गाभर भ्यालीः रैथाने उत्पादन र पर्यटनको संगम


बाँकेको गाभर भ्याली पछिल्लो समय पर्यटनको आकर्षणको केन्द्र मात्र नभई रैथाने उत्पादनको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण क्षेत्र बन्दै गएको छ । यो क्षेत्रले पर्यटकीय गतिविधिसँगै लोपोन्मुख रैथाने अन्नबालीहरूको संरक्षणमा विशेष पहलकदमी गर्दै आएको छ ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा रैथाने प्रजातिका अन्नबालीहरूको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ । यसैको परिणामस्वरूप, गाभर भ्यालीमा रैथाने धान प्रजातिहरूको खेती पुनःजीवित गर्न विभिन्न अभियान सञ्चालन गरिएका छन् । बैजनाथ १ गाभरमा समुदायको सक्रियतामा धानका ऐतिहासिक प्रजातिहरू, जस्तै घैया, गर्भे, र अनदीलाई संरक्षित गर्दै त्यसको व्यावसायिक सम्भावनाहरू खोज्ने काम भइरहेको छ ।

गाभर भ्याली सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीका अनुसार, रैथाने प्रजातिहरू लोप हुने खतरामा पुगेपछि संरक्षण अभियान सुरु गरिएको हो । चौधरीले चार कठ्ठामा घैया धान, १० कठ्ठामा अनदी धान, र १ कठ्ठामा गर्भे धान लगाएर संरक्षण प्रयासमा आफूले नेतृत्व लिएको बताएका छन् ।

गाभर क्षेत्रका कृषकहरूले पनि रैथाने धान प्रजातिहरूको उत्पादनमा चासो देखाउन थालेका छन् । हाल क्षेत्रका एक बिघाभन्दा बढी जमिनमा यी धान प्रजातिहरूको खेती भइरहेको छ । घैया र तिल्की जस्ता प्रजातिहरूको बिउ उत्पादनका लागि विशेष पहल गरिएको छ भने अनदी धान स्वास्थ्यका लागि उपयोगी मानिँदा यसको व्यावसायिक उत्पादनमा रुचि बढेको छ ।

रैथाने धानहरू, जस्तै घैया, तिल्की, र अनदी, मल र पानीको न्यून आवश्यकताले गर्दा टिकाउ कृषि प्रणालीका लागि उपयुक्त छन् । यी धान प्रजातिहरूले परम्परागत कृषि प्रणालीलाई बलियो बनाउनुका साथै वातावरणीय दृष्टिले पनि फाइदाजनक साबित भएका छन् ।

तिल्की धानको चामल विशेष गरी चाडपर्व र अतिथि सत्कारका लागि प्रयोग गरिन्छ । अनदी धान थारु समुदायको परम्परागत खाना संस्कृति र स्वास्थ्यमा विशेष महत्त्व राख्छ । यस्तै, घैया धानले स्वास्थ्यवर्धक गुणका कारण स्थानीय र बाह्य बजारमा माग बढाउने सम्भावना देखिएको छ ।

गाभर भ्यालीमा कृषि र पर्यटनको समिश्रणले नयाँ सम्भावनाहरू खोलिरहेको छ । रैथाने धान प्रजातिहरूको संरक्षण र उत्पादनसँगै पर्यटकहरूलाई आकर्षित गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ । पर्यटकहरूले यहाँका खेतबारी र रैथाने उत्पादन अवलोकन गर्नुका साथै स्थानीय जीवनशैलीको अनुभव गर्ने अवसर पाउँछन् । यसले कृषकहरूलाई थप उत्प्रेरित गरेको छ ।

अध्यक्ष चौधरीका अनुसार, गाभर भ्यालीले पर्यटन र कृषिको संयोजन गरी आफ्नो पहिचानलाई विस्तार गरिरहेको छ । यस क्षेत्रको विशिष्टताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पनि गाभर उत्पादनलाई पहुँच पु¥याउने विश्वास गरिएको छ ।

गाभर भ्यालीमा रैथाने उत्पादन र पर्यटनको विकासले स्थानीय अर्थतन्त्रलाई सकारात्मक रूपमा प्रभावित गरिरहेको छ । कृषिमा आधारित पर्यटनले कृषकहरूको आयआर्जनमा वृद्धि गरेको छ । साथै, रैथाने उत्पादनलाई प्रवर्द्धन गर्न नीति निर्माणदेखि बजारीकरणसम्मका चरणमा स्थानीय र प्रदेश सरकारको सक्रियता महत्त्वपूर्ण भएको छ ।

गाभर भ्यालीका कृषकहरूले रैथाने उत्पादनलाई व्यावसायिक बनाउने योजना बनाएका छन् । चामलको बजारीकरणमा जोड दिँदै स्थानीय, राष्ट्रिय, र अन्तर्राष्ट्रिय स्तरमा यसलाई प्रवर्द्धन गर्ने लक्ष्य छ ।

सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीका अनुसार, गाभर भ्यालीले पर्यटन, कृषि, र स्थानीय संस्कृति बीचको समन्वयलाई बलियो बनाएर राष्ट्रिय पहिचान बनाउन सक्छ ।

गाभर भ्यालीले पर्यटन र रैथाने उत्पादनको संरक्षणको अनौठो संगम प्रस्तुत गरेको छ । रैथाने धान प्रजातिहरूको संरक्षणले मात्र यो क्षेत्रको सांस्कृतिक महत्त्व बचाइरहेको छैन, यसले पर्यटकीय आकर्षणलाई पनि बढावा दिएको छ । गाभर भ्यालीले कृषिमा आधारित पर्यटनको नयाँ आयाम खोज्दै, स्थानीय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँदै र भविष्यका लागि प्रेरणादायी दृष्टिकोण प्रस्तुत गरेको छ ।

गाभर भ्यालीः रैथाने उत्पादन र पर्यटनको संगम

बाँकेको बैकुण्ठधाम महायज्ञमा तीन करोड रुपैयाँ संकलन

गाभर भ्यालीः रैथाने उत्पादन र पर्यटनको संगम

जीएमआरले पाएको माथिल्लो कर्णालीको सेयर संरचना परिवर्तन