लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्रीको शपथ


लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीको बिहिवार प्रदेश प्रमुखसमक्ष शपथ गराइएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका तीन मन्त्रीले बिहिवार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ गराएका हुन् । बर्दियाका जन्मजय तिमिल्सिना सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवार वन तथा वातावरणमन्त्री र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुनमन्त्रीको शपथ लिएका हुन् ।
नवनियुक्त मन्त्री तिमिल्सिना र कलवार नेपाली कांग्रेस तथा अग्रवाल जनता समाजवादी पार्टीबाट प्रदेश सभा सदस्य हुन् । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित नेकपा (एमाले)का पाँच, कांग्रेसका पाँच र जसपाका एक गरी मन्त्रीको संख्या ११ पुगेको छ ।
मुख्यमन्त्री आचार्यले बुधबार प्रदेश मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए । सोही आधारमा नवनियुक्त मन्त्रीको शपथ गरिएको हो । कांग्रेस र एमालेका ५६ प्रदेश सभा सदस्यको समर्थनमा लुम्बिनीमा सरकार बनेको थियो ।
शपथ कार्यक्रममा मुख्यमन्त्री आचार्य, सत्तासाझेदार दल कांग्रेसका दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का दलका नेता तथा पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीलगायतको सहभागिता थियो ।






