जुम्लाका नरबहादुर : ४२ वर्ष चुलो बनाउँदै

गाेल्डेन बुढा

जुम्ला ,२७ मंसिर।
जुम्लाकाे चन्दननाथ नगरपालिका–५, कार्कीबाडा कामिटोलका ७१ वर्षीय नरबहादुर सुनार विगत ४२ वर्षदेखि आधुनिक धुँवारहित चुलो बनाउँदै परिवार चलाइरहेका छन्। भोटेहरूले ल्याएको आधुनिक चुलो २०४० सालतिर देखेपछि सुरु गरेको चुलो–पेसा अहिले उनलाई जीविकै आधार बनेको छ। गाउँमा ‘आधुनिक हिटलर चुलो वर्कसप’ खोलेर उनी बिहानदेखि बेलुकासम्म चुलो बनाउने काममै व्यस्त हुन्छन्।सुनारलाई चुलो बनाउने कौशल सिकाउन २०५२ सालमा इसिमोट नामक संस्थाले राजधानीसम्म तालिमका लागि पठाएको थियो।

“बाहिरबाट तयारी अवस्थामा आउने चुलो फिट गर्न सजिलो पर्छ, तर स्थानीय चुलो उत्पादन गर्न समय लाग्छ,” उनले भने। नेपालगञ्ज–सुर्खेतबाट भित्रिने चुलोलाई उनले ‘विकासे चुलो’ नामले चिन्दै आएका छन्।चुलो–पेसाबाट उनी मासिक ४० देखि ४५ हजार रुपैयाँसम्म कमाइ गर्छन्। बजारमा ग्यासचुलोको प्रयोग बढ्दै गएपछि पेसा चुनौतीमा पर्ने आशंका उनलाई छ। “ग्यास चुलोले काममा केही असर पारेको छ। यता चुलो बनाउने मान्छे पनि बढ्दैछन्,” उनले चिन्ता व्यक्त गरे।सुनारले बनाएको चुलो जुम्लाका सबै स्थानीय तहसहित कालिकोट, डोल्पा, हुम्ला, सुर्खेत, दैलेख, जाजरकोट, मुगुदेखि काठमाडौं, धरान, बुटवल, रामेछाप, पोखरा र नेपालगञ्जसम्म पुर्‍याइएको छ। “पहिले फोन नहुँदा रैबार पठाएर अर्डर गर्थे, अहिले फोनमै ‘यति मूल्यको चुलो चाहियो’ भनेर अर्डर आउँछ,” उनी भन्छन्, “बनाइदिन्छु, पैसा दिन्छन्, खुसीले चुलो लिएर जान्छन्।”चुलो–पेसाले जीवन उकासिएको सुनार बताउँछन्। “यही पेसाले केटाकेटी पढाए, परिवार चलाइयो,” उनले भने।स्थानीय रूपमा उत्पादन हुने चुलो ३ हजार ५ सयदेखि ९ हजार रुपैयाँसम्म पर्छ। बाहिरबाट ल्याएर जुम्लामै फिट गरिने चुलो ६ हजार ५ सयदेखि १० हजार रुपैयाँमा बिक्री हुन्छ। चुलोको आकार र डिजाइनअनुसार मूल्य निर्धारण गरिने उनी बताउँछन्। जस्तापाता नेपालगञ्जबाट ल्याइन्छ, पाइप यहाँ बनाइन्छ र त्यसपछि चुलो बिक्रीका लागि तयार हुन्छ।जुम्लाको दुर्गम पातारासी गाउँपालिका–५, लासीकी मुना बुढा पनि सुनारकै ग्राहक हुन्। उनले साढे ६ हजार रुपैयाँ तिरेर चुलो लिइन्। “सस्तो, सुलभ र बलियो चुलो यहीँ पाइन्छ,” बुढाले भनिन्, “आफूलाई आवश्यकता परे यहीँबाटै लिन्छु।” उनका अनुसार दुई वर्षअघि उनकी जेठानी दिदी र कान्छी आमा दुवैले साढे ९ हजार रुपैयाँ तिरेर ठूलो चुलो लिएका थिए। “चुलो बनाएर स्टोर गरेर राखे सिजनअनुसार बिक्री हुन्छ,” उनले भनिन्।सुनारले स्थानीयदेखि आधुनिक डिजाइनका हीटर चुलो, पाइप र विभिन्न प्रकारका ‘लोकल’ चुलो बनाएर बिक्री गर्दै आएका छन्। समय बदलिए पनि उनी आफ्नै सीपमा भर परेर यही पेसालाई निरन्तरता दिइरहेका छन्।

जुम्लाका नरबहादुर : ४२ वर्ष चुलो बनाउँदै

एनपीएलको फाइनल आज, उपाधिका लागि सुदूरपश्चिम र

जुम्लाका नरबहादुर : ४२ वर्ष चुलो बनाउँदै

कर्णालीले सुरु गर्‍यो एमएस शल्य चिकित्सा तयारी

Leave a comment

Your email address will not be published. Required fields are marked *