दृष्टिविहीन धर्मलाल,रेडियो सञ्चालन गर्दै

गोल्डेन बुढा

जुम्ला,२९ असोज ।

सिंजा उपत्यकाको एउटा टाकुरोमा अवस्थित छ।रेडियो सिंजा खोला।त्यही रेडियोको स्टुडियोभित्र बिहानको पहिलो उज्यालो देखिन्छ,आँखाबाट होइन, आवाजबाट। त्यो आवाज हो- धर्मलाल प्याकुरेलको।२२ वर्षीय धर्मलाल दृष्टिविहीन छन्। तर उनी जुम्लाको दुर्गम भुली डाँडाबाट रेडियो सञ्चालन गर्छन् — समाचार संकलन, सम्पादन, वाचन र प्रवाहसम्म। एक्लै।आँखा नदेख्नेले रेडियो कसरी चलाउँछ? समाचार कसरी पढ्छ? उत्तर छन् — धर्मलाल।कनकासुन्दरी गाउँपालिका–७, बैदारबाडा गाउँका धर्मलालको आँखाले अक्षर चिन्न सक्दैन। उनी कापीमा लेखिएका अक्षर पढ्न सक्दैनन्, तर समाचारहरू सुन्छन्, सम्झन्छन् र घोकेर रेडियोमार्फत प्रसारण गर्छन्।”मोबाइल एप्स र टकब्याकको सहायताले समाचार तयार गर्छु। के पढ्ने, के सम्पादन गर्ने — सबै काम आफैं गर्छु,” उनी भन्छन्।वास्तवमा, उनले समाचार र सूचना केवल पढ्दैनन् — महसुस गर्छन्। यही अनुभूति उनका शब्दमा झल्किन्छ।२०८० सालको साउन महिनादेखि रेडियो सिंजा खोलामा कार्यरत धर्मलालले बिहान ५ बजेर ४५ मिनेटदेखि राति ९ बजेसम्म रेडियो कार्यक्रम सञ्चालन गर्छन्।

रेडियोको स्वीच खोल्नेदेखि मिक्सिङ, अडियो एडिटिङ र समाचार वाचनसम्म सबै जिम्मेवारी उनी एक्लैले सम्हाल्छन्।सीप सिक्दै, सन्देश बाँड्दै, प्रेरणा दिँदै अघि बढिरहेका छन्।धर्मलालको योगदानले दुर्गम क्षेत्रमा सूचना पहुँच विस्तार मात्र होइन, सामाजिक सोच परिवर्तनमा पनि प्रभाव पारेको छ। कार्यक्रम संयोजक उमेश बुढा भन्छन्,”सुरुमा हामीलाई पनि शंका थियो — दृष्टिविहीन व्यक्ति रेडियो चलाउन सक्छन्? तर अहिले उनी एक्लैले पूरै स्टेसन चलाउँछन्।”रेडियो सञ्चालक मोहन शाही को प्रेरणा, साथ र सहकार्यले धर्मलाल अझ निखारिए।धर्मलालले जुम्लाकाे सिंजा -३ मा रहेको भैरव माध्यमिक विद्यालय, नराकोटमा ब्रेल लिपिबाट हाईस्कुल तहसम्म अध्ययन गरेका हुन्।

२०७७ सालमा नेपाल पत्रकार महासंघ जुम्लाको अगुवाइमा सञ्चालित तीन दिने पत्रकारिता तालिमले उनलाई रेडियोमा ल्यायो। ४० जना सहभागीमध्ये उनी पत्रकारितामा टिक्न सफल मध्ये एक हुन्।त्यसपछि उनले एविलिज फाउन्डेसन र अपांग पुनर्स्थापन तथा विकास केन्द्रबाट सञ्चालित सीप विकास तालिम पनि लिए। आत्मबल झनै बलियो बन्यो।यता सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल भन्छन्,”धर्मलाल कार्यक्रममा आउँदा अचम्म लाग्थ्यो। अब उनी रेडियोबाट समाचार पढ्छन् भन्ने सुन्दा गर्व लाग्छ। अक्षर नदेख्ने युवाले सूचनाको संसार उज्यालो बनाउन सक्दछन् भन्ने उदाहरण बनेका छन्।”उनको कामले “अपांगता भनेको असमर्थता हो” भन्ने गलत धारणा हटाउँदैछ।आज उनी रेडियोको बटम छामेर चलाउँछन्, तर समाजको चेतना र आशाको बत्ती बालिरहेका छन्।उनको स्वर अब केवल जुम्लामा होइन, सिंगो देशमा गुञ्जिनु पर्छ।

 

दृष्टिविहीन धर्मलाल,रेडियो सञ्चालन गर्दै

जुम्लामा स्याउ ७ हजार मेट्रिक टनले घट्यो

दृष्टिविहीन धर्मलाल,रेडियो सञ्चालन गर्दै

सम्पादकीय : नश्लीय राष्ट्रवादबाट मुक्त बनौं !

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds