सात अर्ब लागतमा ३८ मेगावाटको तिला जलविद्युत आयोजना बनाइदै
सुर्खेत, २१ मंसिर ।
जुम्ला र कालीकोटको सिमा भएर बग्ने तिला नदीमा सात अर्ब लागतमा ३८ मेगावाट क्षमताको जलविद्युत आयोजना विकास गर्न सकिने प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । उक्त आयोजनाको चार बर्षअघिदेखि सम्भाव्यता अध्ययन थालिएको थियो । तिला नदीको पानी उपयोग गरी विकास गरिने आयोजनाको २०७८ मै सम्भाव्यता अध्ययन पूरा भइसकेको थियो ।
कालीकोटको तिलागुफा नगरपालिका र जुम्लाको तिला गाउँपालिकाको सिमानामा निर्माण हुने उक्त आयोजनाबाट ३८ दशमलव ०७ मेगाबाट विजुली निकाल्न सकिने जनाइएको छ । आयोजना कार्यान्वयन हुँदा प्रभावित हुने क्षेत्र जुम्लाको तिला गाउँपालिका–१ र ७, कालीकोटको तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ को पहिलो चरणको प्रारम्भिक वातारणीय अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।
उक्त प्रतिवेदनमाथिको सार्वजनिक सुनुवाइका क्रममा आयोजनाका परामर्शदाता तथा वातावरणविद् सुरेन्द्रदेव भट्टले सात अर्ब लागतमा आयोजना विकास गर्न सकिने जानकारी गराएका हुन् । ‘जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकाको सीमाना भएर बग्ने तिला नदीमा निर्माण हुने प्रस्तावित आयोजनाको डिजाइन डिस्चार्ज ५२ दशमलव ५१ घनमिटर प्रतिसेकेन्ड छ,’ वातारणविद भट्टले भने ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विद्युत विकास विभागबाट उक्त योजनाको नापजाँच २०७८ मा स्वीकृत भएको थियो । प्रस्तावित आयोजनाका लागि तिला नदीमा सात मिटर उचाइको बाँध निर्माण गरी तिला नदीको पानीलाई साइड इेन्टेक गेटमार्फत ग्राभेल ट्र्यापमा पुर्याइने छ । सर्ज साफ्टबाट पानीलाई दुई सय ८९ मिटर लामो स्टिल पेनस्टक पाइपमार्फत ३६ मिटर लम्बाइ, १६ मिटर चौडाई र ३२ मिटर गहिराईको अर्धसतही विद्युत गृहमा पुर्याएर ३८ दशमलव ०७ मेगावाट विद्युत उत्पादन गरिने विद्युत विकास विभागका उपसचिव गोपिप्रसाद शाहले जानकारी दिए ।
आयोजना सञ्चालनबाट प्राप्त हुने रोजगारी, रोयल्टी, सेयर, सामुदायिक सहयोग कार्यक्रम तथा स्थानीय जनताको व्यापार व्यवसायबाट आयआर्जन गर्न जस्ता अनुकुल प्रभाव हुने भएकाले समग्रमा यस आयोजनाबाट स्थानीय स्तरदेखि राष्ट्रियस्तरसम्म लाभ पूग्ने तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए ।
‘यो आयोजना बनेपछि यसको सञ्चालनबाट प्राप्त रोजगारी स्थानीयले लाभ पाउने अपेक्षा गरिएको छ, यसबाट उठ्ने रोयल्टी, सेयर, सामुदायिक सहयोग कार्यक्रमबाट पनि स्थानीयले लाभ लिन सक्नेछन्,’ अध्यक्ष रोकायाले भने, ‘आयोजनाले स्थानीयसँगै केन्द्र स्तरसम्म पनि सहयोग पुग्ने हाम्रो विश्वास छ । उत्पादन भएको विद्युतलाई १३२ केभी सिङ्गल सर्किटको प्रसारण लाइनमार्फत जुम्ला बजारको सबस्टेशनमा लगेर जोडिने छ ।
विद्युत गृहबाट निष्कासन भएको पानीलाई २५ मिटर लामो टेलरेस सुरुङमार्फत फेरि तिला नदीमा छोडिने छ । आयोजनाका सम्पूर्ण संरचनाहरु तिला नदीको बायाँ किनारमा रहनेछन् । आयोजना कुल लागत नेपाल सरकारको सात अर्ब ५६ करोड ७४ लाख ३७ हजार चार सय पाँच रुपैयाँ लाग्ने अनुमान गरिएको विभागका उपसचिव शाहले जानकारी दिए ।
आयोजनाबाट उत्पादन भएको विद्युत ३० दशमलव २० किलोमिटर लामो र १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत जुम्ला बजारमा जोडिने छ । आयोजना निर्माण गर्नका लागि कुल सात दशमलव पाँच सय ८५ हेक्टर जग्गा आवश्यक पर्ने विभागले जनाएको छ । जसमा वन क्षेत्रको जग्गा चार दशमलव सात सय ७२ हेक्टर र निजी जग्गा दुई दशमलव आठ सय १३ हेक्टर छ ।
आयोजना निर्माण अवधिमा स्थानीयले ३० देखि तीन २० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउनेछन् । स्थानीयलाई रोजगारीमा विशेष प्राथामिकता दिईने छ । निर्माण अवधिभर स्थानीय जनताले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा व्यपार व्यवसाय गर्न सक्नेछन् । जसले गर्दा तिला र तिलागुफाका नागरिकको आयआर्जनमा वृद्धि हुने अपेक्षा राखिएको तिला गाउँपालिका–७ का वडाध्यक्ष खुम्बिलाल रोकायाले बताए । विद्युतगृहको उचाइ समुद्री सतहबाट दुई हजार ३० मिटर उचाईमा रहनेछ ।
आयोजना निर्माण तथा सञ्चालनबाट कुल ३४ घरधुरी प्रत्यक्ष रुपमा प्रभावित हुने देखिएको छ । प्रत्यक्ष प्रभावित धरधुरीको विवरण आयोजना प्रभावित सम्बन्धित वडा कार्यालयमा टाँस गरिसकिएको तिला जलविद्युत आयोजनाले जनाएको छ । तिला जलविद्युत आयोजनाको अध्ययन अवधि पूरा भएपछि निर्माण अगाडि बढ्ने आयोजनाले जनाएको छ ।





