गोल्डेन जातको स्याउ फल्छ ।

जिल्लाका आठ स्थानीय तहका ६० वटै वडामा स्याउ फल्ने गरेको छ । किसानले ए र बी ग्रेडको स्याउ जिल्ला बाहिर पठाए पनि सानो आकारको स्याउको चाना, जाम, जेली र जुस बनाउने गरेका छन् । स्थानीय सरकारहरुले पनि स्याउको परिकार बनाउने तालिम र उपकरण वितरणमा सहयोग गरिरहेका छन् ।

स्याउसँग जोडिँदै किसान

जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार पछिल्लो पाँच वर्षमा जुम्लाबाट एक अर्ब ३६ करोड रुपैयाँबराबरको स्याउ निर्यात भएको छ । पछिल्लो दशकमा राष्ट्रियस्तरमा जुम्ली स्याउको फरक पहिचान हुनुका साथै बजारमूल्य पनि बढैपछि स्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको देखिन्छ ।

आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ को बीचमा मात्रै जुम्लामा स्याउ किसानको संख्या १४ हजार पाँच सयबाट २६.३१ प्रतिशत वृद्धि भएर १८ हजार तीन सय १५ पुगेको एक अध्ययनले देखाएको छ । समृद्ध कर्णाली निर्माणमा नीतिगत पैरवी गर्दै आएको ऋति फाउन्डेसनले जुम्लाको स्याउ मूल्य शृंखलामा प्रणालीगत अवरोध विषयमा गरेको अध्ययनले पछिल्लो समय जुम्लामा कृषकसँगै स्याउको उत्पादन पनि बढिरहेको देखाएको छ ।

गत वर्ष २०८१ मा जुम्लामा चार हजार दुई सय ५० हेक्टर जमिनमा २० हजार पाँच सय ११ मेट्रिकटन स्याउको उत्पादन भएको अध्ययनमा उल्लेख छ । पछिल्ला केही वर्षमा जुम्लामा किसानले फुजी, गाला जातका उच्च घनत्व र सुधारिएका प्रजातिका स्याउ खेती गर्न सुरु गरेका छन् । आर्थिक वर्ष २०८०/८१ मा जुम्लाबाट ६१ करोड ४० लाख रुपैयाँबराबरको स्याउ निर्यात भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

जुम्लाको स्याउ सुर्खेत हुँदै काठमाडौं, पोखरा, बुटवल, चितवन, धरान, धनगढी र महेन्द्रनगरका बजारमा निर्यात हुने गर्छ । आर्थिक वर्ष २०७८/७९ मा जुम्लाबाट १२ हजार मेट्रिकटन स्याउ बिक्री भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा २० हजार पाँच सय ११ मेट्रिकटन स्याउ निर्यात भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम जुम्लाको तथ्यांकले देखाउँछ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका अनुसार जुम्लामा स्याउको वार्षिक औसत बिक्री नौ हजार सात सय ९१ मेट्रिकटन छ । आर्थिक वर्ष २०७८/७९ देखि आर्थिक वर्ष २०८०/०८१ सम्म जुम्लामा स्याउको बिक्री आठ हजार मेट्रिकटनबाट वृद्धि भई ११ हजार तीन सय ७५ मेट्रिकटन पुगेको छ । बिक्री नभएको स्याउको मात्रा पनि चार हजार मेट्रिकटनबाट बढेर नौ हजार एक सय ३६ मेट्रिकटन पुगेको सरकारी तथ्यांक छ ।

देशभरीको बजार पुग्यो करोडौंको जुम्ली स्याउ

सम्पादकीय : डेङ्गी नियन्त्रणमा ध्यान देऊ !

देशभरीको बजार पुग्यो करोडौंको जुम्ली स्याउ

गुठिचौर गाउँपालिकामा सुशासनको नयाँ सुरुवात : अध्यक्ष

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds