सहकारीमा थुप्रियो पैसा, घटाए ब्याज


लगानी योग्य रकम थुप्रिने तर कर्जा प्रवाह नहुने बैंकिङ प्रणालीको अहिलेको समस्या सहकारीमा पनि देखिएको छ । नियम र कानुनअनुसार चलेका केही सहकारीले आफूसँग पर्याप्त रुपमा बचत रकम जम्मा भए पनि कर्जा प्रवाह गर्न सकेका छैनन् । कर्जा प्रवाह बढाउन बैंकहरुले जस्तै सहकारीले पनि ब्याजदर घटाउने निर्णय गरेका छन् ।

घोराहीस्थित कलश बचत तथा ऋण सहकारी संस्थाले पर्याप्त रुपमा आफूसँग बचत भए पनि त्यसअनुसार कर्जाको माग नआएको भन्दै ब्याजदर घटाएको छ । यो सहकारीको असोज २ गते बसेको सञ्चालक समिति बैठकले ब्याजदर घटाउने निर्णय गरेको हो । सहकारीले ३ देखि ४ वर्षसम्म ब्याजदर नबढ्ने गरी ९ देखि ९.५ प्रतिशतसम्ममा ऋण दिने निर्णय गरेको छ । यो मात्र होइन, पहिले लगानी भएका सबै ऋणीहरुको ब्याजदर पनि १ प्रतिशत बिन्दुका दरले घटाएको छ ।

बचत थुप्रिने र ब्याजदर घटाउने निर्णय कलश सहकारीको मात्र होइन, अन्य सहकारीहरुले पनि ब्याजदर घटाएका छन् । बैंकमा तरलता बढ्दै गएसँगै सहकारी संस्थाहरुमा पनि त्यसैगरी तरलता थपिँदै गएको छ । तरलता बढेसँगै सहकारीहरुमा ऋण लगानी हुन सकेको छैन । यही कारण अहिले सहकारी संस्थाहरुले ऋणको ब्याजसमेत घटाउँदै गएको जनाएका छन् । कुनै समय ऋण लगानी गर्न सरकारीहरुले बाहिरबाट ऋण खोज्ने गर्थे । अहिले यस्ता सहकारी संस्थाहरुमा समेत रकम थुप्रिएको छ ।

कतिपय सहकारीहरुले बचत फिर्ता लिन चाहने बचतकर्तालाई तत्काल फिर्ता दिने गरेका छन् । पैसा अभावमा कतिपय सहकारीले वर्षको एक पटकमात्र बचत फिर्ता दिने नियम बनाएका थिए । तर, अहिले पैसा लगानी गर्न नसकेपछि जुनसुकै बेला पनि बचत फिर्ता दिने गरेका छन् । दैनिक रुपमा रकम जम्मा हुने तर लगानी नहुँदा बचतकर्तालाई ब्याज दिन समेत समस्या हुन थालेको सहकारी संस्थाहरुको भनाइ छ ।

पछिल्लो समय जिल्लाका सहकारीमा तरलता बढेको जिल्ला सहकारी संघका अध्यक्ष हेमराज गौतमले जानकारी दिए । अहिले जिल्लामा रहेका धेरै सहकारी संस्थामा तरलता बढी देखिएको उनी बताउँछन् । एउटा सहकारीमा लगानी नभएर करिब ७–८ करोड सम्म पैसा जम्मा भएको उनको भनाइ छ । कर्जाको माग नआएका कारण यसरी पैसा जम्मा भएको अध्यक्ष गौतमले बताए । ‘अहिले बैंकमा जस्तै तरलता सहकारीमा पनि देखिएको छ,’ उनले भने । ऋण लिएर व्यापार–व्यवसाय गर्नेहरुको संख्या घटेको समेत उनले बताए । ‘व्यापार–व्यवसाय चल्न नसकेकाले ऋण लिएर लगानी गर्ने जोखिम लिन निजी क्षेत्र तयार देखिँदैन, ’ उनले भने ।

सहकारीमा तरलता बढेपछि उनीहरुले ब्याज घटाउँदै गएको गौतमले बताए । उनका अनुसार ब्याजदर घटाउने–बढाउने अधिकार सञ्चालक समितिलाई छ । ‘सहकारीहरुले १६ प्रतिशत भन्दा बढी ब्याज लिन पाउँदैनन् । त्यसभन्दा कम गराएर ऋण लगानी गर्न सक्छन्,’ अध्यक्ष गौतमले भने ।

सहकारीहरुले बचतमा दिने ब्याज र ऋणमा दिने ब्याजको फरक ६ प्रतिशतभन्दा बढी हुन नहुने तर त्यसभन्दा कम गर्न पाइने उनले बताए । जिल्लामा करिब ७ सय सहकारी संस्था छन् । सहकारी संघमा ४ सय ३० सहकारी संस्था आवद्ध रहेकोे अध्यक्ष गौतमले जानकारी दिए ।

सहकारीहरु लगानी गर्न डराउँदा ऋण लगानी हुन नसकेको पूर्व सहकारी अधिकृत नारायणप्रसाद श्रेष्ठ बताउँछन् । सहकारीमा तरलता देखिनुको कारण एउटा राजनीति पनि रहेको श्रेष्ठको धारणा छ । ‘सहकारीमा राजनीति तथा ठूला उद्योगपतिहरुको हस्तक्षेप बढेर पनि समस्या बढेको हो,’ उनले भने । उनका अनुसार सहकारीले स–साना व्यवसाय, घरेलु तथा कुटीर उद्योग, कृषिलगायतलाई प्राथमिकता दिएर लगानी गर्नुपर्छ । ग्रामीण स्तरमा स्वरोजगार बन्न सहकारी सहयोगी बन्नुपर्ने उनले बताए । तर, सहकारीले पनि कर्जा सजिलैसँग दिने नगरेको उनको भनाइ छ ।

सहकारी ऐनअनुसार सहकारीमा जति पनि रकम स्रोत नखुलाई जम्मा गर्न पाइने व्यवस्था छ । यही कानुनका कारण सहकारीमा विचलन आएको कतिपयको भनाइ छ । स्रोत खुलाउन नपर्ने सुविधाको फाइदा उठाएर कतिपयले कर छली वा अवैध रुपमा कमाएको पैसा सहकारीमा राख्ने गरेको आरोप लाग्दै आएको छ । अर्कोतिर सहकारीको निरन्तर अनुगमन, नियन्त्रण हुन नसक्दा सञ्चालकहरुले मनोमानी गरेका थुप्रै उदाहरण छन् ।

सहकारीमा थुप्रियो पैसा, घटाए ब्याज

नेपालगञ्जबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

सहकारीमा थुप्रियो पैसा, घटाए ब्याज

हिमाली जिल्लामा नौ रुपैयाँमै एक प्याकेट नुन