परम्परागत पेशामा आधुनिक सोच : माटाका भाँडामा प्रविधिको जादु

बाँके, २८ असोज ।
नेपालगन्ज  उप–महानगरपालिका–१६, जैसपुरका जावेद अहमद माटोको भाँडा बनाउने पुरानो परम्परागत पेसामा आधुनिक प्रविधिको समावेश गरेर सफलता पाएका छन् । हातले भाँडा बनाउने परम्परागत तरिका समय–खपत र श्रमसाध्य भएकाले जावेदले मेसिनको प्रयोग गरेर यस पेशामा नयाँ क्रान्ति ल्याएका छन् ।
पहिले हातले माटाका भाँडा बनाउँदा धेरैजसो फुटेर खेर जाने, मागअनुसार उत्पादन गर्न नसक्ने र कामदारलाई अत्याधिक थकाइ हुने समस्या थियो । तर, जावेदले विद्युत–सञ्चालित मेसिन प्रयोग गरेपछि ती सबै चुनौतीहरू अवसरमा परिणत भएका छन् । उनका अनुसार, “मेसिनले समय बचत मात्रै होइन, कामलाई सहज र गुणस्तरीय पनि बनाइदिन्छ । अब म एक दिनमै करिब दुई हजार माटाका भाँडा बनाउन सक्छु ।”
जावेदले उत्पादन गर्ने भाँडाहरूमा मुख्यतः कुल्लढ र माटाका गिलासहरू पर्छन्, जसको प्रयोग चिया, लस्सी, र दहीजस्ता पेय पदार्थमा गरिन्छ । यी भाँडाहरू हाल दाङ, कोहलपुर र नेपालगञ्जका बजारहरूमा होलसेलमा बिक्री भइरहेका छन् । बजारमा बढ्दो मागले उनको व्यवसायलाई विस्तार गर्दै लगेको छ, जसले स्थानीय स्तरमा नयाँ सम्भावना र रोजगारीका अवसर पनि सिर्जना गरेको छ ।
माटाको शुद्धता र गुणस्तरमा विशेष ध्यान दिने जावेदको व्यवसायमा मेसिनको प्रयोगले दक्षता र दिगोपन दुवै बढाएको छ । पहिले तीन दिन लाग्ने काम अब एक दिनमै सकिन्छ, जसले उत्पादन मात्र होइन, कामदारहरूको थकान पनि घटाएको छ ।
नेपालगञ्ज आसपासका क्षेत्रमा कुमाल समुदाय परम्परागत रूपमा माटाका भाँडाहरू बनाउँदै आएको पाइन्छ । तर, उनीहरूको काम पुरानो शैलीमै सीमित रहँदा बजार प्रतिस्पर्धामा टिक्न कठिन भएको छ। जावेदजस्ता उद्यमीहरूले प्रविधिको सहायताले माटोको कला र पेसालाई नयाँ उचाइमा पुर्‍याएका छन्, जसले कुमाल समुदायका लागि पनि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ ।
स्थानीय तहले यस्ता प्रविधिमूलक पहललाई प्रोत्साहन दिन सके, कुमाल समुदायको जीवनस्तरमा सुधार, उत्पादनको मात्रा र बजार विस्तारमा ठूलो योगदान पुर्‍याउन सकिने विशेषज्ञहरूको मत छ । जावेद अहमदको यो प्रयासले देखाएको छ “यदि पुरानो सीपमा नयाँ सोच मिसाइयो भने, परम्परागत पेशा पनि आधुनिक उद्यम बन्न सक्छ ।”
परम्परागत पेशामा आधुनिक सोच : माटाका भाँडामा प्रविधिको जादु

बीउ बिक्रीबाट किसानको आम्दानी वृद्धि 

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds