नेपाली क्रिकेटमा उदाउँदो तारा विपिन प्रसाद शर्मालाई सम्मान

✍️अर्जुन प्रसाद शर्मा
वीरेन्द्रनगर-१२, सुर्खेत
नेपालका लागि गर्वको क्षण बटुल्दै अगाडि बढिरहेका युवा क्रिकेटर विपिनप्रसाद शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सफलतासँगै सम्मानित भएका छन्। हालै सम्पन्न ACC Men’s U16 Zone Cup 2025 मा नेपाली टिमको कप्तानको रूपमा टिमलाई उपाधि जिताउने नेतृत्वदायी भूमिका निभाएका शर्माले उक्त प्रतियोगितामा व्यक्तिगत रूपमा समेत उत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा १७ विकेट लिएर Most Wicket Taker तथा Best Bowler को उपाधि हात पारेका थिए।
उनको यही उपलब्धिलाई कदर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कर्णाली प्रदेश सभापति मदन खड्का को प्रमुख आतित्यता उपसभापति प्रेम बोहरा सहममन्त्री तथा प्रवक्ता हरिप्रसाद अधिकारी को आतित्यता र जिल्ला कार्य समिति सुर्खेतका सभापति रमेश कुमार सापकोटाले एक विशेष कार्यक्रममा शर्मा लाई सम्मानित गरेका हुन्।

कार्यक्रममा उनलाई सम्मानपत्रका साथै केही नगद रकम हस्तान्तरण हस्तान्तरण गरिएको थियो। सम्मान प्रदान गर्दै सभापति सापकोटाले शर्माले देशको नाम अन्तर्राष्ट्रिय स्तरमा गौरवका साथ प्रस्तुत गरेको भन्दै उनको खेल जीवनको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे।
विपिनप्रसाद शर्माको खेल यात्राको प्रारम्भ ट्यालेन्ट हन्ट बाट भएको हो। प्रारम्भिक छनोटपछि उनले नेपाल प्रिमियर लिग (NPL) मा कर्णाली याक्स बाट खेल्ने अवसर पाए। लिग खेल्दा उनले दुई पटक प्लेयर अफ द म्याच बन्ने सफलता प्राप्त गरे भने npl खेलको ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’ को उपाधि समेत जित्न सफल भएका थिए। त्यसयता उनी निरन्तर राष्ट्रिय स्तरका प्रतिस्पर्धात्मक खेलहरूमा सहभागी हुँदै आएका छन्। र npl सिजन २ को लागि पनि उनी कर्णाली याक्स बाट छनोट भइसकेका छन्।

उनको सम्मान कार्यक्रमको संयोजन उनका मामा अर्जुनप्रसाद शर्मा द्वारा गरिएको थियो। कार्यक्रममा स्थानीय राजनीतिक, सामाजिक तथा खेलकुद क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। उपस्थित व्यक्तिहरूले शर्माको लगनशीलता, अनुशासन र नेतृत्व क्षमताको प्रशंसा गर्दै भविष्यमा उनीबाट राष्ट्रिय टिमको स्थायी स्तम्भको रूपमा थप सफलता हासिल हुने विश्वास व्यक्त गरेका थिए।
विपिनप्रसाद शर्माको सफलताले सुर्खेत मात्र होइन, समग्र कर्णाली प्रदेशलाई अनि देशलाई नै खेलकुदको क्षेत्रमा प्रेरित तुल्याएको छ। खेलको माध्यमबाट मुलुकको नाम अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने यस्ता युवा प्रतिभाहरूको उत्साहवर्धन र संरक्षण अपरिहार्य भएको सहभागीहरूद्वारा जोड दिइएको थियो। उनीप्रति व्यक्त गरिएको सम्मान केवल हालसम्मका उपलब्धिहरूको कदर मात्र नभई भविष्यमा हुने सम्भावनाहरूको अग्रिम अभिवादन पनि थियो।
आज सुर्खेतको माटोमा उम्रिएको विपिनप्रसाद शर्मा नेपालको युवा खेलकुद अनुहारका रूपमा स्थापित हुँदै गएका छन्। उनको अनुशासन, निरन्तर अभ्यास र आत्मविश्वासले नेपाली क्रिकेटको भविष्य अझै बलियो बनाउने अपेक्षा गरिएको छ। कार्यक्रमका प्रत्येक आवाजमा एउटै भावना प्रतिध्वनित भयो—“उनको खेल जीवन अझ उत्कृष्ट बनोस्, भविष्य अझ उज्यालो होस्।”






