नेपाल डिजिटल राईट स्कुल तालिम शुरु


सुर्खेतमा विद्यार्थीहरुलाई नेपाल डिजिटल राईट स्कुल तालिम शुरु भएको छ । शुक्रबारदेखि सुर्खेत विद्यार्थीहरुलाई नेपाल डिजिटल राईट स्कुल तालिम शुरु भएको हो ।
नेपालमा ३८ प्रतिशत घरमा ईन्टरनेट पुगेको अहिले डिजिटल राइटका बिषयमा सबैले जानकारी हुनुपर्ने नेपाल डिजिटल राईटका कार्यकारी निर्देशक सन्तोष सिग्देल बताए । ‘सीपयुक्त, क्षमतावान्, आईटीमा विज्ञ व्यक्ति उत्पादन गरी टिकाउन सक्ने वातावरण बनाउनुपर्छ ।’ उनले भने,‘नेपालमा डिजिटल वस्तु तथा सेवाहरूको माग दिनानुदिन बढिरहेको छ ।’
सार्वजनिक सेवाको प्रवाहलाई अनलाइन गर्ने क्रम बढिरहेको छ र यसको माग पनि त्यत्तिकै रुपमा अगाडि बढिरहेको मध्यपश्चिम विश्वविद्यालका पूर्व डिन पिताम्बर ढकाल बताए । ‘यसका लागि नियामक निकाय, सेवा प्रदायक र नीति निर्माता एक भएर सहकार्य गर्दै सम्पूर्ण नागरिकमा ब्रोडब्यान्ड सेवाको सुनिश्चितता गरिनुपर्दछ ।’ उनले भने,‘अहिलेको विश्वमा डिजिटलको ज्ञान भएन भने समस्या आउन सक्छ ।’
डिजिटलाइजेसनको मुख्य आधार भनेको गुणस्तरीय सेवामा सम्पूर्ण नागरिकको पहुँचको सुनिश्चितता आवश्यक रहेको मध्यपश्चिम विश्वविद्यालय रजिस्ट्रार नारायण पौडलले बताए । ‘हाम्रो भौगोलिक कठिनाइका बाबजुत पनि राष्ट्रको डिजिटलाइजेसनको मूलधारमा सम्पूर्ण ग्रामीण क्षेत्रमा बसोवास गर्ने नागरिकलाई समेत यसको मूलप्रवाहमा समावेश गर्न आवश्यक रहेको छ ।’ उनले भने,‘त्यसका लागि आवश्यक ज्ञान दिन जरुरी रहेको छ ।’
कर्णालीमा बिषेश गरेर नेपालमा डिजिटल सम्बन्धि ज्ञानको बिषयमा जानकारी राख्न अहिले आवश्यकता रहेको वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले बताए । ‘नागरिकलाई आफूले प्राप्त गर्दै आएको सेवाको गुणस्तरबारे सुसूचित हुने अवसर प्राप्त हुनेछ ।’ उनले भने,‘मोबाइल एप, टेलिफोन, इमेल र सामाजिक सञ्जालका बिषयमा जान्न आवश्यक रहेको छ ।’
इन्टरनेट सेवालाई अत्यावश्यक सेवाको रूपमा राखिसकेकाले मौलिक अधिकारको रूपमा घोषणा गर्ने दिन त्यति धेरै टाढा नभएको डिजिटल राइट नेपालका महासचिव भोला ढुङ्गनाले बताए ।






