हिमाकाे आचार्यलिहीमा नवजात शिशु फेला

गाेल्डेन बुढा
जुम्ला,२० जेष्ठ ।
जुम्लाको हिमा गाउँपालिकामा नवजात शिशु मृत अवस्थामा फेला परेको छ।हिमा-१ आचार्यलिही गाउँमा सालनालसहि नवजात शिशु मृत अवस्थामा फेला परेको हो। स्थानीयवासी नन्दलाल आचार्यका अनुसार सोमबार साँझ करिब ६ बजेतिर आचार्यलिही गाउँदेखि करिब १ सय मिटर टाढा रहेको जर्या खोलाबाट एक कुकुरले मृत शिशुलाई मुखमा च्यापेर खेत हुँदै गाउँतिर ल्याउँदै गरेको देखिएको थियो। लगत्तै साँझ ७ बजेतिर बड्की प्रहरी चौकीमा खबर गरिएको थियो।प्रहरी टोली घटनास्थलमा पुगेपछि शिशु सालनालसहितको अवस्थामा फेला परेको थियो।“शिशुको सम्पूर्ण अंगहरू जडित थिए, भने टाउकोमा रौं भने थिएनन्।
अनुमानित पाँच महिनाको जस्तो देखिएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक असिम हमालले बताए ।शवलाई मंगलबार पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला ल्याइएको छ।यता हिमा गाउँपालिका-१ का वडाध्यक्ष रतन शाहीका अनुसार कसैले शिशुलाई जन्म दिएपछि खोलामा फालेको हुन सक्ने आशंका गरिएको छ।“कुकुरले खोलाबाट ल्याएको देखिएको हो। शिशु फाल्ने व्यक्तिको पहिचान हुन सकेको छैन,” उनले बताए।






