“राजसंस्था कहिल्यै संवैधानिक बन्न सक्दैन” — महामन्त्री गगन थापा

बाँके,२० जेष्ठ ।
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको राजसंस्था इतिहासमै कहिल्यै संवैधानिक बन्न नसकेको दाबी गर्नुभएको छ। नेपाली कांग्रेस बाँके क्षेत्र नं. २ को तेस्रो क्षेत्रीय सम्मेलनलाई आज नेपालगन्जमा सम्बोधन गर्दै उहाँले राजतन्त्रप्रतिको आलोचना गर्दै प्रजातन्त्र नै नेपालको एक मात्र विकल्प भएको स्पष्ट पार्नुभयो।
“राजसंस्था संवैधानिक बन्ने सपना अब पनि देख्नेहरूलाई नेपालको इतिहास नै साक्षी छ — राजाहरू कहिल्यै संविधानभित्र बस्न सकेनन्,” महामन्त्री थापाले भन्नुभयो। नौजवान पुस्तालाई इतिहास बुझाउन जरुरी रहेको उल्लेख गर्दै उहाँले लोकतन्त्रको रक्षाका लागि कांग्रेस दृढ र सक्षम शक्ति भएको पुनः पुष्टि गर्नुभयो।
महामन्त्री थापाले कांग्रेस मुलुकको सबैभन्दा जिम्मेवार राष्ट्रिय शक्ति भएको ऐतिहासिक भूमिका स्मरण गराउँदै, अहिले देखिएको राजनीतिक अन्योल, असन्तोष र अस्थिरता अन्त्य गर्न कांग्रेस नेतृत्व सक्षम रहेको बताउनुभयो। “हामी सबै नेता कार्यकर्ता बराबरीका हैसियतमा छौं, फरक छ त केवल भूमिका र जिम्मेवारीमा,” उहाँको भनाइ थियो।
संविधान संशोधनको विषयमा बोल्दै महामन्त्री थापाले अघिल्लो चुनावपछिका दुवै गठबन्धन असफल भएको उल्लेख गर्दै आगामी संविधान संशोधनको क्रममा गठबन्धन व्यवस्थाबारे पुनर्विचार गर्न जरुरी रहेको धारणा राख्नुभयो। कांग्रेस–एमाले गठबन्धन संविधान संशोधनका लागि बनेको स्मरण गराउँदै, थापाले त्यो वाचा भुल्न नहुने चेतावनी पनि दिनुभयो।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू मधु आचार्य र मैकुलाल वाल्मीकि, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, बाँकेका सभापति नारायणप्रसाद गौडेल लगायत नेताहरूले शुभकामना मन्तव्य दिनुभएको थियो।
सम्मेलनमा क्षेत्र नं. २ का सभापति रमेश कुमार गुप्ताले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन, प्रदेश सभा (क) का सभापति ज्ञानेन्द्र कुमार चौधरी र (ख) का सचिव रोशन कुमार श्रेष्ठले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने आर्थिक प्रतिवेदन प्रदेश सभा (ख) का कोषाध्यक्ष ललित कुमार रौनियारले पेस गर्नुभयो। कार्यक्रम क्षेत्रीय सचिव सुनिल सिंह हमालले सञ्चालन गर्नुभएको थियो।
यसै अवसरमा वि.सं. २०७९ को निर्वाचनअघि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका पूर्वनेता चन्तराम थारु र लक्ष्मण थारु पुनः नेपाली कांग्रेसमा फर्किनुभएको छ। महामन्त्री थापाले दुवै नेतालाई स्वागत गर्दै पार्टी प्रवेश गराउनुभएको हो।
त्यसैगरी, कार्यक्रममा महामन्त्री थापाले नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले प्रकाशन गरेको २०८२ सालको भित्तेपात्रो पनि विमोचन गर्नुभएको छ।






