तीन दिन भित्र मृतकका आफन्त लाई राहत दिलाउने सर्तमा सात सदस्यीय छानबिन समिति गठन

काली बहादुर परियार
जुम्ला,३१ साउन।
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत जुम्ला हिमा गाउँपालिका–३ निवासी डिकेस नाथ योगीको निधनपछि सदरमुकाम खलंगामा सुरु भएको आन्दोलनलाई व्यवस्थापन गर्न सात सदस्यीय छानबिन समिति गठन गरिएको छ।
डिकेस नाथको उपचारमा लापरबाही भएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गर्दै आन्दोलन चर्काएपछि जिल्ला प्रशासन र स्थानीय सरोकारवाला निकायहरूबीच छलफल भएको थियो । अन्ततः जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
समितिमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रहरी प्रशासन र स्थानीय निकायका सदस्यहरू समावेश गरिएको छ। समितिले घटनाको सत्य तथ्य सार्वजनिक गर्नुका साथै मृतकका परिवारलाई राहत उपलब्ध गराउन तत्काल पहल गर्ने प्रतिबद्धता जनाएको छ।
निर्णयअनुसार, समितिले तीन दिनभित्र प्रतिवेदन सहित सुझाव पेस गर्ने र राहत प्रक्रिया अघि बढाउने सहमत भएको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरीनन्द आचार्यले बताए ।
मृतकका आफन्तले पनि छानबिन समितिको प्रतिबद्धता र राहत प्रक्रियामा विश्वास व्यक्त गर्दै आन्दोलन स्थगित गर्ने संकेत गरेका छन् ।
स्थानीयवासीले अब समिति निष्पक्ष र छिटोछरितो ढंगले काम गर्ने अपेक्षा राखेका छन्। उनका अनुसार, यसअघि पनि यस्ता घटनामा ढिलासुस्ती हुने गरेको स्मरण गर्दै यसपटक सत्य तथ्य उजागर हुनु जरुरी रहेको बताएका छन् ।






