असोज १२ देखि दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खुल्ने


दसैंका लागि आगामी असोज १२ गतेबाट गाडीको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको छ । मंगलबार यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरुको उपस्थितिमा भएको छलफल पश्चात् अग्रिम बुकिङ खुल्ला गर्ने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।
बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने क्षेत्रमा यात्रु सहायता कक्षहरु स्थापना गरिने छ । जहाँ नेपाल प्रहरी, यातायातका कर्मचारीले काउन्टरमा अग्रिम बुकिङका लागि पुगेका यात्रुलाई सहजीकरण गर्ने र उनीहरुको गुनासा सुन्ने छन् । गत वर्ष भने घटस्थापनाको ६ दिन अघि गाडीको अग्रिम टिकट बुकिङ खुलाइएको थियो । योपटक अग्रिम बुकिङ खोल्नेबारे कुनै निर्णय नहुँदा दसैंका लागि घर जाने यात्रुहरु अन्योलमा परेका थिए ।
दसैंका बेला करिब २० लाख काठमाडौं उपत्यकाबाट बाहिरिने गर्छन् । केही दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले घटस्थापना अघि नै देशभरका सडक मर्मतसम्भार गरेर सहज बनाउन सडक विभागलाई निर्देशन दिएका छन् । विभागका अनुसार अहिले सडक मर्मतको काम जारी छ । मनसुन सक्रिय भइरहेकाले भने मर्मतमा केही समस्या भएको विभागको भनाइ छ ।
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने भएको छ । मंगलबार यातायात व्यवस्था विभागमा भएको सरोकारवालाको बैठकले घटस्थापनादेखि रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।
विभागका अनुसार यात्रुबाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागु हुने गरी रुट परमिट खुला गरिने छ । तर, कुनै बाटोको विशेष प्रकृतिका कारण बाटोमा चल्न निषेध गरिएका आकार–प्रकारका सार्वजनिक सवारीसाधनको बन्देज भने कायमै रहने भएको छ ।





