सडकले बदलिदिएको पातारासी : अब कल्पनाभन्दा अघि दौडिन्छ समृद्धि

गोल्डेन बुढा
जुम्ला,२६ असोज ।
एक दशकअघिसम्म पातारासी गाउँपालिका–२पेरे गाउँका बलबहादुर बोहोरा ‘सडक’ भन्ने शब्दलाई रेडियो र पत्रिकामै सीमित ठान्थे। खलंगा बजारसम्म पुग्न दुई दिनको भारी पैदलयात्रा गर्नु उनका लागि सामान्य कुरा थियो। आज उनी आफ्नै आँगनबाट गाडी गुडेको दृश्य हेरिरहेका छन्।“घरै नजिकबाट स्कुल र बजार जाने बाटो बनेको छ।” उनी भन्छन्, “गाडी दिनमै दुई–तीनचोटि आउँछ। यस्तो सुविधा होला भन्ने त कल्पनामा पनि थिएन।”कहिल्यै बजार पुर्याउन नसक्ने भएकाले बारीमा फल्ने तरकारी कुहिने गर्थ्यो। अहिले भने बजार गाउँमै आइपुगेको छ। युवा सान्ताराम बुढा भन्छन्, “हिउँद होस् या बर्खा, गाडीले स्याउ, आलु, सिमी, फापर, कोदो, तोरी सबै उठाउँछ। पैसा हातैमा आउँछ।”सडक खुलेपछि उनीहरूले बाँझो जमिन पनि जोत्न थालेका छन्।

“बजारको पहुँच भयो, उत्पादन बढ्यो, आम्दानी बढ्यो,” उनी थप्छन्।एक समय थियो, जब पाँच किलो चामलका लागि खाद्य संस्थानसम्म दुई दिन हिँड्नुपर्थ्यो। आज चामल, दाल, नुन, तेल, चिनी सबै घरको ओटामा आइपुग्छ।पातारासी–१ की सर्केनी बुढा भन्छिन्, “पहिला पिठ्युँमा बोक्ने बाध्यता थियो। अहिले गाडी नै बारीमा पुग्छ। सडकले त विकासको हुरी नै ल्याएको छ।”सडक खुलेसँगै स्वास्थ्य सेवा पनि नजिकिएको छ। अहिले प्रत्येक वडामा एम्बुलेन्स पुग्न सक्छ।

निजी क्लिनिक, इन्टरनेट जडान, राम्रो स्कुल—सबै गाउँमै उपलब्ध छन्।पातारासी–५ का सुन्दर बहादुर खत्री भन्छन्, “सडक आएपछि गाउँको मुहार फेरिएको छ। कृषि, जडिबुटी, पर्यटन—सबै क्षेत्र फड्को मारेका छन्।”चुमचौरको ज्युलो, शंकर झरना, डोरबहादुर विष्टले स्थापना गरेको इष्टिच्यूट—यी गन्तव्यहरूमा अहिले दैनिक हजारौं पर्यटक पुग्छन्। “गाउँ आफैं खुला बजारजस्तो भएको छ,” खत्री बताउँछन्।२०७४ सालदेखि सडक विस्तारले तीव्रता लिएको पातारासीमा अहिले सबै वडासम्म गाडी पुग्छ। ७ वडामा फैलिएको यो गाउँपालिकामा २६ बस्ती छन्।

२०७८ को जनगणना अनुसार यहाँ १६ हजार ८२४ जनसंख्या र ३ हजार ३४२ घरधुरी छन्।४० भन्दा बढी बहुमूल्य जडिबुटी र ३३ प्रजातिका वन्यजन्तु पाइने पातारासी अब जडिबुटी व्यापार, कृषि उत्पादन र ग्रामीण पर्यटनको केन्द्र बन्दैछ।गडिगाउँका पटे ऐडी भन्छन्, “पहिले हामी आफैं भारी थियौं। अब सडकले हाम्रो जीवन हलुका बनाएको छ। यो बाटो पिच होस्, पुल बनोस्, ठूलो गाडी सजिलै चलोस्। त्यसपछि त समृद्धि आफैं दौडिएर आउँछ।”सडकले गाउँमा ल्याएको परिवर्तनले पातारासीलाई पछाडि होइन, अब अगाडि हेर्ने आत्मविश्वास दिएको छ।पातारासीका पाइला अब पछाडि फर्कने छैनन् — समृद्धिको यात्रा यही बाटो हुँदै अगाडि बढ्दैछ।








