बाँकेका किसान थ्रेसर मेसिनले बदल्दै धान दाउने शैली

बाँके,२९असोज ।
बाँकेका किसानहरूमा पछिल्ला वर्षहरूमा थ्रेसर मेसिनको प्रयोग तीव्र रूपमा बढिरहेको छ । परम्परागत रूपमा हातले वा हलगोरु प्रयोग गरेर गरिँदै आएको धान दाउने काम अहिले आधुनिक मेसिनबाट सहज र छिटो रूपमा सम्पन्न हुन थालेको छ । जनशक्तिको अभाव र मजदुरको बढी खर्चले थकित भएका किसानका लागि थ्रेसर मेसिनले राहतको विकल्प बनेको छ ।
धान पाक्ने समयसँगै अहिले बाँकेका अधिकांश गाउँमा थ्रेसर मेसिनको घरघरमै आवाज सुनिन थालेको छ । खेतमा धान काट्नका लागि मेशिनरी औजार प्रयोग भएपछि किसानहरूका लागि काम अझ सजिलो बनेको छ । थ्रेसर मेसिनको प्रयोगले काम गर्ने मजदुरको अभावको समस्या पनि धेरै हदसम्म समाधान भएको छ ।

कोहलपुर–७ रजगढवाका किसान रामचरण थारु भन्छन्, “गाउँमा काम गर्ने मान्छे पाउन गाह्रो छ, र पाइएका खेतालाको खर्च पनि धेरै बढेको छ । अहिले थ्रेसर मेसिनको प्रयोग गर्दा समय र पैसा दुबै बचत हुन्छ । यसले हाम्रो श्रमको भार घटाएको छ, त्यसैले अहिले हामी थ्रेसरमै निर्भर भएका छौँ ।”
त्यस्तै, कोहलपुर–१३ भरैयाका कृषक जयलाल घर्ति पनि आधुनिक प्रविधिप्रति उत्साहित देखिन्छन उनले भने, “पहिले हलगोरु र मजदुरको भर पर्नु पर्थ्यो, अहिले त्यो अभावलाई थ्रेसर मेसिनले समाधान गरिदिएको छ । यो सानो, चलाउन सजिलो र कुनै पनि ठाउँमा लैजान मिल्ने भएकाले धेरै उपयोगी भएको छ ।”
थ्रेसर मेसिनका सञ्चालक चक्रबहादुर भण्डारीका अनुसार, बाँकेमा हाल मेसिन भाडामा लिएर काम गर्ने किसानहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । उनले भने, “यो मेसिनले समय र पैसाको बचत गर्छ । हामी १ क्विन्टल धान दाउँदा १० किलो धान सेवा शुल्कका रूपमा लिन्छौँ । यसरी हेर्दा किसानलाई नगद तिर्नु पर्दैन, बरु बालीकै अंश दिएर काम पूरा गर्न सकिन्छ, जुन सबैका लागि सहज हुन्छ ।”

थ्रेसर मेसिनले उत्पादनमा वृद्धि र श्रम खर्चमा कटौती ल्याएको किसानहरूले अनुभव गरिरहेका छन् । यसले धान दाउने काममा महिलाको श्रमभार पनि घटाएको छ । पहिले घामपानीमा खेतमै घण्टौँसम्म काम गर्नुपर्ने बाध्यता अहिले केही मिनेटमै समाप्त हुने गरेको छ । तर, सबैले यसलाई मात्र प्रविधिको चमत्कारका रूपमा नलिएका पनि छन् ।
कोहलपुरका कृषक तुलबिर खत्री भन्छन्, “आधुनिक प्रविधिले काम सजिलो बनाएको हो, तर हामीले परम्परागत दाइँ संस्कृतिलाई पनि नबिर्सिनु पर्छ । गाउँमा सामूहिक रूपमा दाइँ गर्ने र गाउँलेबीच आपसी सहयोग गर्ने परम्परा बिस्तारै हराउँदै गएको छ ।”
यद्यपि, अधिकांश किसानका लागि थ्रेसर मेसिन अहिलेको आवश्यक प्रविधि बनेको छ । यसले उत्पादन लागत घटाएको छ र समयमै काम सम्पन्न गर्न सहज बनाएको छ । बाँकेका कृषकहरूका अनुसार, आगामी वर्षहरूमा अझ बढी किसानहरू यस प्रविधितर्फ आकर्षित हुने अपेक्षा गरिएको छ ।
आधुनिक थ्रेसर प्रविधिले जहाँ बाँकेका किसानलाई आत्मनिर्भर र समयमै उत्पादन पूरा गर्ने अवसर दिएको छ, त्यहीं यसले ग्रामीण अर्थतन्त्रमा नयाँ गतिशीलता ल्याएको छ । किसानहरूको भनाइमा, “थ्रेसरले खेतमा कामको गति मात्र बढाएको छैन, हाम्रो जीवनशैली नै बदलिदिँदै छ ।”






