दैलेखमा प्राकृतिक ग्याँसको व्यवसायिक  उत्पादनमा सघाउन चिनियाँ सरकारलाई पत्र 

ओम शाही
सुर्खेत, १६ भदौ ।
प्रधानमन्त्री केपी शर्मा ओली शनिबार (१४ भदौं) देखि उत्तरी मित्रराष्ट्र चीनको पाँच दिने औपचारिक भ्रमणमा छन् । ओली प्रधानमन्त्री भएपछिको दोस्रो पटक चीन भ्रमणमा छन् । चिनियाँ राष्ट्रपतिको निमन्त्रणामा प्रधानमन्त्री १८ भदौसम्म चीनमा रहनेछन् ।
प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भारतले ओगटेको नेपाली भूमि लिपुलेकमा चीनले व्यापार मार्ग खोल्नेबारे भारतसँग गरेको सहमतिमा आपत्तिसँगै नेपालमा पेट्रोलियम पदार्थ उत्खनन्‌का विषय प्रवेश गरेको जनाइएको छ । चिनियाँ सरकारको सहयोगमा दैलेखको भैरवी गाउँपालिका–१, स्थित जलजलेमा प्राकृतिक (मिथेन) ग्याँस फेला परेका थियो ।
पहिलो चरणमा प्राकृतिक इन्धन भए नभएको पत्ता लगाउने जिम्मा पाएको चिनियाँ प्राविधिकहरुले ठुलो मात्रामा मिथेन ग्यासको भण्डार रहेको पत्ता लगाएका थिए । पहिलो चरणको काम सफलता पूर्वक सम्पन्न भएसँगै नेपाल सरकारले दैलेखमा भेटिएको मिथेन ग्यासको परीक्षण उत्पादनमा सहयोग गर्न चिनियाँ पक्षसँग समक्ष आग्रह गरेको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमण अगावै परीक्षण उत्पादनमा सहयोग गर्ने व्यहोराको पत्र पठाइएको हो । प्रधानमन्त्रीको भ्रमणपूर्व गरिएको पत्राचार बमोजिम परीक्षण उत्पादनमा सहयोग गर्ने सम्बन्धिको सम्झौता हस्ताक्षर हुसक्ने आँकलन गरिएको छ ।
पेट्रोलियम अन्वेषणमा सहयोग गरिरहेको चीनलाई उत्पादन कार्यमा पनि आर्थिक तथा प्राविधिक सहयोग गर्न आग्रह गरिएको खानी तथा भूगर्भ विभाग अन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ । परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले सरकारले पठाएको पत्रको जवाफ आइनसकेको जानकारी दिए ।
‘हामीले पत्राचार गरेको करिब दुई महिना जति भयो, कुनै रेस्पोन्स आएको छैन्, उनले भने, ‘डिसेम्बरसम्म अन्तिम रिर्पोट पठाउने कुरा छ, त्यतिबेलासम्म यसपछिको पेट्रोलियम कार्यमा सहयोग गर्ने/नगर्ने कुराको पनि टुंगो लागिसक्छ ।’ दैलेखको जलजले क्षेत्रमा पेट्रोलियम अन्वेषण गरिरहेको चिनियाँ सरकारी कम्पनीले उक्त क्षेत्रमा एक सय १२ अर्ब घनमिटर मिथेन नामक प्राकृतिक ग्यास रहेको प्रारम्भिक रिर्पोट पठाएको थियो । उक्त रिर्पोटबाट उत्साही नेपालले परीक्षण उत्पादनका लागि पूर्वतयारीमा जुटेको हो । रिर्पोट प्राप्त गरेलगत्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खानी तथा भूगर्भ विभाग र पेट्रोलियम अन्वेषण परियोजनाको टिमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिरभित्र परीक्षण उत्पादन कार्यको पूर्वतयारी सक्न निर्देशन दिएका थिए ।
२०७२ चैत पहिलो साता प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच पेट्रोलियम पदार्थको अन्वेषणमा सघाउने द्विपक्षीय समझदारी (जीटुजी) मा हस्ताक्षर भएको थियो । उक्त समझदारीमा नेपालमा भएको ग्यास र पेट्रोलियम अन्वेषणमा चीनले आर्थिक तथा प्राविधिक सहयोग गर्ने उल्लेख थियो ।
नेपालको विभिन्न क्षेत्रमा पेट्रोलियम पदार्थको सम्भावना रहेको भनिएपनि उत्खनन्‌को प्रयास भएको थिएन । नेपाल–चीनबीच बेइजिङमा भएको उक्त सम्झौता अनुसार नेपाल सरकारले २०७५ माघमा दैलेखको पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको जिम्मा चीनलाई दिनेसम्बन्धी परियोजना स्वीकृत गरेको थियो । २०७६ मा खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्भे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननसम्बन्धी सम्झौता भएको थियो ।
दैलेखको ज्वाला क्षेत्रबाट चिनियाँ प्राविधिक टोलीले २०७२ चैतदेखि नमूना संकलन कार्यको थालनी गरेको थियो । प्रारम्भिक अन्वेषणमा नेपाली र चिनियाँ प्राविधिकले दैलेखको शिरस्थान, नाभिस्थान क्षेत्रमा बलिरहेको, बगिरहेको ग्यास पेट्रोलियम पदार्थ नै भएको पुष्टि गरेका थिए । खानी तथा भूगर्भ विभागले दैलेखको पञ्चकोशी ज्वाला क्षेत्रमा पेट्रोलियम पदार्थबारे सम्भाव्यता अध्ययन थालेको पनि वर्षांै भइसकेको थियो । तर, काम अघि बढ्न सकेको थिएन ।
उत्पादन सम्भाव्यता अध्ययन गर्न समिति गठन
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थको उत्पादन, प्रशोधन र ढुवानीका लागि आर्थिक, प्राविधिक र कानुनी पक्षबारे अध्ययन गर्न विज्ञ समिति गठन गरेको छ । उक्त समितिले परीक्षण उत्पादन कार्य कसरी अघि बढाउने भन्नेबारे सरकारलाई दिशानिर्देश गर्ने बताइएको छ । नेपालमा ड्रिलिङ विधिबाट पहिलोपटक अन्वेषण गरी सफलता प्राप्त गरेको यो पहिलो हो । अन्वेषण पश्चात् उत्पादन गर्न लागिएको यो नौलो कार्य भएकाले सरकारी निकायहरु अलमलमा छन् ।
खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काले नेपालको पेट्रोलियम उत्पादनमा अनुभव नभएकाले समग्र पक्षहरुको अध्ययन पश्चात परीक्षण उत्पादन थालिने बताए । उनका अनुसार पेट्रोलियम ऐन, २०४० र पेट्रोलियम नियमावली अन्तर्गत रहेर परीक्षण उत्पादन कार्य अघि बढाइनेछ । ‘उत्पादन गर्नलाई यही कानुन पर्याप्त छ, उनले भने, ‘कानुनी समस्या भोग्नुपर्छ जस्तो लाग्दैन् ।’
अन्तिम रिर्पोट प्राप्त भएपछि विस्तृत डिजाइन, प्रशोधन प्लान्ट, ढुवानी र वितरणको मोडालिटी तय गरी सोही अनुसारको पूर्वाधार बनाउने काम सुरु हुने खड्काको भनाई छ । चिनियाँ सरकारको पूर्ण अनुदानमा पेट्रोलियम अन्वेषणसम्बन्धी कार्यहरु तीन चरणमा अघि बढाइएको थियो ।
पहिलो चरणमा विस्तृत सम्भाव्यता अध्ययन र दोस्रो चरणमा ड्रिलिङ कार्य गरिएको थियो । चाइना–एड अन वेल एन्ड ग्यास रिसोर्स सर्भे प्रोजेक्ट अन्तर्गत खानी तथा भूगर्भ विभाग, चाइना जियोलोजिकल सर्भे (सीजीएस) तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले २०८१ बैशाख २८ देखि ड्रिलिङको काम शुरु गरेको थियो । २०८१ पुसमा चार हजार १३ मिटर ड्रिलिङ पश्चात् चट्टान, ग्यास, पानी, माटो लगायतका नमूनाहरु प्रयोगशाला परीक्षणका लागि चीन पठाइएको थियो ।
तेस्रो चरणमा प्राविधिक नतिजा विश्लेषण अथार्त भौर्गभिक सूचना, प्रयोगशाला रिर्पोटसहितको निश्कर्ष प्रतिवेदनका कामहरु पर्दछन् । हाल तेस्रो चरणको काम भइरहेको छ । जुन अन्तिम चरणमा पुगेको छ । मिथेन ग्याँस भेटिएको क्षेत्र धार्मिक, पर्यटकीय महत्वको क्षेत्र हो । जहाँ शिरस्थान, नाभिस्थान लगायतका मन्दिरहरु छन् । त्यहाँका मन्दिर, खोला किनारमा अहिले पनि आगोको ज्वाला बलिरहेको छ ।
शिरस्थान आसपासमा बगिरहेको पानीमा आगो सल्काउँदासमेत बल्छ । पेट्रोलियम अन्वेषण परियोजना सञ्चालनमा आएपछि त्यहाँ मानिसहरुको चहलपहल बढेको छ । अहिले ग्याँस भेटिएको पुष्टि भएपछि त्यस क्षेत्रमा व्यापारिक लगानीको सम्भावना बढेको छ । प्राकृति ग्याँस भएको पुष्टि भएसँगै जलजले क्षेत्रमा आर्थिक क्रियाकलाप बढ्दै गएका छन् भने परियोजनाले मुर्तरुप लिएको खण्डमा दैलेखको मात्र नभई सिंगो मुलुकको आर्थिक विकासमा कोशेढुंगा साबित विश्वास स्थानीयको छ ।
दैलेखमा प्राकृतिक ग्याँसको व्यवसायिक  उत्पादनमा सघाउन चिनियाँ सरकारलाई पत्र 

वैशाखदेखि हालसम्म तीन हजार २८१ विपद्का घटना 

दैलेखमा प्राकृतिक ग्याँसको व्यवसायिक  उत्पादनमा सघाउन चिनियाँ सरकारलाई पत्र 

सम्पादकीय : नतिजा उन्मुख १३२ केभी प्रशारण

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds