सम्पादकीय : राजनीतिक संकटको निकास संविधानबाटै खोजौँ

केही दिनयता नेपाली राजनीति संकटको चक्रभित्र छ । सामाजिक सञ्चालमा प्रतिवन्ध, भ्रष्टाचार र अनियमितताको विरोधमा सडकमा उत्रिएको जेन–जी पुस्ताले नेपालको राजनीतिलाई कठिन मोडमा उभ्याएको छ । विशेष गरी सामाजिक सञ्जालमाथिको प्रतिवन्धले भविष्यमा उत्पन्न हुन सक्ने परिस्थितिको आँकलनबिनै गरिएको निर्णयले २४ घण्टामै नेपाली राजनीति संकटको भूमरीमा फस्न पुगेको छ । सरकारले गरेका निर्णय, प्रतिपक्षको अवरोध, सडकमा देखिएको आक्रोष र राज्य संयन्त्रमा उत्पन्न असन्तुलनले आम नागरिकलाई निराश त बनाएकै थियो, इन्टरनेटमा हुर्किरहेको पुस्तालाई चिढ्याउने गरी सरकारले लिएको निर्णयले अन्ततः देशलाई गम्भीर मोडमा पुर्‍याएको छ । यो हाम्रा लागि दुखद् विषय हो ।

संविधान जारी भएको १० वर्ष पूरा हुँदा पनि जनताले अपेक्षित स्थायित्व र जवाफदेही नेतृत्व अनुभव गर्न सकेका छैनन् । तर, यसको दोष संविधानलाई होइन, नेतृत्वको संस्कार र राजनीतिक दलहरूको आचरणलाई दिनु पर्छ । नेपालको संविधान संघर्ष र सहमतिबाट जन्मिएको दस्तावेज हो । यसमा लोकतन्त्र, संघीयता, समावेशिता र न्यायका आधारभूत मूल्यहरू सुरक्षित छन् । संविधानले विवाद समाधान र सत्ता सञ्चालनका लागि प्रष्ट बाटो देखाएको छ—संसद् विघटन, पुनःनिर्वाचन, विश्वासको मत वा संवैधानिक निकायमार्फत विवाद टुंग्याउने प्रावधान छन् ।

त्यसैले अहिलेको संकटको समाधान यही संविधानभित्रै खोजिनुपर्छ । यतिबेला देशभर फैलिएको जेन–जी आन्दोलनले असन्तुष्टि अझ उजागर गरिदिएको छ । युवा पुस्ताले पुरानो नेतृत्वलाई असफल ठहर गर्दै पारदर्शी राजनीति, रोजगारी र न्यायको माग गरेका छन् । शान्तिपूर्ण प्रदर्शनमा दमन हुँदा मृत्यु र घाइते हुनु दुःखद मात्र होइन, संविधानले दिएको स्वतन्त्रतामाथि प्रहार पनि हो । राज्यले यस्तो आवाजलाई बल प्रयोग गरेर होइन, संवेदनशीलतापूर्वक सम्बोधन गर्नुपर्छ । तर, दलहरूबीचको अविश्वास र असहयोगले नै अहिलेको अवस्था सिर्जना भएको हो । सत्तापक्ष सत्ता जोगाउने ध्याउन्नमा लाग्ने र विपक्षले संसद् प्रयोग गर्ने भन्दा सडकलाई प्राथमिकता दिने प्रवृत्तिले जेन–जी सडकमा आएका हुन् । यसले संवैधानिक प्रक्रियाहरूलाई निष्प्रभावी बनाइरहेको छ । कतिपयले नयाँ संविधान चाहिने वा संशोधन गर्नुपर्ने आवाज उठाइरहेका छन्, तर यो व्यवहारिक समाधान होइन । पटक–पटक संविधान असफल ठहर्याइरहने प्रवृत्तिले स्थायित्व ल्याउँदैन ।

समाधान भनेको संविधानको सही कार्यान्वयन हो । दलहरूले लोकतान्त्रिक संस्कार आत्मसात गर्नुपर्छ, संसदमार्फत जवाफदेही बन्नुपर्छ र नागरिकले उठाएका सवाललाई सम्बोधन गर्नुपर्छ । विशेषगरी जेन–जी पुस्ताले देखाएको असन्तोषलाई सुधारका अवसरका रूपमा लिन जरुरी छ । युवाहरूको विश्वास जित्न सके लोकतन्त्र बलियो हुन्छ, नत्र असन्तोष विद्रोहमा बदलिन सक्छ भन्ने तथ्या प्रमाणित भइसकेको छ । संविधान जिवित रहेको अवस्थामा यसबाहिर गएर कुनै पनि काम गर्नु हुँदैन । राजनीतिक निकास संविधानमै छ । संविधानलाई कमजोर बनाउने होइन, कार्यान्वयन गर्ने हो । सहकार्य, संवाद र जिम्मेवार नेतृत्वले मात्र यो संकट पार गर्न सक्छ । यही बाटो स्थायित्व र लोकतन्त्रको बलियो भविष्यतर्फको विश्वसनिय बाटो हो । यति बेला देश राजनीतिक शून्यता मात्र होइन संवैधानिक शून्यतामा छ ।

कतिपय राज्यका कतिपय निकायहरु निस्कृय छन् । यो कदापी नेपाल र नेपाली जनताका लागि सरात्मक सन्देश होइन । यसर्थ, जेन–जीले चाहेअनुरुप संविधान मासेर होइन, संविधानसम्वत रहेर नयाँ अन्तरिम सरकार गठनमार्फत ताजा जनादेशसहितको राजनीतिक स्थायित्व खोजिनु पर्दछ । अहिलेको विद्यमान सामान्य राष्ट्रिय आवश्यकता यहीँ हो ।

सम्पादकीय : राजनीतिक संकटको निकास संविधानबाटै खोजौँ

अन्तरिम सरकारको प्रतिनिधि  छान्न जेन–जीमै भाँडभैलो बलियो

सम्पादकीय : राजनीतिक संकटको निकास संविधानबाटै खोजौँ

पतिले अर्की ल्याएपछि पनि हार मानिनन्: चटपटे

Leave a comment

Your email address will not be published. Required fields are marked *