सहकारी नाफामूलक नभइ सेवामूलक हुनुपर्छ : मन्त्री शाह


कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले सहकारीहरु नाफामूलक मात्रै नभइ सेवामूलक हुनुपर्ने बताएका छन् । बिहीबार वीरेन्द्रनगरमा नेफ्स्कूनले आयोजना गरेको सहकारीका सझा सवाल सम्बन्धि सचेतना कार्यक्रममा बोल्दै मन्त्री शाहले नागरिकहरुको सेवामा सहकारीहरु तल्लिन हुनुपर्ने बताएका हुन् ।
मन्त्री शाहले सहकारी संस्थाहरु सहरी क्षेत्रमा मात्रै केन्द्रीत भएकाले अब ग्रामिण क्षेत्रतर्फ पनि लाग्नुपर्ने सुझाव दिए । ‘पवित्र रुपमा स्थापना भएका सहकारीहरुले नागरिकका काममा फोकस हुनुपर्छ । ग्रामिण क्षेत्रको अर्थतन्त्र बढाउन सहकारीको महत्वपूर्ण भूमिका हुनेगर्छ । राज्यले पनि सहकारीलाई महत्वका साथ हेरेको छ ।’ मन्त्री शाहले भने, ‘बचत तथा ऋणका लागि सञ्चालनमा आएका आएका सहकारीहरु ग्रामिणमुखी भएका देखिदैनन् । त्यहाँका नागरिकहरुको जीवनस्तर सुधारमा ध्यान दिन जरुरी छ ।’
साथै मन्त्री शाहले गाउँको विकास भएपछि देशकै विकास हुने भएकाले ग्रामिण क्षेत्रका नागरिकहरुको अर्थतन्त्र उकास्नका सहकारीलाई आफ्नो क्रियाकलाप गर्न आग्रह गरे ।
यस्तै, कर्णाली प्रदेशमा सहकारीहरुको थप प्रभावकारी कार्यान्वयनका लागि कर्णाली प्रदेश सरकारले सहकारी ऐन, नियमावली जारी गरेको र भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रटारको कार्यालयले सहकारीहरुको अनुगमन गर्दै आएको मन्त्री शाहले बताए ।
उनले सहकारीहरुको एकीकरण अनुगमन, सहकारी नीतिको तर्जुमा तथा कार्याविधीहरुको निर्माण गरेर मन्त्रालयले काम गरिरहेको बताए ।
मन्त्री शाहले ऋण तथा बचत सम्बन्धि सञ्चालनमा रहेका सहकारीहरुलाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि जन्मिएको नेफ्स्कून (नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.)ले उदाहरणीय का गर्दै आएको बताए ।
यस्तै, नेफ्स्कूनका कर्णाली संयोजक वीरबहादुर रावत (भोटे)ले नेफ्स्कूनका देशभर १५० भन्दा बढी कर्मचारीहरु रहेको बताए । उनले भने, ‘देशभरका सहकारीहरुबाट थप व्यवस्थित र गुणस्तरीय सेवा प्रदानका लागि हाम्रा १५० भन्दा बढी कर्मचारीहरु छन् । हामी विभिन्न समयमा सहकारी सञ्चालक, कर्मचारी तथा बचतकर्ताहरुसँग समन्वय र सहकार्य गरेर नयाँ योजना बनाएर अगाडी बढ्ने गर्दछौँ ।’






