एमालेको ११औं महाधिवेशन पदाधिकारीमा मुख्यमन्त्री  कँडेलको सशक्त दावी

ओम शाही
सुर्खेत, २६ मंसिर ।
२०७८ मंसिरमा सम्पन्न नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा कर्णालीको तर्फबाट केन्द्रीय पदाधिकारीको लाइनमा थिए यामलाल कँडेल । चितवनमा सम्पन्न उक्त महाधिवेशनमा कर्णालीबाट निर्विकल्प सचिव पदमा कँडेलको दावी थियो । तर, उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्य बनाए ।
आकांक्षीहरु धेरै रहेको भन्दै उनलाई पदाधिकारीमा जान दिइएन । पार्टीको यो कदम कँडेलका लागि मात्र होइन सिङ्गो कर्णालीलाई उपेक्षा गरिएको ढङ्गबाट तत्कालिन महाधिवेशनमा सहभागी हुन चितवन पुगेका नेता तथा कार्यकर्ताले बुझेका थिए । एमालेको केन्द्रीय राजनीतिमा १०औं महाधिवेशनसम्म आइपुग्दा कर्णालीलाई दिइने पद स्थायी र केन्द्रीय सदस्य मात्रै हो । १०औं महाधिवेशनमा कँडेललाई सचिव बनाउनु पर्ने माग लिएर प्रतिनिधिहरु चितवन पुगेका थिए ।
‘१०औं महाधिवेशनबाटै उहाँ (कँडेल) पदाधिकारी भइसक्नु पर्ने व्यक्ति हो,’ १०औं महाधिवेशनमा कर्णालीबाट प्रतिनिधि रहेका एक नेता भन्छन्, ‘तर, पार्टी नेतृत्वले त्यसो गर्न चाहेन । केन्द्रीय कमिटीको पदाधिकारीमा कर्णालीको पनि सहभागिता चाहिन्छ भनेर निरन्तर पार्टी केन्द्रको ध्यानाकर्षण गराइ रहेका छौं ।’
उनले यस पटकको महाधिवेशनमा कँडेललाई निर्विकल्प पदाधिकारीमा लैजानु पर्ने बताए । यसो हुन नसके कर्णालीलाई अपमान हुने उनको बुझाई छ । शनिबारदेखि भक्तपुरमा आयोेजना हुन लागेको ११औं महाधिवेशनमा पनि कँडेललाई पदाधिकारी बनाउनु पर्ने माग छ । महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरु काठमाण्डौं पुगिसकेका छन् ।
‘नेपालको मानचित्र र संघिय प्रणालीको मर्म र भावना अनुसार पार्टीको निति निर्माणको केन्द्र (केन्द्रिय पदाधिकारीमा)मा हालसम्म कर्णाली प्रदेशको प्रतिनिधित्व छैन,’ एक महाधिवेशन प्रतिनिधि भन्छन्, ‘यसपटक केन्द्रिय पदाधिकारीमा कर्णाली प्रदेशबाट पार्टीका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री, अनुभवी नेता, कुशल संगठक र सक्रिय नेतृत्व कमरेड यामलाल कँडेल लाई निर्वाचित गरौं ।’
कर्णालीले कँडेललाई पदाधिकारी बनाउने तयारी गरि रहदा पार्टी अध्यक्ष ओलीले के गर्छन भन्ने हो । एमालेमा प्रष्ट र खरो विचार राख्ने कँडेललाई पार्टी अध्यक्ष ओलीले पदाधिकारी बनाउँछन् वा बनाउँदैनन् त्यो हेर्न भने केही दिन कुर्नुपर्ने छ । कँडेल एमाले राजनीतिमा पाका र अनुभवी नेता हुन् । उनले राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, तत्कालिन नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, पूर्वमुख्यमन्त्रीहरु महेन्द्रबहादुर शाही, जीवनबहादुर शाही र राजकुमार शर्मासँग प्रत्यक्ष संवाद र सहकार्य गर्न सक्ने नेता हुन् । कर्णालीमा एमालेको राजनीति कँडेलकै लाइनमा चल्छ । २५ कात्तिक २०१८ सालमा दैलेखको साविक सेरी गाविसमा बुबा मनिराम कँडेल र आमा भागिरथी कँडेलको कोखबाट जन्मिएका कँडेल राजनीतिमा आउनुपूर्व शिक्षण पेसामा संलग्न थिए ।
२०३६ मा सुर्खेतको दशरथपुरमा किसान आन्दोलनको साक्षी थिए, कँडेल । चार जनाले ‘सहादत’ प्राप्त गरेको उक्त आन्दोलनमा सहभागी भएर कँडेलको औपचारिक राजनीतिक यात्रा सुरु भएको थियो । उनी त्यतिबेला शिखर माध्यमिक विद्यालय दशरथपुरमा शिक्षण पेसामा संलग्न थिए । किसान आन्दोलनबाट सुरु भएको कँडेलको राजनीतिक यात्रा २०४० सालमा काठमाडौंको शंकरदेव क्याम्पसमा अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिको उम्मेदवारसम्म पुग्यो । तर, उनी नेविसंघका उम्मेदवार सुर्खेतका हृदयराम थानीसँग पराजित भए । २०४२/४३ मा झण्डै नौ महिना कँडेलले बन्दी जीवनसमेत बिताएका थिए । २०४० देखि २०४६ सम्म पार्टीको काठमाडौं उपत्यकाको विद्यार्थी कमिटीमा रहेर कँडेल क्रियाशील राजनीतिमा संलग्न भएका थिए ।
२०४९ मा एमाले सुर्खेत जिल्लाको प्रथम अधिवेशनबाट सचिव बनेका कँडेल सोही समयबाट पार्टी राजनीतिमा सक्रिय भए । २०४९ को स्थानीय निकायको निर्वाचनमा वीरेन्द्रनगरको मेयर पदमा निर्वाचित भएका थिए कँडेल । २०५१ मा मेयर पदबाट राजीनामा दिई मध्यावधि निर्वाचनमा कांग्रेसका हृदयराम थानीलाई पराजित गर्दै पहिलोपटक संसदीय अभ्यासमा प्रवेश गरेको अनुभव कँडेलसँग छ ।
शंकरदेव क्याम्पसको स्ववियु सभापतिमा थानीसँग हारेको बदला कँडेलले प्रतिनिधिसभा सदस्य चुनावमा लिएका थिए । २०५१ मा साविक एमालेको भेरी अञ्चल सचिव भएका कँडेल २०५४ मा एमाले विभाजनपछि वामदेव गौतम नेतृत्वको नेकपा मालेमा आबद्ध भएका थिए । मालेमा आबद्ध भएलगत्तै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बने ।
२०५६ को संसदीय निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर २ मा मालेको तर्फबाट उम्मेदवार बनेका कँडेल कांग्रेसका हृदयराम थानीसँग पराजित भए । २०६४ मा एमालेको तर्फबाट सुर्खेत २ बाट संविधानसभा सदस्यमा निर्वाचित भए । २०७० मा पुनः सोही क्षेत्रबाट कांग्रेसका हृदयराम थानीसँग कँडेल पराजित भए । यस्तै, २०७४ र २०७९ को प्रदेशसभा निर्वाचनमा सुर्खेत २ (क) बाट प्रत्यक्ष निर्वाचित भएका कँडेल एमाले प्रदेशसभा संसदीय दलको नेता एवम् कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीसमेत हुन् ।
कँडेल एमाले पार्टी राजनीतिमा केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य हुँदै २०७८ मा पार्टीको १०औँ महाधिवेशनबाट स्थायी कमिटी सदस्य छन् । कर्णालीको इन्चार्जसमेत भइसकेका उनी हाल स्थायी कमिटी सदस्य र दैलेख इञ्चार्जको जिम्मेवारीमा छन् । एमाले–माओवादी एकताबाट बनेको नेकपाकालमा कर्णाली प्रदेशको सहइञ्चार्ज र स्थायी कमिटी सदस्य रही काम गरेको अनुभव कँडेलसँग छ ।
कँडेलले कर्णाली प्रदेश स्थापनाको आन्दोलनमा नेतृत्वदायी भूमिकामा थिए । कँडेलले शंकरदेव क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् भने भारत, चीन, अमेरिका, फ्रान्स, क्यानडा तथा बेलायतलगायतका देशहरूको भ्रमण गरेका छन् ।
एमालेको ११औं महाधिवेशन पदाधिकारीमा मुख्यमन्त्री  कँडेलको सशक्त दावी

सम्पादकीय : संसदलाई बन्धक नबनाऊ !

एमालेको ११औं महाधिवेशन पदाधिकारीमा मुख्यमन्त्री  कँडेलको सशक्त दावी

खानेपानी संस्थान धनगढीको बक्यौता दुुई करोड ३१

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds