आरन पेशामा रमाएका तुलराम कामी

कालिबहादुर परियार
जुम्ला, १७ भदौं ।
जुम्लाको चन्दननाथ नगरपालिकाको जुम्ला बजार । बिहान सबेरै बजारका पसल क्रमशः खुल्छन् । बिहानैदेखि व्यस्त हुने जुम्ला बजारको एउटा कुनामा जस्ता पाताले छाएको टहरा भित्र ठकठक, टकटक गर्दै फलाम कुटेको आवाज सँधै सुनिरह गरेको छ । सानो जस्ता पाताले छाएको टहरा भित्र ५५ वर्षे तुलराम कामी हथांैडाले फलाम पिट्ने काम गर्छन् ।
शरीर कमजोर भए पनि उनको अनुहारमा ताजगी र आँखामा झल्किने चमक आज पनि पुरानै छ । कारण जीवनसाथी जस्तै बनेको आरन, हथौंडा र फलामसँगको नाता । तुलराम कामीको जुम्लाकै चन्दननाथ नगरपालिका ८ को जाँतीभिडमा जन्म भएको हो । बाल्यकालदेखि नै आरन हथौडा देखेर हुर्किएका उनी २०६५ तिर जुम्ला बजारमा बजार आए ।

बजार आएपछि उनले पसल खोजेर कुखुरी, बन्चरो, हँसिया, चुलेसी, कोदालो, कुटो जस्ता दैनिक जीवनमा प्रयोग हुने औजार बनाउन थाले । धान रोप्ने बेला किसान हँसिया माग गर्न आउछन्, मकै गोडमेल गर्ने बेला कुटो लगाएतका सामाग्री बनाउन उनको आरन आउने गरेको उनका छन् । कसैको घरमा चक्कु बिग्रियो भने मर्मतका लागि यहीँ पसल खोजिन्छ, तुलराम कामी भन्छन् ।
कामीका अनुसार सुरुदेखि नै कामको कमी कहिल्यै भएन । तर, उमेरले ५५ वर्ष टेक्दा साथी मध्ये कतिले पेसा छाडिसके, कतिले बुढ्यौलीले काम गर्न सकेनन् । अझै पनि पसलमै दिन बिताउँछन् उनी । बिहान पसल सफा गर्छन्, फलाम तताउँछन् र हातले कुटेर औजार बनाउँछन् । जीवनमा धेरै उतारचढाव देखेका उनले हाल श्रीमतीसँगै बजारमा बस्छन् । दुई छोरी विवाह गरेर आ–आफ्नो घरमा छन् ।
एक छोरा अहिले उनकै साथमा रहेर घरको कामकाज गरिरहेका छन् । घर परिवार आ–आफ्नो काममा व्यस्त भए पनि तुलरामलाई भने आरन पेशा प्रिय छ । उनले भने, ‘म १३ वर्षको हुदा आरन काम गर्न थालेको हो । अहिले आरन पेशा गर्न थालेको ४५ वर्ष भयो । मेरो जीवन यही आरनमै बित्यो, यही मेरो घर हो ।’ तर उनीसँगै यो सीप हराउने डर पनि बढेको छ । छोरानाति कसैले सिक्न चाहेनन् ।
‘सबैको सपना सहर वा विदेशमै छ । अब मेरो पछि यो काम सकिने भयो,’ उनले दुखेसो पोखे । ‘पहिलेका वर्षहरूमा आरनमा काम गर्दा एक माना चामल, खुर्सानी, नुनमा परिश्रम साटिन्थ्यो । त्यही पनि हाम्रा लागि सर्वथोक थियो । कुनै व्यवसाय नभएका हामी दलित परिवारका लागि एक माना चामलले छाक टार्न सहज हुन्थ्यो,’ उनले भने । गाउँमा घर परिवार पाल्न त्यति सजिलो थिएन् ।
दिनभरी साहुँको खेतबारीमा काम गर्नु पर्ने र साँझ, बिहान आरनमा काम गरेर जहान पाल्ने गरेको उनले बताए । तर, पहिले ती दिनहरू भन्दा हिजोआजका दिन परिवर्तन भएको उनको भनाइ छ । पहिला एकमाना चामलमा हुने काम हिजोआम पैसासँग काम हुने गरेको उनी बताउँछन । एक माना चामल भन्दा पैशा दिने चलनले सहज भएको उनको भनाइ छ । तुलराम कामी मात्र होइन, देशभर परम्परागत सीप बोकेका कालिगढ लोपोन्मुख अवस्थामा छन् ।
सबैलाई आधुनिक उपकरण र बजार संस्कृतिले विस्थापित गरिरहेको छ । तर, तुलराम जस्ता सीपधारीहरू हाम्रो समाजका लागि जीवित प्रेरणा हुन् । जीवनभर पुर्ख्यौली पेशालाई अँगालेका उनले परिवार पाल्न सके अरू केहि नचाहिने बताए । तर, अहिले उनको आरनमा गुन्जिने फलामको आवाज क्रमशः केही रूपमा मन्द हुँदै गएको छ । बराइली भन्छन्, ‘म यो आरनसँगै बाँचेँ, यहीँ मर्छु पनि । तर यो सीप बाँचिराखोस् भन्ने मेरो चाहना हो ।’ उनको चाहना केवल व्यक्तिगत इच्छा मात्र होइन, मौलिक सीप जोगाउन समाज र सरकार दुवैको चुनौती पनि हो ।





