उचाइमा फलेको गर्व: जुम्ली कालीमार्सी धान भित्र्याउने चटारो

गोल्डेन बुढा

जुम्ला ,२७ असोज ।

असोजको टुसुक्क घाम, पहाडी हावाको हल्का चिसोपन र खेतबारीमा लहरएका सुनौलो बालाहरू—जुम्ला यतिबेला कालीमार्सी धानको बालीले झुल्किएको छ। दशैंको रमाइलो अझै ओइलिन नपाउँदै किसानहरू खेतमा पसिसकेका छन्। अबको धपेडी भनेको सुन जस्तै अमूल्य ‘जुम्ली कालीमार्सी’ काट्ने हो।गुठिचौर गाउँपालिका–५ कुम्डीका भैरवबहादुर भण्डारी भन्छन्, “धान पाकेर दाना झर्न थालेको छ, यति बेला चुक्न मिल्दैन। घरको चुलो, बजारको मोल, र संस्कृति–सबैको नाता छ यही धानसँग।”जुम्लाका आठै स्थानीय तहमा फल्ने यो जात—कालीमार्सी—सिर्फ अन्न होइन, जुम्ली पहिचानको मेरुदण्ड बनिसकेको छ।विश्वको उच्चतम स्थानमा धान उत्पादन हुने ठाउँमध्ये अग्रस्थानमा छ जुम्ला।

जुम्लाको पातारासी गाउँपालिका अन्तर्गतको छुमचौर ज्युलो (२,७९० मिटर ) उचाईमा हुने मार्सी खेतीले यो क्षेत्रलाई अनौठो वैश्विक पहिचान दिएको छ।चिसो र उचाइमा फल्ने यो धान पाक्न पूरा सात महिना लाग्छ। जेठको पहिलो साता रोपाइँ सुरु हुन्छ, असारको पहिलो सातामा गोडमेल, अनि असोजको अन्तिम सातादेखि काटाइ।कृषि विकास कार्यालय जुम्लाका अनुसार, २०८१/८२ मा २ हजार ८ सय ५० हेक्टर खेतमा धान रोपिएको छ, जसबाट ५ हजार ९ सय ८७ मेट्रिकटन उत्पादन हुने अपेक्षा गरिएको छ।यो धानको कथा केवल कृषिको होइन, इतिहासको पनि हो। ७ सय वर्षअघि, चन्दननाथ बाबाले भारतको काश्मिरबाट बीउ ल्याएको किंवदन्ती छ। राणा शासनकालमा राजधानी काठमाडौंसम्म यही चामल हुलाकमार्फत पुर्‍याइन्थ्यो। ७९ वर्षीय लोकराज चौलागाईं भन्छन्, “त्यो चामल त राज्यका ठूला पदाधिकारीका भान्सामा मात्र पुग्थ्यो।”२०२७ सालमा जुम्लामा स्थापना भएको कृषि अनुसन्धान केन्द्रले १३ वर्षसम्म स्वदेशी र विदेशी धान जातमा अनुसन्धान गर्‍यो। तर सक्कली मार्सी बीउ भने आज पनि जुम्लामै मात्र सुरक्षित छ।मार्सी खेतीको समयतालिका जुम्लामा सामान्य पात्रोभन्दा भिन्न छ।चैत १२ गते बीउ केलाउने,चैत १६ गते भिजाउने,चैत २० गते ब्याडमा छर्ने,जेठमा रोपाइँ,असार दुई चरणको गोडमेल, असोज अन्त्य–कात्तिक सुरु: काट्न्ने गरिन्छ।कर्णाली प्रदेश सरकारले चैत १२ लाई ‘मार्सी बीउ भिजाउने दिन’ भनेर सार्वजनिक बिदा दिने परम्परा कायम राखेको छ। त्यो केवल कृषि कार्य होइन, सांस्कृतिक पर्वजस्तै मानिन्छ।आजको बजारमा मार्सी चामलको मूल्य प्रति किलो १ सय ८० रुपैयाँ पुगेको छ। “मूल्य त उकालो लागेको छ,” खस भाषाविद् रमणन्द आचार्य भन्छन्, “तर मेहनत झन् उकालो छ।”जुम्ला सदरमुकाम खलंगाका कोसेली घरदेखि काठमाडौं, पोखरा, नेपालगञ्ज, बुटवलसम्म जुम्ली चामलको माग तीव्र छ। आन्तरिक पर्यटकदेखि विदेशी पाहुनासम्म ‘जुम्ली भात’ को स्वाद एकचोटि चाखेपछि बिर्सन सक्दैनन्।जुम्ली कालीमार्सी धान केवल अन्न होइन—त्यो संवेदन हो, इतिहास हो, र गौरव हो। चिसो हावामा जति कठोर छ प्रकृति, किसानको श्रम त्यति नै दृढ। सात महिनाको स्याहारपछि सुनौलो बालीको मुस्कान यतिबेला जुम्लाको पाखापखेरामा छरिएको छ।जसरी जुम्ली चामलको स्वाद चपाउँदा अलि अलि मिठास बाक्लिँदै जान्छ, त्यसैगरी यसको कथा पनि गहिरिँदै जान्छ—जति पढ्यो, उति आत्मासम्म पुग्छ।

उचाइमा फलेको गर्व: जुम्ली कालीमार्सी धान भित्र्याउने चटारो

 मुटु र दाँतको दुस्मन चिनी :डा अरुणा

उचाइमा फलेको गर्व: जुम्ली कालीमार्सी धान भित्र्याउने चटारो

हिल्सा हुँदै मानसरोवर कैलाश जाने तीर्थयात्रीको सङ्ख्या

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds