स्नातकोत्तर गरेका श्रवण व्यावसायिक कृषिमा 

कञ्चनपुर, २८ कार्तिक । 

शुक्लाफाँटा नगरपालिका–१२ का ३५ वर्षीय श्रवण चौधरी स्नातकोत्तर तहसम्म अध्ययन गरेर व्यावसायिक कृषि कार्यमा लाग्नुभएको छ । चौधरी बिहान–साँझ खेत र पोखरीमा व्यस्त रहनुहुन्छ । बिहान माछालाई चारो हाल्ने, पोखरीको व्यवस्थापनमा ध्यान दिने उहाँ दिउँसोपख भने अहिले मजदुरसँगै उखु रोप्ने कार्यमा जुट्ने गर्नुहुन्छ । विद्यालय पढ्ने समयदेखि नै कृषि व्यवसायमा रुचि राख्ने चौधरीले आजसम्म त्यो कार्यलाई निरन्तरता दिनुभएको छ । सुरुमा एउटा सानो पोखरीबाट सुरु गरिएको माछापालन अहिले पाँच वटा पोखरीमा परिणत भएको छ ।

दुई बिघा जग्गामा पाँच वटा पोखरी निर्माण गरी उहाँले कमन, रोहुँ, नैनी, ग्रास, भाकुर र सिल्भर जातका माछापालन गर्नुभएको छ । उहाँका अनुसार पोखरीमा प्रत्येक वर्ष करिब २० क्विन्टल माछा उत्पादन हुने गर्छ । त्यसको बजार मूल्य रु सात लाखदेखि आठ लाख ५० हजारसम्म पुग्ने गरेको छ ।

दाना, मलखाद, औषधोपचार र मर्मतमा करिब रु तीन लाखदेखि चार लाख खर्च हुने हुँदा रु पाँच लाखदेखि छ लाखसम्म शुद्ध आम्दानी हुने गर्छ । पोखरीमा उत्पादित माछा व्यापारी घरमै आएर रु ३५० प्रतिकिलो थोकमा खरिद गरेर लैजाने गर्दछन् । उत्पादनको अधिकांश माछा कैलालीको अत्तरियामा बिक्री हुन्छ भने केही स्थानीय बजारमै खपत हुन्छ ।

आधुनिक माछापालन प्रविधि सिक्न चौधरीले मत्स्यविकास केन्द्र, गेटा (कैलाली)बाट तालिम लिनुभएको छ । “माछापालन केबल पोखरीमा माछाका भुरा हालेर छाड्ने काम होइन”, उहाँ भन्नुहुन्छ, “यसमा पोखरी व्यवस्थापन, पानीको गुणस्तर, चारोको सन्तुलन र रोग नियन्त्रणलगायत कुराहरूको सन्तुलन मिलाउन सक्नुपर्छ ।”

पढेर जागिर खानु सफलताको एकमात्र बाटो नभएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पढेलेखेको मान्छेले सीप र ज्ञानको प्रयोग कृषिमा गरे देशमै बस्दै राम्रो कमाइ गर्न सक्छ, घरपरिवार र समाजले सुरूमै जागिर खान दबाब दिएका हुन्, त्यो दबावलाई बेवास्ता गर्दै कृषिलाई आफ्नो व्यवसाय र जीवनशैली बनाए ।”

समाजले अहिले ‘उद्यमशील कृषक’का रूपमा सम्मान गर्न थालेकामा उहाँ गर्व गर्नुहुन्छ । माछापालनसँगै चौधरीले पाँच बिघा जग्गामा उखुखेती पनि गर्नुभएको छ । चौधरीले आफ्‌नो स्वामित्व जग्गा पाँच बिघा जति रहेको छ । त्यसमध्ये दुई बिघामा पोखरी बनाएर माछापालन छ भने दुई बिघा स्वामित्वको जग्गामा र बाँकी तीन बिघा जग्गा भाडामा लिएर उहाँले विसं २०६५ देखि उखुखेती गर्नुभएको छ ।

पाँच बिघा जग्गामा गरिएको खेतीबाट वार्षिक रूपमा उहाँले रु २० लाखको उखु बिक्री गर्नुहुन्छ । मजदुर, सिँचाइ, जोताइ, बीउ, मलखाद र ढुवानी खर्च कटाएर रु १५ लाखसम्म नाफा हुने उहाँ बताउनुहुन्छ । “चिनी उद्योग खुलेपछि उखु बेच्न सहज भएको छ”, उहाँ भन्नुहुन्छ, “उद्योग नखुलेका बेला घरमै कोल्हुमा गुड उत्पादन गरेर बजार पठाउँथे ।” अहिले चिनी उद्योग सञ्चालना आएपछि उखु बेच्ने झन्झट भने नभएको उहाँको भनाइ छ ।

माछा र उखुखेतीबाट प्राप्त आम्दानीले चौधरीले बस्नका लागि गाउँमै पक्की घर निर्माण गर्नुभएको छ । खेत जोत्नका लागि ट्रयाक्टर खरिद र कार किन्नेसम्मका सपना पूरा गर्नुभएको छ । “सबै लगानी कृषिबाटै सम्भव भएको हो”, उहाँ भन्नुहुन्छ, “म अब अरूलाई पनि कृषि पेसामा आउन प्रेरित गर्न चाहन्छु ।”

उखु र माछा मात्रै नभएर चौधरीले चैते धान र बर्खे धानखेती पनि गर्नुहुन्छ । हिउँदमा गहुँखेतीलाई पनि निरन्तरता दिँदै आएको उहाँ बताउनुहुन्छ । यसबाट पनि उहाँले अतिरिक्त आम्दानी लिँदै आउनुभएको छ । जागिर पाउनु वा विदेश जानुमात्र जीवन नभएको उल्लेख गर्दै उहाँले सीप प्रयोग गरेर स्वदेशमै सम्भावना खोज्न सकिने बताउनुहुन्छ ।

स्नातकोत्तर गरेका श्रवण व्यावसायिक कृषिमा 

चिनियाँ राष्ट्रपति र थाई राजाबीच घनिष्ठ सम्बन्धको

स्नातकोत्तर गरेका श्रवण व्यावसायिक कृषिमा 

सुदूरपश्चिममा हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन कार्यक्रम

Leave a comment

Your email address will not be published. Required fields are marked *