स्याकले मनायो सामाजिक रुपान्तरणका ३१ औँ बर्ष

सुर्खेत, ३०साउन ।
समाज जागरण केन्द्र (स्याक) नेपाल सुर्खेतले विविध कार्यक्रम आयोजना गरी आफ्‌नो ३१ औँ स्थापना दिवस मनाएको छ । सामूहिक सरसफाई अभियान, मानव सेवा आश्रममा भोजन सेवा, माध्यामिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता, प्रदेश स्तरीय अन्तरक्रिया, रक्तदान लगायतका सप्ताहव्यापी विभिन्न कार्यक्रमगरी स्याक नेपालले स्थापना दिवस मनाएको हो । ‘अन्धकारलाई सराप्नु भन्दा एउटा बत्ति बाल्नु बेश’ भन्ने मुल नारा लिएर २०५२ साल साउन २९ गते वीरेन्द्रनगर १२ नेवारेमा स्याकको स्थापना गरिएको थियो । स्थापना दिवसका अवसरमा विहीबार औपचारिक समारोहको आयोजना गरिएको छ ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समाज रुपान्तरणका क्षेत्रमा स्याक नेपालले महत्वपूर्ण योगदान गरेको बताए । कार्यक्रमको उद्घाटनपछि आफ्‌नो भनाई राख्दै मुख्यमन्त्री कँडेलले सबै मिलेर युवाहरुलाई आफ्‌नै देशमा स्वरोजगार बन्न प्रेरणा दिन आवश्यक रहको औलाए । अहिले समाजमा निराशा बाड्ने काम भैरहेको भन्दै त्यसले समाजलाई नकरात्मकता तर्फ डोर्‍याइरहेको प्रति चिन्ता व्यक्त गरे । सकरात्मक भएका कामहरुको पनि चर्चा गर्न आवश्यक रहेको उनको भनाई छ । सामाजिक विकास मन्त्री घनश्याम घण्डारीले विगतमा ग्रामीण समाजको चेतनास्तरबृदिमा स्याक नेपालले महत्वपूर्ण काम गरेको भन्दै अब सहरमा काम गर्न जरुरी देखिएको बतए । उनले सहरमा लागू औषध दूर्व्यसनी लगायतका समस्या समस्या बढ्दै गएको भन्दै अब नागरिक समाज संस्थाहरूले सहर बजारमा पनि सचेतनामूलक रुपान्तरणीय काम गर्नुपर्ने औल्याए ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले समाज रूपान्तरण र महिला अधिकार प्रबद्र्धनमा स्याक नेपालले अतुलनीय योगदान पुर्‍याएको बताए । आजभन्दा ३० बर्ष अघि महिला बालबालिकाको अधिकारको दायरा कमजोर रहेको स्मरण गर्दै उनले आजको अवस्थामासम्म पुग्न स्याकको पनि उल्लेखेनीय योगदान रहेको बताए ।
संस्थापक अध्यक्ष एवं संरक्षक डाक्टर सुरेश तिवारीले स्याक नेपालको स्थापनाका सुरुवाती दिनको स्मरण गर्दै ३० बर्षको अवधिमा भएका परिवर्तन र स्थापित नागरिक अधिकारको हिस्सेदार स्याक नेपाल पनि भएको जिकिर गरे । तिवारीले समावेशी, सुशासनयुक्त समुन्नत समाज निर्माणका लागि रुपान्तरीय अभियानमा स्याक नेपाल निरन्तर लागिरहने बताए । ३० बर्षको दौरानमा संचार प्रविधि लगाय समाजमा निकै परिवर्तन आएसकेकाले अब समाजका नयाँ आयमहरूलाई बुझेर नयाँ रणनीतिमार्फत स्याक नेपाल अघि बढ्ने उनको भनाई छ ।
स्याक नेपालका अध्यक्ष मिना तिवारी शर्माले नागरिकमा अधिकारसँगै कर्तव्यबोध गराएर जागरण ल्याउनेकुरामा स्याक नेपाल सम्बद्ध सबैसँग सँगसँगै हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाइन ।
मानवसेवा आश्रमलाई साढे ६ लाख सहयोग
स्याक नेपालले मानव सेवा आश्रमको भवन निर्माणका लागि ६ लाख ५१ हजार एक सय १५ रुपैँया सहयोग गरेको छ । स्थापना दिवसका अवसरमा बिहीबार संस्थाले मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो । मानवसेवा आश्रमले वीरेन्द्रनगर ११ मा निर्माण गर्न लागेको भवनको एक कोठा निर्माणका लागि सहयोग गरेको स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले बताए । सहयोगापेक्ष मानवको सेवाका लागि संस्था र कर्मचारीको तर्फबाट उक्त सहयोग गरिएको आर्चाले बताए ।

मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीले सहयोगापेक्ष मानवहरुका लागि निर्माण गर्न लागिएको आश्रमका लागि सहयोग गरेको प्रति स्याक नेपालप्रति आभार व्यक्त गरे । आश्रमको भवन निर्माणका लागि वीरेन्द्रनगर ११ गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले २९ बिघा जग्गा उपलब्ध गराएको छ । भवन निर्माणका लागि आवश्यक पूँजी जुटाउन गत बर्ष सुर्खेतमा महायज्ञ आयोजना गरिएको थियो । मानव सेवा आश्रम हाल वीरेन्द्रनगर नगरपालिका–१२ मा रहेको भाडाको घरमाबाट सेवा सञ्चालन गर्दै आएको छ ।
सामाजिक क्षेत्रमा योगदान पुर्‍याउनेहरुलाई सम्मान
स्थापना दिवसकै अवसरमा संस्थापक कार्य समिति, संस्थापक सल्लाहकार, संरक्षकसँगै समाजमा विभिन्न क्षेत्रबाट योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । खानेपानी सरसफाई क्षेत्रबाट खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष कुलमणि देवकोटा, शिक्षा बाल अधिकार र मानव अधिकारका क्षेत्रबाट मध्यपश्चिम विश्वविद्यालयका पूर्व डीन पीताम्बर ढकाल, कला संस्कृतीमा बरिष्ठ कलाकार प्रेमदेव गिरी, मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारी, महिला मानव अधिकारकर्मी अधिवक्ता गीता कोइराला, लेखक, सामाजिक अभियान्त तथा बाल रोग विशेषज्ञ डा नवराज केसीलाई संस्थाले सम्मान गरेको हो । यस्तै संस्थाले गठन गरेको पहिलो महिला समूहको संस्थापक अध्यक्ष बालिका सारु र सहकारीको संस्थापक विष्णु ज्ञवाली, जिल्ला बाल मञ्चको पहिलो अध्यक्ष गायिका टिका पुनलाई सम्मान गरेको छ । संस्थापक सचिव तथा कार्यकारी निर्देशक टिकाराम आचार्यलाई संस्थामा लामो समयदेखि सेवा गरेको कदर गर्दै संस्थाले सम्मान गरेको  छ ।

यस्तै संस्थाले ३० बर्ष यात्रालाई समेटेर ‘सामाजिक रुपान्तरणमा स्याक नेपालको तीन दशक’ नाम दिएर स्मारिक गरेको छ । संस्थाको साधारणसभा आज शुक्रबार सम्म चल्ने छ भने साधारणसभाले नयाँ कार्यसमिति पनि चयन गर्नेछ । महिला, बालबालिका र किशोरकिशोरीहरुको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माण गर्ने दूरदृष्टिका साथ स्याक नेपालले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

स्याकले मनायो सामाजिक रुपान्तरणका ३१ औँ बर्ष

कर्णालीमा जग्गा बाँझो राख्नेलाई जरिवाना

स्याकले मनायो सामाजिक रुपान्तरणका ३१ औँ बर्ष

वर्षा लागेपछि निद्रा हराउने जुम्ला पातारासी चौरगाउँको

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds