जुम्लामा किसानलाई अनुदानमा प्राङ्गारिक मल वितरण सुरु

गोल्डेन बुढा
जुम्ला,२० जेष्ठ ।
कृषि विकास कार्यालय जुम्लाले किसानलाई ५० प्रतिशत अनुदानमा जैविक प्राङ्गारिक मल वितरण सुरु गरेको छ। अर्गानिक जिल्लाको पहिचानलाई मजबुत बनाउने र लुकीछिपी प्रयोग हुँदै आएको रासायनिक विषादी रोक्ने उद्देश्यसहित मल वितरण गरिएको कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए।

उनका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार वितरण कार्य थालिएको हो। यस कार्यक्रमअन्तर्गत किसान, कृषि फर्म, कृषक समूह तथा कृषि सहकारीलाई अनुदानमा जैविक मल प्रदान गरिँदैछ।

अधिकारीले भने, “अनुदानमा मल लिनका लागि सात दिने सूचना जारी गरिएको छ। निर्धारित समयभित्र दर्ता भएका किसानलाई मल दिइनेछ।” साथै, लुकीछिपी रासायनिक मल प्रयोग गर्नेविरुद्ध कारबाही प्रक्रिया समेत अघि बढाइने उनले बताए।

कार्यक्रम अन्तर्गत हालसम्म ३९६ बोरा जैविक मल जुम्लामा आइसकेको छ। किसानले न्यूनतम ५० केजीदेखि अधिकतम ५ क्विन्टलसम्म मल पाउनेछन्। प्रति बोरा २५ सय रुपैयाँ पर्ने जैविक मल किसानलाई आधा मूल्य अर्थात् १ हजार २ सय ५० रुपैयाँमै उपलब्ध गराइएको छ, बाँकी लागत कार्यालयले व्यहोर्नेछ। यसका लागि ६ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।

चन्दननाथ नगरपालिका–६, छिना गाउँका किसान गणेश रावलले अनुदानको माध्यमबाट १ सय केजी जैविक मल लिएको बताए। “बजारमा महँगो पर्छ, यहाँ सस्तो र सजिलो पायौँ,” उनले भने।

त्यही गाउँकी भावना थापाले यस्ता कार्यक्रमले किसानलाई राहत मिल्ने भन्दै खुशी व्यक्त गरिन्। “सरकारको यस्तो सहुलियतले साना किसानलाई टेवा पुग्छ, यसमा निरन्तरता हुनुपर्छ,” उनले भनिन्।

हालसम्म ३५ भन्दा बढी किसानले अनुदानको मल प्राप्त गरिसकेको कृषि विकास कार्यालयले जनाएको छ। २०६४ सालमा १४ औँ जिल्ला परिषद्ले जुम्लालाई औपचारिक रूपमा अर्गानिक जिल्ला घोषणा गरेको थियो। उक्त पहिचानलाई सार्थक बनाउन यो कार्यक्रम महत्त्वपूर्ण हुने कार्यालयको विश्वास छ।

 

 

जुम्लामा किसानलाई अनुदानमा प्राङ्गारिक मल वितरण सुरु

एमाले निकट अनेमसंघकाे संगठन चलाउन ‘थैली अभियान’

Leave a comment

Your email address will not be published. Required fields are marked *