जुम्लाको रंगशाला निर्माण सुस्त गतिमा, प्रशिक्षणमा समस्या

काली बहादुर परियार

जुम्ला ,२७ साउन।

कर्णाली प्रदेशको जुम्लामा करिब दुई वर्षअघि सुरु भएको रंगशाला निर्माण कार्य अझै अपूर्ण छ । प्रदेशस्तरीय खेलकुद पूर्वाधारको रुपमा निर्माण गरिएको यो परियोजनाले हालसम्म करिब ४० प्रतिशत मात्र भौतिक प्रगति गरेको छ।

यसले खेलाडीलाई दैनिकी प्रशिक्षणमा समस्या भएको छ । राम्राे खेलमैदान नहुदा जुम्लाका खेलाडीहरुले दु:ख झेलिरहेका छन् । जुम्लाको रंगशाला मात्र हाेइन् जिल्ला खेलकुद बिकास समितिकाे कार्यालयमा रहेकाे प्याराफिट निर्माणमा समेत ढिलासुस्ती भएको छ ।

चन्दननाथ नगरपालिका–५ स्थित राजसिममा निर्माण भइरहेको रंगशालाको ग्राउन्ड लेभलिङ, चारैतिरको पर्खाल र केही आधारभूत संरचना निर्माण भए पनि दर्शकदीर्घा, ड्रेसिङ रूम, शौचालय र अन्य आवश्यक सुविधा निर्माण सुरु भइसकेको छैन ।

निर्माणको म्याद २०८२ साल भदौ मसान्त तोकिएको भएता पनि हालको कामको गति हेर्दा तोकिएको समयमै सम्पन्न हुने सम्भावना कमजोर देखिएको छ। चन्दननाथ नगरपालिका –५ स्थित राजसिममा २०८० बैशाख ५ गतेबाट सुरु भएको रंगशाला निर्माण अन्तर्गत हाल प्याराफिट, तल्लो भवन र मैदान सम्याउने काम मात्र भएको छ ।

सम्झौतानुसार दुई वर्षभित्र रंगशाला सहितका अन्य पूर्वाधार तयार हुनुपर्ने थियो । तर, भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति झन् कम २२.३८ प्रतिशतमा मात्र पुगेको सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, जुम्लाका ईन्जिनियर चन्द्र बहादुर खड्काले जानकारी दिए।

४० करोड ६२ लाखको ठेक्का, तर रंगशाला निर्माण कार्यमा ढिलाइ :
यो परियोजनाको ठेक्का ‘कविन्द्र निर्माण सेवा’ले पाएको छ। कुल लागत ४० करोड ६२ लाख रुपैयाँमा रंगशाला सहित सडक कालोपत्रे, पक्की भवन तथा अन्य ११ वटा संरचना निर्माणको योजनाकाे जिम्मेवारी लिएकाे छ ।

हालसम्म जम्मा ८ करोड ४ लाख ७४ हजार ८ सय ८३ रुपैयाँ मात्र भुक्तानी भएको छ । जसमा रंगशालाको हिस्सा सबैभन्दा बढी १३ कराेड बाँकी रहेकाे छ ।

नगरपालिका परिसरको व्यवसायिक प्रयोजनका लागि पक्की भवन निर्माण भने सकिएको छ। साथै, कृष्ण मन्दिर देखि एयरपोर्ट सडक, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान देखि कर्णाली राजमार्ग सडक, छिनासाँघु, कार्तिकस्वामी सडक, धाइपाला देखि भण्डारीवाडा सडक लगायतका कालोपत्रे काम पनि योजनामा समावेश भएको छ ।

खेलाडीको उत्साह र चुनौती :
रंगशाला निर्माण सुरु भएपछि स्थानीय खेलाडी उत्साहित भएका थिए । अहिले सम्म पनि जिल्ला स्तरीय खेलकुद आयोजना गर्न नेपाली सेनाको खेल मैदान माग्नुपर्ने बाध्यता रहेको छ ।

नपाए कार्यक्रम नै रद्द हुने स्थिति समेत जुम्लामा आउने गरेका छन् । अभ्यास र प्रतियोगिताका लागि स्थायी मैदान नहुँदा खेलाडीको क्षमता विकास र दैनिकी प्रशिक्षणमा अवरोध भइरहेको जुम्लाका धावक हरि बहादुर राेकायाले बताए ।

उनका अनुसार, रंगशाला तयार भएपछि यहाँका खेलाडीले नियमित अभ्यास र ठूला प्रतियोगिता आयोजना गर्ने अवसर पाउने आशा व्यक्त गरेका छन् । खेल पूर्वाधारको कमीका कारण खेलाडीहरू संकुचित हुनुपर्ने अवस्था हट्ने अपेक्षा गरिएको छ।

उनका अनुसार, स्थानीय खेलाडीहरूका लागि यो ढिलाइ मात्र प्रशासनिक समस्या होइन । उनीहरूको भविष्यसँग प्रत्यक्ष जोडिएको चुनौती रहेकाे बताए ।

उनका अनुसार, यदि यो रंगशाला समयमै पूरा भयो भने जुम्लामा पहिलोपटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने सम्भावना हुने राेकायाले बताए ।

उनका अनुसार यसले कर्णालीको खेल पर्यटनलाई पनि नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। तर निर्माणको गति देख्दा स्थानीयहरूमा निराशा बढेको जानकारी दिए ।

उनले भने,” हामीले जुम्लामा पनि अन्तर्राष्ट्रिय स्तरको खेल मैदान हेर्ने सपना देखेका थियौं। तर अहिलेको अवस्था हेर्दा त्यो सपना कहिले पूरा होला भन्ने शंका छ।

यस्तै फुटबल खेलाडी रूभेन भण्डारीका अनुसार मैदान अधुरो हुँदा हामीलाई नियमित अभ्यास गर्न अप्ठ्यारो भएको बताए । उनले भने, वर्षामा मैदान हिलो हुन्छ, हिउँदमा धुलो र चिसोको कारण खेल्नै सकिन्र ।

कर्णालीको मौसम र भौगोलिक कठिनाइका बीच खेलाडीहरूलाई राम्रो पूर्वाधार बिना प्रदेशस्तर वा राष्ट्रियस्तरको तयारी गर्न सम्भव नभएकाे भण्डारीकाे भनाइ छ । यस्तै कारणले धेरै प्रतिभाशाली युवा खेलाडी राजधानी वा अन्य प्रदेशतर्फ पलायन भइरहेका छन् ।

यस्तै जिल्ला खेलकुद बिकास कार्यालय जुम्लाका कार्यालय प्रमुख कबिदत्त न्याैपानेले जिल्लामा उत्कृष्ट खेलकुद मैदान नहुदा खेलाडी उत्पादन हुन नसकेकाे बताए । उनले भने,” खेलकुद बिकास कार्यालय जुम्लाकाे आडैमा निर्माणाधिन अवस्थामा रहेकाे प्याराफिड पनि अलपत्र हुदा समस्या रहेकाे बताए ।

कार्यालय प्रमुख न्याैपानेले भने, ” निर्माणाधीन अवस्थामा रहेकाे रंगशाला निर्माणका बिषयमा खेलकुद बिकास लाई कुनै जानकारी नभएको बताए । उनले भने,” जिल्लाकाे खेलकुद बिकास
कार्यालय भनेकाे खेलकुदकाे मेरूदण्ड हाे , तर याे रंगशाला निर्माणमा कुनै जानकारी नभएको उनकाे भनाइ छ ।

अन्य खेल पूर्वाधारको अवस्था चिन्ताजनक :
रंगशाला सँगै पातारासीमा बन्ने भनिएको हाई अल्टिच्युड ट्रेनिङ सेन्टर भने आठ वर्ष देखि अलपत्र अवस्थामा छ। गत आर्थिक वर्ष २०८१/०८२ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत ४ करोड र खेलकुद मन्त्रालयबाट २ करोड २९ लाख गरी ६ करोड २९ लाख बजेट विनियोजन गरिएको थियो।

तर जग्गा विवाद नटुंगिँदा ५ करोड ६६ लाख रुपैयाँ खर्च नै हुन नसकी फ्रिज भएको छ। सहरी विकास तथा भवन निर्माण आयोजना मार्फत आएको २ करोड २९ लाखमध्ये १ रुपैयाँ पनि खर्च हुन सकेन। राष्ट्रिय खेलकुद परिषद बाट आएको ४ करोड मध्ये ६३ लाख मात्र खर्च भएको छ भने बाँकी ३ करोड ३७ लाख फ्रिज भएको छ।

विगतमा उचित कित्ताकाट नगरी निर्माण थालिएको रंगशालाको अहिले कानुनी कागज र जग्गा स्वामित्वको स्पष्टता नहुँदा समस्या चुलिएको हो। पातारासी–३ का वडाध्यक्ष गोविन्द रावतका अनुसार ५० हजार वर्गमिटर रंगशालाका लागि आवश्यक क्षेत्र छुट्याइएको छ, र स्थानीयवासी नि:शुल्क जग्गा दिन पनि तयार छन्। तर जनप्रतिनिधिबीच समझदारी नहुँदा सबै प्रक्रिया रोकिएको बताए ।

समय सँगको दौड :
अब केही महिनामै म्याद सकिँदै गर्दा रंगशालाको आधा भन्दा बढी काम अझै बाँकी छ । निर्माण व्यवसायीले काम गरिरहेको भए पनि सुस्त गतिले परियोजना समयमै सम्पन्न हुनेमा शंका बढेको छ।

जुम्ला बजारमा भने यसलाई ‘ढिलो भए पनि महत्वपूर्ण उपलब्धि’का रूपमा हेरिएको छ। स्थानीयवासीको भनाइमा, रंगशाला केवल खेलाडीका लागि मात्र होइन, जुम्लाको खेल पर्यटन र सांस्कृतिक गतिविधिको केन्द्र बन्ने आसाकाे केन्द्र बन्ने देखिन्छ ।

यस्तै निर्माण कम्पनीका ठेकेदारका अनुसार, समयमै रकम निकासा नभएका कारणले निर्माण कार्य ढिला भएको हाे । आवश्यक निर्माण सामग्री पहाडसम्म पुर्याउन कठिनाइ, र प्राविधिक समस्याले गति सुस्त बनाएकाले निर्माणकार्यमा ढिलाइ भएको छ ।

पर्वतीय क्षेत्रमा निर्माण सामग्री ढुवानी महँगो र समय लाग्ने, जसले काम प्रभावित भएकाे ठेकेदारका प्रतिनिधिले बताए। प्रदेश खेलकुद विकास समितिले पनि बजेट व्यवस्थापन र निर्माण योजनाको तालमेलमा कमजोरी भएको स्वीकार गरेको छ।

जुम्लाको रंगशाला निर्माण सुस्त गतिमा, प्रशिक्षणमा समस्या

सडक दुर्घटना न्यूनिकरण सबैको साझा सरोकार :

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds