औषधि व्यवसायीविरुद्ध १७ मुद्दा दर्ता, १३ पसल शील र निलम्बन

बाँके,३१ साउन ।
आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न अनियमितता गरेका औषधि व्यवसायीविरुद्ध १७ वटा मुद्दा जिल्ला अदालतमा दर्ता भएका छन्।
औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जका वरिष्ठ औषधि व्यवस्थापक निनु श्रेष्ठका अनुसार औषधि चोरीपैठारी गर्ने, नेपालमा दर्ता नभएका औषधि सञ्चय गर्ने, व्यवसायी अनुपस्थित हुँदा औषधि विक्री वितरण गर्ने जस्ता गतिविधिमा संलग्न भेटिएका कारण उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।
जिल्लागत विवरणअनुसार बाँकेका ८, दाङ, बर्दिया, जाजरकोट, कैलाली, डडेलधुरा, बझाङमा १/१ र कञ्चनपुरका ३ जना व्यवसायीमाथि मुद्दा दर्ता भएको छ। गत वर्ष ७ मात्र मुद्दा दर्ता भएका थिए।
त्यसैगरी औषधि पसल अनुगमनका क्रममा व्यवसायी उपस्थित नभएको, म्याद नाघेका औषधि भेटिएको र लागुपदार्थ तथा मनोविपद औषधिको अभिलेख नराखिएको कारण १३ वटा औषधि पसल शील तथा निलम्बन गरिएको विभागले जनाएको छ। गत वर्ष ४३ पसललाई यस्तै कारबाही गरिएको थियो।
श्रेष्ठका अनुसार औषधि ऐन २०३५ अनुसार विभागले अधिकतम ६ महिना पसल शील गर्ने अधिकार राखे पनि प्रायः ४५ दिनसम्म मात्र कारबाही गरिन्छ। चालु वर्ष बाँकेका ७, कैलालीका २, बर्दियाका ३ र सल्यानको १ गरी १३ पसललाई निलम्बन गरिएको हो।
‘व्यवसायी अनुपस्थित भएर औषधि बिक्री वितरण गर्ने समस्या बढी छ,’ श्रेष्ठले भने, ‘सचेतना कार्यक्रमहरू गरेका छौँ तर अटेरी गर्ने प्रवृत्ति अझै प्रबल छ। विभागको उपस्थिति बलियो भएको क्षेत्रमा भने समस्या क्रमशः घट्दै गएको छ।’
नेपालगञ्ज शाखाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका २५ जिल्लाका औषधि पसल तथा उद्योगको अनुगमन जिम्मेवारी पाएको छ। ती जिल्लामा ५ हजार ९६ फार्मेसी दर्ता भए पनि हाल ३ हजार ५०९ मात्र सञ्चालनमा छन्।
२०७८/०८२ मा ४ सय फार्मेसी मात्र अनुगमन गर्ने लक्ष्य पाएको शाखाले ६ सय ७७ फार्मेसी र ८ वटै औषधि उद्योगको अनुगमन गरेको जनाएको छ।






