ओलीलाई साइजमा राख्न एमालेभित्र चलखेल, विद्या भण्डारीलाई अध्यक्ष बनाउने, प्रचण्ड–माधवलाई पार्टीमा ल्याउने


पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा (एमाले)को सक्रिय राजनीतिमा ल्याउनुपर्ने र ल्याउन नहुनेबीच आन्तरिक कलह सुरु भएको छ । दुई कार्यकाल राष्ट्रपतिको भूमिका निर्वाह गरेकी भण्डारीले पनि एमालेमा फर्किने मनशाय व्यक्त गरिसकेकी छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट एमालेमा हेपिएका, पेलिएका, थिचिएका र अवसरबाट बञ्चित पारिएका केही नेताहरु भण्डारीले अब पार्टीको नेतृत्व गरुनँ भन्ने पक्षमा छन् । उनीहरु जसरीपनि भण्डारीलाई सक्रिय राजनीतिमा ल्याएर अध्यक्ष र पहिलो महिला प्रधानमन्त्रीसमेत बनाउन चाहन्छन् ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिवसमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतका शीर्ष नेताहरु पनि भण्डारीलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा उभिएका छन् ।

कुनै समय ओलीको सबैभन्दा निकट मानिने नेताहरु गोकुलप्रसाद बास्कोटा र कर्ण थापासमेत भण्डारीलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा दृढ भएर उभिएका छन् । विगतमा अवसर पाएका धेरै नेताहरु पछिल्लो समय ओलीदेखि असन्तुष्ट छन् । पूर्वमुख्यमन्त्री शेरधन राईदेखि ओलीसँग ज्वाईँ नाता जोडेर मन्त्रीसम्म बन्न भ्याएका कर्ण थापासमेत ओलीकै विरुद्धमा उभिएका छन् । कोशी प्रदेश अध्यक्षमा हारेका विनोद ढकालदेखि भण्डारीकै जोडबलमा राष्ट्रिय सभा सदस्य हुँदै परराष्ट्रमन्त्रीसमेत बनेकी डा.विमला राई पौड्यालसमेत निरन्तर भण्डारीलाई पार्टी राजनीतिमा फर्काउन सक्रिय छन् ।

त्यस्तै, एमालेको पूर्व उपाध्यक्षसमेत रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम पनि वाम एकताको पक्षमा छन् । उनी अहिले राष्ट्रिय एकता अभियानको संयोजकको रुपमा रहेका छन् । एमाले प्रवेश गर्न खुट्टा उचालिरहेका गौतमको प्रयास ओलीकै कारण सफल भएको छैन । एमालेमा प्रवेश गराएर भैसेपार्टी आवास क्षेत्रका इन्चार्जको जिम्मा दिनुस् भन्दासमेत ओलीले नमानेको वामदेव आफैंले बताउँदै आएका छन् । वामदेवले पनि भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउनुपर्ने र वाम घटकहरु मिल्नुपर्ने मत जाहेर गरिरहेका छन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्ष पौडेल, उपमहासचिव गुरुङसम्म भण्डारीको पक्षमा खुल्दा महासचिव शंकर पोखरेल, अर्का उपमहासचिव विष्णु रिमाललगायतका नेताहरु भने भण्डारी पार्टीको राजनीतिमा फर्किन नहुने पक्षमा छन् । पछिल्लो पटक ओली प्रधानमन्त्री बनेपछि भण्डारीलाई भेट्न गएका पोखरेल र रिमालले पार्टी राजनीतिमा नफर्किन आग्रह गरेका थिए । उनीहरु पुनः अर्को पटक पनि ओलीलाई नै अध्यक्ष बनाउन चाहन्छन् । तर, एमालेभित्रको आन्तरिक राजनीति भने गिजोलिँदै गएको छ ।

पोखरेल र रिमाललगायतका दोस्रो तहका नेताहरु जस्तै स्वयं ओली पनि भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किएको हेर्न चाहँदैनन् । जसको संकेत ओलीले गत सात नै गरिसकेका छन् । पार्टीको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले भण्डारीलाई दिनहुँ राजनीतिमा फर्किन पर्यो भन्दै रटान नलगाउन नेताहरुलाई चेतावनी नै दिएका थिए ।

भण्डारी स्वयं पनि विभिन्न बहानामा पार्टी राजनीतिमा फर्किन सक्रियता देखाइरहेकी छन् । गत वैशाख १० गते नेकपाको ७५औं स्थापना दिवसमा एमालेले प्रदान गरेको गणतन्त्र गौरव सम्मान थापेकी भण्डारी त्यसयता एमालेका विभिन्न भातृ संगठनहरुले आयोजना गरेको कार्यक्रमहरुमा प्रमुख अतिथिको रुपमा देखा पर्न थालेकी छन् । राष्ट्रपति हुँदासमेत नेकपा र एमाले विभाजन हुन नदिन शीतल निवासबाटै सक्रियता देखाएकी भण्डारी अहिले राजनीतिमा फर्किएर सके पुरानै नेकपा व्यूताउने र नभएपनि एमालेलाई पुनर्गठन गर्ने ध्येयमा छिन् । यसका लागि उनी निरन्तर राजनीति वार्मअप गरिरहेकी छन् ।

एमाले पोलिटव्यूरो सदस्य महेश बस्नेतले पार्टीभित्र भण्डारीलाई ल्याउन केही अभ्यास सुरु भएको स्वीकार गरे । उनले केही नेताहरुले पूर्वराष्टपति भण्डारीलाई पार्टी अध्यक्ष बनाउने, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लाई पनि पार्टीमा ल्याउने गरी गृहकार्य थालेको बताए । उनीहरुले पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, वामदेव गौतमलाई पार्टीमा भित्र्याएर पुनः ठूलो नेकपा बनाउने र ओली–प्रचण्डमध्ये एकलाई प्रधानमन्त्री र अर्कोलाई राष्ट्रपति बनाउने गरी तयारी गरेको नेता बस्नेतले बताए । नेता बस्नेतले त्यो सम्भावना भने आफूले नदेखेको बताए । ८ वर्षसम्म राजकीय पदमा बसिसकेकी पूर्वराष्ट्रपति भण्डारी फेरि कम्युनिष्ट राजनीमा आएर धुलोपिठो हुन नहुने उनले बताए । पूर्व राष्ट्रपति भण्डारीले श्रमजिवी र गरिबहरुको पक्षमा काम गरेर हिड्नेमा बस्नेतले आशंका व्यक्त गरे ।

‘केही–केही साथीहरुले उहाँलाई आइदिनुस् भन्नुभएको छ रे । आइदिनुस् भन्नुभएकाहरुले पनि असल मनशायले भनेको जस्तो लाग्छ । पूर्वराष्ट्रपतिज्यूलाई हाम्रो पार्टीको अध्यक्ष बनाउने, त्यसपछि प्रचण्ड, माधव नेपाल, वामदेव गौतमलाई पनि ल्याउने, फेरि नेकपा ठूलो बनाउने, प्रचण्ड र केपी ओलीमध्ये एउटा राष्ट्रपति, अर्को प्रधानमन्त्री बनाउने, विद्यादेवी भण्डारीलाई अध्यक्ष बनाउने, उपाध्यक्ष वा महासचिवलाई कार्यकारी बनाउने ढंगले अभ्यासहरु भएका छन् भन्ने मलाई लाग्छ,’– नेता बस्नेतले भने ।

ओलीलाई साइजमा राख्न एमालेभित्र चलखेल, विद्या भण्डारीलाई अध्यक्ष बनाउने, प्रचण्ड–माधवलाई पार्टीमा ल्याउने

कैलालीमा धर्म परिवर्तन गराएको आरोपमा पास्टर पक्राउ

ओलीलाई साइजमा राख्न एमालेभित्र चलखेल, विद्या भण्डारीलाई अध्यक्ष बनाउने, प्रचण्ड–माधवलाई पार्टीमा ल्याउने

कैलालीमा तीन लाख २४ हजार मेट्रिक टन