ग्रिन कर्णालीलाई प्रवर्द्धन गर्न बेत बाँसका फर्निचर


विदेशबाट आयातित महँगा फर्निचरहरूको माग बढिरहेका बेला सुर्खेतमा भने महिला उद्यमीहरूले ग्रिन कर्णाली अभियान सञ्चालन गरेका छन् । स्थानीयस्तरमा उपलब्ध बेत बाँसबाट विभिन्न सामग्री उत्पादन र बिक्री गर्ने उद्देश्यले उद्योग सञ्चालनमा आएको हो ।

कर्णालीका ग्रामीण भेगहरूमा समेत सहर बजारबाट काठ, प्लास्टिकका फर्निचर भित्रिरहेका हुन्छन् । वीरेन्द्रनगरस्थित ग्रिन कर्णाली बहुउद्देश्यीय उद्योगले बेत बाँस संकलन गरी फर्निचर, सजावटका सामान, भान्साका सामान उत्पादन थालेको छ ।

कर्णालीमा जतासुकै र सहज रूपले पाउने वन पैदावरमा पर्छ, बेत बाँस । ढुवानीमा अन्य काठजस्तो झन्झट बेहोर्नुपर्दैन । उद्योगका सञ्चालक लक्ष्मी भट्टराईले ग्रिन कर्णालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले बेत बाँसका मात्रै सामान बनाउने उद्योग सञ्चालनमा ल्याएको बताइन् ।

‘कर्णालीमा जतासुकै सहज रुपले बेत बाँस पाइन्छ, काठका फर्निचरभन्दा दिगो र बलियो पनि हुन्छन्, हल्का हुँदा सार्नलाई पनि सजिलो हुन्छ,’ उनले भनिन्, ‘ताजा देखाउन नियमित स्पेर पनि गर्न सकिन्छ, दिगो पर्यावरणमैत्री विकल्पका रूपमा बेत बाँसका सामान प्रयोग गर्नु राम्रो हो ।’

ग्रिन कर्णाली कन्सल्टेन्सी एण्ड ट्रेनिङ सेन्टरले उत्पादन गरेका सामानहरू वीरेन्द्रनगर खोर्केलाइनस्थित सोरुमबाट बिक्री गर्ने गरिएको छ । जहाँ होटल रेस्टुरेन्ट, घर भान्सा, कार्यालय, बगैंचाका लागि आवश्यक फर्निचर र सजावटका सामग्रीहरू छन् ।

सजिलै कर्णालीका भूगोलमा पाइने, सोझो, सहज ल्याउन सकिने, बुट्टा निकाल्न सकिने र सामान्य ज्यावल प्रयोग गरेर पनि उपयोगमा ल्याउन सकिने ग्रिन कर्णाली बहुउद्देश्यीय उद्योगले जनाएको छ । उद्यमीहरु लक्ष्मी भट्टराई, सुष्मा गिरी र सिर्जना वलीले बेत बाँस उद्योग सञ्चालनमा ल्याएका हुन् ।

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले स्थानीय कच्चा पदार्थबाट उत्पादित सामग्रीहरूको प्रवर्द्धन गर्न जरुरी रहेको बताए । त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रशासन महाशाखा प्रमुख मुकुन्दनाथ योगीले खेर गइरहेको बेत बाँसको उपयोग गर्दा स्थानीयको जीविकोपार्जनमा समेत टेवा पुग्ने विचार व्यक्त गरे । वन तथा वातावरण मन्त्रालयले वन पैदावरको समुचित प्रयोग गरी हरियाली प्रवर्द्धनलाई नीतिगत रूपमै जोड दिँदै आएको उनको भनाइ थियो ।(कान्तिपुर)

ग्रिन कर्णालीलाई प्रवर्द्धन गर्न बेत बाँसका फर्निचर

कर्णालीका आठ पालिकामा हुँदैछ उपनिर्वाचन, महिला सहभागिता

ग्रिन कर्णालीलाई प्रवर्द्धन गर्न बेत बाँसका फर्निचर

चिकित्सा शिक्षा पढ्न सघाउँदै कर्णाली प्रदेश सरकार