सिंजामा आँखा शिविर: ४८ जनाले पाए नयाँ दृष्टि

गाेल्डेन बुढा

जुम्ला,१९ कार्तिक
पहिले लट्ठीको भरमा छाम्दैछाम्दै बाटो खोज्थिन्।अब फेरि आफैं बाटो देख्छिन्।जुम्लाको सिंजा गाउँपालिका–३ की साउनी चौलागाईंको अनुहारमा मंगलबारको बिहान नयाँ उज्यालो चम्किएको थियो। दुई वर्षअघि बन्द भएको दाहिने आँखाले फेरी संसार देख्न थालेपछि उनको हर्षको सीमा रहेन।“आँखा नदेखेपछि त जीवन अन्धकारजस्तै बनेको थियो,” उनले भनिन्, “अब त संसार फेरि उज्यालो भयो, बाँच्न मन लाग्यो।”यस्तै अर्को दीप बुढा पनि आज समान खुसी बाँडिरहेका छन्। जुम्लाको कनकासुन्दरी–३ गोठेलबाडाका बुढाको आँखाले तीन वर्षदेखि उज्यालो हराएको थियो। शल्यक्रियापछि दृष्टि फिर्ता पाएपछि उनी भावविह्वल हुँदै शल्यक्रिया गर्ने चिकित्सकलाई अंगालो हाल्दै भने, “यी त भगवान् नै हुन्। बन्द आँखामा फेरी प्रकाश ल्याइदिनुभयो।”उता, सिंजा–६ भाडगाउँका १४ वर्षीय विद्यार्थी दिनेश रावतको खुसी पनि कम छैन। दुई महिनाअघि घरायसी काम गर्दा काडाले आँखामा चोट पुर्‍याएको थियो। त्यसयता अक्षरसमेत नचिन्ने अवस्थामा पुगेका दिनेशले मंगलबारको निःशुल्क शल्यक्रियापछि पुनः स्पष्ट रूपमा पढ्न थालेका छन्। “अब फेरि पढ्न सक्छु, सपना पूरा गर्न सक्छु,” उनले उत्साहित हुँदै भने।सिंजा गाउँपालिका–३ नराकोट स्वास्थ्य चौकीमा यही सोमबार र मंगलबार सञ्चालन गरिएको दुईदिने निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविरमा ४८ जनाले दृष्टि फिर्ता पाएका छन्। तीमध्ये २६ जना पुरुष र २२ जना महिला रहेका छन्। यस्तै, २ सय ४२ जनाको आँखा परीक्षण गरिएको थियो।शिविर नेपाल नेत्रज्योति संघ जुम्लाको समन्वय, हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र गाउँपालिकाको आयोजनामा सम्पन्न भएको हो। गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख ललितबहादुर रोकायाका अनुसार शल्यक्रिया मात्र होइन, बिरामीको आवतजावतदेखि आवाससम्मको सम्पूर्ण खर्च सम्बन्धित गाउँपालिकाले नै बेहोरेको हो।“पहिले काठमाडौं वा नेपालगञ्ज पुग्दा लाखौं खर्चिनुपर्ने अवस्था थियो, अहिले गाउँमै निःशुल्क उपचार हुँदा नागरिकका आँखामा आशाको ज्योति पलाएको छ,” रोकायाले भने।गत कात्तिक १२, १३ र १४ गते जुम्लाको सदरमुकाम खलंगामा पनि १ सय २७ ज्येष्ठ नागरिकले निःशुल्क शल्यक्रियाबाट दृष्टि फिर्ता पाएका थिए। नेपाल नेत्रज्योति संघ जुम्लाको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको साउनदेखि मात्रै १ हजार ४ सय ७० जनाले आँखा परीक्षण गराएका छन्।

भने गत वर्षभरमा ५ हजार ७ सय जनाले उपचार सेवा लिएका थिए।सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले भने, “आर्थिक अवस्था र जनचेतनाको कमीका कारण धेरै नागरिक दृष्टि गुमाइरहेका छन्। यस्ता निःशुल्क शिविरले अन्धोपन घटाउने मात्र होइन, ग्रामीण जनजीवनमा उज्यालो ल्याउने काम गरिरहेका छन्।”जुम्लाका गाउँहरूमा सूर्य अस्ताउँदा अन्धकारले ढाक्ने गर्छ, तर यसपटक जुम्लाको गाउँमा अन्धकार होइन, मानिसका आँखाभित्र उज्यालो फर्किएको छ। दृष्टि फिर्ता पाएका चौलागाईं, बुढा र रावतजस्ता नागरिकका आँखामा अब प्रकाश मात्र होइन, नयाँ जीवनको आशा पनि चम्किएको छ।

सिंजामा आँखा शिविर: ४८ जनाले पाए नयाँ दृष्टि

जेन्जी २.० को कर्णाली प्रदेश भेला २५

सिंजामा आँखा शिविर: ४८ जनाले पाए नयाँ दृष्टि

कोहलपुर मेडिकल कलेजका इन्टर्न डाक्टरहरूको आन्दोलन तीव्र,

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds