सम्पादकीय : डेङ्गी नियन्त्रणमा ध्यान देऊ !
कर्णाली प्रदेशमा हालसम्म तीन सय ४० जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ । यसबाट दुई जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार यो तथ्यांक बैशाखदेखि असोज २५ गतेसम्मको अवधिमा संकलित हो । विशेष गरी तराईका जिल्लामा बढी देखिने डेङ्गी अहिले विस्तारै चिसो तापक्रम हुने पहाडी र हिमाली भूभागमा समेत फैलन थालेको छ । स्वास्थ्यकर्मीहरूको भनाइमा जलवायु परिवर्तन, अनियोजित शहरिकरण, अव्यवस्थित फोहोर व्यवस्थापन र मानिसहरूको तीव्र आवागमनले लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण सिर्जना गरेको छ । यसले गर्दा सुर्खेतजस्ता शहरहरू रेडजोनमा परिणत भएका छन् । राजधानी र सुविधायुक्त अस्पतालहरू सुर्खेतमा केन्द्रित भएकाले संक्रमितहरूको संख्या त्यहाँ बढी देखिए पनि यो प्रदेशका अन्य जिल्लामा संक्रमण नफैलिएको भन्ने अर्थ होइन ।
मुगु, जुम्ला, दैलेख, सल्यान, रुकुम पश्चिम र कालिकोटजस्ता जिल्लामा समेत संक्रमण पुष्टि भएको छ । डेङ्गी नियन्त्रणका लागि स्वास्थ्य संस्थाहरूले हरेक वर्ष जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि समस्या ज्यूँका त्यूँ देखिनु राज्य संयन्त्रको कमजोरी मात्र होइन, समुदायको निष्क्रियताको पनि उजागर हुन्छ । डेङ्गीको उपचार पद्धती नभएकाले यसको नियन्त्रणको एक मात्र उपाय लामखुट्टेको प्रजननस्थल नष्ट गर्नु हो । एडिस एजिप्टाई जातका लामखुट्टेहरू पानी जम्ने ठाउँमा अण्डा राख्ने भएकाले हप्तामा कम्तीमा एकपटक घरआँगन वरिपरि निरिक्षण गरी त्यस्ता स्थान हटाउन जरुरी हुन्छ । खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की सफा राख्ने, ढल चुहावट मर्मत गर्ने, र सुत्दा झुलको प्रयोग गर्नेजस्ता सामान्य व्यवहारले पनि ठूलो जोखिम घटाउन सक्छ । डेङ्गी नियन्त्रणमा राज्यले सीमित साधनस्रोत प्रयोग गर्दै आएको छ, तर यसको स्थायी समाधानका लागि स्थानीय तह र समुदायको सक्रियता अपरिहार्य छ । विद्यालय, सामुदायिक संस्था र युवा समूहहरूले लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियानलाई निरन्तरता नदिइ डेङ्गीलाई सहजै जित्न सकिदैन । सरकारले मात्रले होइन, समुदायले पनि आफ्नो स्वास्थ्यको जिम्मेवारी नलिएसम्म यसको न्यूनिकरण गर्न सकिदैन ।
चिसो मौसम सुरु भएसँगै एडिस लामखुट्टे निष्क्रिय हुने भए पनि आगामी वर्ष संक्रमण अझ तीव्र हुने सम्भावना रहन्छ । त्यसैले अस्थायी उपायभन्दा दीर्घकालीन रणनीति—जस्तै फोहोर व्यवस्थापन र पानी जम्ने संरचनाको स्थायी समाधानलाई नीति तहमै समावेश गर्नुपर्छ । डेङ्गीले कर्णाली प्रदेशको जनस्वास्थ्यमा पारेको असरका बारेमा सम्बद्ध सरकारी स्वास्थ्य निकाय र समाज दुवै सजग बन्नु पर्दछ । डेङ्गी नियन्त्रणका लागि चेतना, सहकार्य र निरन्तरता नै प्रमुख हतियार हुन् । हरेक नागरिकले आफ्नो वरिपरि सफाइमा ध्यान दिँदै लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने बानी अपनाए मात्र डेङ्गीमुक्त प्रदेश बन्न सक्छ । हरेक स्वास्थ्यका सवालमा सरकारको मात्रै मुख ताक्ने नागरिकको प्रवृत्ति अन्त्य हुनुपर्दछ । नागरिकले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्न सक्ने हो भने हरेक चुनौतीसँग लड्न सकिन्छ । राज्यले पनि आफ्ना नीति अनुसारका कार्यक्रमलाई समुुदायस्तरमा प्रभावकारी ढङ्गले अघि लैजान जरुरी छ । यसो नगरिए व्यभार अन्ततः राज्यलाई नै बढ्छ । रोग लाग्नुअघिको सावधानी नै स्वस्थ समाज निर्माणको आधार हो ।





