सम्पादकीय : नतिजा उन्मुख १३२ केभी प्रशारण

कर्णाली प्रदेशमा गुणस्तरीय विद्युत् आपूर्ति गर्न वर्षौंदेखि संघर्ष हुँदै आएको छ । अझै पनि प्रदेश राजधानी सुर्खेतसहित अधिकांश जिल्लामा लो भोल्टेज र अघोषित लोडसेडिङको समस्या छ । जीर्ण ३३ केभी प्रशारण लाइनमार्फत हुने विद्युत् आपूर्तिका कारण यहाँका नागरिकले सहज बिजुली बाल्न पाएका छैनन् । बिजुली पूर्वाधारकै कारण कर्णालीमा ठुला उद्योग, कलकारखाना स्थापना गर्न समस्या छ । यीनै बाध्यताको अन्त्य गरी कर्णालीको विद्युत सेवालाई भरपर्दो बनाउन अघि सारिएको कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइन नतिजा उन्मुख चरणमा पुगेको छ ।
आयोजनाको निर्माण २०७६ सालमा नेपाल विद्युत् प्राधिकरण र भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टसँग सम्झौता गरी सुरु भएको हो । प्रारम्भिक योजना अनुसार २०७८ असारमै सम्पन्न हुनुपर्ने यस आयोजनामा विभिन्न अवरोध खडा भए । जग्गा भोगाधिकार, रुख कटान, राष्ट्रिय निकुञ्जको स्वीकृति र स्थानीयको विरोध लगायतका अल्झनमा आयोजना नराम्ररी फस्न पुग्यो ।
पछिल्लो सयम कर्णाली प्रदेश सरकारले निरन्तर दबाब दिएपछि मात्रै संघीय सरकार सक्रिय भएपछि अन्ततः आयोजनाले गति लिएको हो । हालसम्म ९५ प्रतिशत काम पूरा भइसकेको जानकारी आयोजनाले दिएको छ । कुल एक सय ६२ वटा टावरमध्ये एक सय ५९ वटा निर्माण भइसकेका छन् । बाँकी तीनवटा टावर बानियाभार क्षेत्रमा निर्माण हुन बाँकी छ, जहाँ वर्षाको कारण फाउण्डेशनमा पानी जम्दा काम गर्न समस्या भएको छ । ५२ किलोमिटरमध्ये ४२ किलोमिटर क्षेत्रमा तार तान्ने काम सकिएको छ भने बाँकी क्षेत्रमा चाँडै वैकल्पिक उपाय अपनाएर काम सकिने तयारी भइरहेको छ । तर, आयोजनामा अझै पनि केही चुनौतीहरू बाँकी छन् । बर्दिया र बाँके राष्ट्रिय निकुञ्जले एकैपटक सम्पूर्ण क्षेत्रको रुख कटान स्वीकृति नदिएर सेक्टर–सेक्टरमा मात्रै अनुमति दिने भएकाले आयोजना विस्तारमा समस्या भइरहेको छ । अहिले पनि करिब नौ सय बढी रुख कटान गर्न बाँकी छन् । काठ हटाउने प्रक्रिया जटिल भएकाले पनि समय खेर गएको छ । यस्ता समस्याहरूलाई छिट्टै समाधान नगरेसम्म तोकिएको समयसीमाभित्र आयोजनालाई सम्पन्न गर्न कठिन हुने देखिन्छ । यो आयोजनालाई समयमै पूर्णता दिन सकिएको खण्डमा समर्ग कर्णालीमा उर्जा विकासको नयाँ युग सुरु हुनेमा दुई मत छैन ।
विद्युत सेवा पुगको घरधुरीमा सहज विजुली बल्नेछ, साना–ठूला उद्योग सञ्चालनमा आउनेछन् । स्वास्थ्य, शिक्षा, सञ्चारदेखि कृषि लगायतका सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्नेछ ।
कर्णालीको विकास र समृद्धि विद्युत आपूर्तिसँग जोडिएको छ भन्ने विषय नयाँ होइन । यही कारण यो आयोजनालाई सफल बनाउन सबै निकायले आफ्नो जिम्मेवारी पूरा गर्न जरुरी छ । यद्यपी तोकिएको समय अर्थात् आउँदो कार्तिक मसान्तभित्र सुर्खेतमा १३२ केभी लाइनमार्फत विद्युत् चार्ज गर्न सकिन्छ कि सकिँदैन भन्ने विषय नै अहिलेको मुल प्रश्न हो । यसर्थ, कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइनलाई समयमै सम्पन्न गर्नु सबै तहका सरकार र सम्बद्ध निकायको साझा दायित्व हो । कर्णालीका जनताले अब बहानाबाजी होइन नतिजा चाहेका छन् । कर्णालीलाई उज्यालो तर्फ लैजाने यो अवसरलाई गुम्न दिइनु हुँदैन ।





