जुम्लाको तातोपानी धारा:जहाँ दुखाइ हराउँछ्

गोल्डेन बुढा

जुम्ला,२० कार्तिक ।

ढाड र खुट्टाका जोर्नी दुख्थे। शरीर सधैं भारी, थकाइले च्याप्थ्यो। जुम्लाको पातारासी गाउँपालिका-१ गडिगाउँकी ५२ वर्षीया कोइरे बोहोरा सात वर्षअघि सम्म कठिन पीडासँग बाँचेकी थिइन्। अस्पतालका बेडदेखि घरेलु उपचारका थालो सब थाकेका थिए।“औषधि खाँदा एकछिन ठीकजस्तो हुन्थ्यो, फेरि दुखाइ बढ्थ्यो,” उनी सम्झिन्छिन्।तर, कहिल्यै नसुनेको एउटा प्राकृतिक उपचारले उनको जीवन फर्काइदियो जुम्लाको जर्मी तातोपानी।तातोपानी गाउँपालिका–२, जर्मीस्थित सल्फरयुक्त प्राकृतिक धारामा पहिलोपटक नुहाउँदा उनलाई लाग्यो, “यो पनि औषधि हुन सक्छ?” केही सातामै शरीर हल्का भयो, जोर्नी दुखाइ हरायो।मुस्कुराउँदै भन्छिन्, “तातोपानीमा नुहाएपछि म फेरि पुरानै कोइरे भएँ।”जुम्ला सदरमुकामबाट करिब दुई घण्टा टाढा, समुद्री सतहदेखि करिब २ हजार २ सय मिटर उचाइमा जर्मी तातोपानी अवस्थित छ। सल्फर र अन्य खनिज तत्त्व मिसिएको यो प्राकृतिक पानीलाई यहाँका बासिन्दाले “चमत्कारी धारा” भन्छन्।स्थानीयको विश्वास छ,यसले बाथरोग, ग्यास्ट्रिक, चर्मरोगदेखि प्यारालाइसिससम्म निको पार्छ।

विज्ञान पनि पूर्ण असहमत छैन। अनुसन्धानहरूले सल्फरयुक्त तातोपानीले छालाका संक्रमण, मांसपेशी र जोर्नीसम्बन्धी समस्यामा सुधार ल्याउने पुष्टि गरेका छन्।कालिकोट फाेइ गाउँकी ४८ वर्षीया पदमकला शाही पाँच वर्षदेखि नियमित यहाँ आउँछिन्।“औषधिमा लाख खर्च भयो, फाइदा भएन। तर तातोपानीले फेरि राम्रोसँग काम गर्न सक्ने बनाएँ,” उनले गर्वका साथ भनिन्।त्यस्तै, मुगुकी ३९ वर्षीया ललिता बुढा दुई वर्षदेखि यहीँ नुहाउँदै आएकी छन्।“पहिले हिँड्नै गाह्रो थियो, अहिले शरीर सहज छ,” उनको अनुहारमा सहज मुस्कान छ।तातोपानी अहिले केवल रोग निको पार्ने स्थान मात्रै होइन, कर्णालीको स्वास्थ्य–पर्यटन केन्द्र बन्दै गएको छ।

बिहानदेखि बेलुकासम्म महिला र पुरुषका छुट्टाछुट्टै धारामा भीड लाग्छ।तातोपानी गाउँपालिकाले संरक्षण र व्यवस्थापनका लागि कार्यविधि लागू गरेको छ।अब,टिकट काटेर मात्र स्नान गर्न पाइन्छ। गाउँपालिकाभित्रका लागि ३०, जिल्लाभित्रका ४०, जिल्लाबाहिरका ५० र विदेशीका लागि १ सय रुपैयाँ।चौकीदार जोखे सुनारका अनुसार, “दुई जना कर्मचारी स्थायी रूपमा राखिएका छन्। यो प्रणालीबाट मासिक ८० हजारदेखि १ लाख रुपैयाँसम्म आम्दानी हुन्छ।”वडा अध्यक्ष चन्द्रमान बुढा भन्छन्, “तातोपानी हाम्रो प्राकृतिक सम्पदा हो। हामी यसको दीगो संरक्षण र प्रचारमा जोड दिइरहेका छौं।”तातोपानी वरिपरि अहिले होटल, पसल र घरभाडा सञ्चालनमा आएका छन्।२० वर्षदेखि ‘सत्कार होटल’ सञ्चालन गर्दै आएका तेजेन्द्र बहादुर रावल भन्छन्,“तातोपानीले जर्मीलाई नयाँ पहिचान दिएको छ।

यहाँ आउने पर्यटकले स्थानीय अर्थतन्त्रमा सास भरिदिएका छन्।”अहिले दैनिक ६० देखि १ सय बढी जना स्नान गर्न आउने गर्छन्। कार्तिकदेखि माघसम्म चाप बढी हुन्छ। कर्णाली राजमार्ग हुँदै मुगुको राराताल पुग्ने अधिकांश आन्तरिक तथा बाह्य पर्यटक तातोपानी नुहाएर फर्कन्छन् ।

तातोपानी धारा सदरमुकाम खलंगाबाट झन्डै ८ कोष पश्चिममा पर्छ ।शनिबार र बिदाका दिन तातोपानी वरिपरि हुने चहलपहल हेर्दा लाग्छ, यो सानो गाउँ अब स्वास्थ्य र पर्यटनको संगम बन्दैछ।कहिलेकाहीँ प्रकृतिले नै त्यस्ता उत्तर दिन्छ, जुन औषधिले सक्दैन।एकपटक निराश र थकित मान्छेहरू आज यहीँ ऊर्जा र आशाको नयाँ धार भेटिरहेका छन्।जुन ठाउँमा रोगीहरू आश्रय खोज्थे, त्यहीँ आज जीवनको रौनक पलाएको छ।तातोपानीको न्यानोपन केवल पानीमा होइन, जुम्लेली आत्माको उर्जामा मिसिएको छ।

जुम्लाको तातोपानी धारा:जहाँ दुखाइ हराउँछ्

छत्रपाल आधारभूत विद्यालयमा आगलागी, दुईतले भवन जलेर

जुम्लाको तातोपानी धारा:जहाँ दुखाइ हराउँछ्

सिंजामा १ हजार ६४ घरधुरीमा धारा

Leave a comment

Your email address will not be published. Required fields are marked *