जुम्लामा भित्रियो धान काट्ने मेसिन


जुम्लाको चन्दननाथ नगरपालिका–७ मिचा गाउँका भीमबहादुर सार्कीले १२ मुरीखेतमा रोपेको धान यो पल्ट मेसिनले काटे । पहिले हँसियाले धान काट्ने चलन थियो । धान काट्नकै लागि एक साता समय लागिरहेको हुन्थ्यो तर यो पटक उनले मेसिन लगाएर १२ मुरीखेतमा रोपेको धान एकैदिनमा काटिसके । मेसिनले धान काटिरहेको देख्दा कर्णाली राजमार्ग हुँदै ओहोरदोहोर गर्नेहरु फोटो खिच्ने र भिडियो बनाइरहेका हुन्थे । छिमेकीहरु पनि धान काटिदिन आग्रह गरिरहेका थिए । उनले १५ मुरी खेतमा रोपिएको छिमेकी किसानहरुको धानसमेत काटिदिए ।
उनले भने, ‘परम्परागत कृषि प्रणालीको जगमा टेकेर पुर्खाहरुले जति दुःख गरे । उनीहरुले दुःखको परिणाम पाए । अब आधुनिक कृषि प्रणालीअनुसार साधन स्रोतहरुको प्रयोग र परिचालन हुन आवश्यक छ । भीमबहादुरको खेतमा उन्नत जातको र मार्सीधान रोपिएको थियो । सामान्य हल्लिनेवित्तिकै झर्ने भएकोले मार्सीधानमा अलि समस्या देखियो । र अन्य उन्नत जातका धान काट्न त मेसिनको प्रयोग अति उत्तम देखियो,’ भीमबहादुरले थपे । उनले हरेक वर्ष २४ क्विन्टल धान उत्पादन गर्छन् ।
भीमबहादुरले सातवटा धान काट्ने मेसिन ल्याएका थिए । अहिले सबै मेसिन भाडामा दिएका छन् । जिल्लाको चन्दननाथ जिउलो, तलिउमको जिउलाहरुमा धान काट्ने मेसिनको प्रयोग भइरहेको छ । पेट्रोलबाट चल्ने मेसिनले धान काट्न निकै सहज हुने गरेको छ । जुम्लामा धान कटाउन निकै महँगो पर्छ । ज्यालादारीमा मान्छे लगाउककदा प्रतिव्यक्ति दुई हजार रुपैयाँ तिरेर ल्याउनु पर्ने हुन्छ । यस्तो अवस्थामा न्यूनतम ८ हजार देखि १० हजार रुपैयाँ एकैदिनमा दिनुपर्ने बाध्यता हुन्छ । तर त्यही जनशक्तिले गर्ने काम मेसिनले एक घण्टामै गर्छ । बढीमा एक हजार रुपैयाँमा धान काटिसकिन्छ ।’
भीमबहादुरले भने,‘मेसिनले काट्दा समयको पनि बचत हुने र सस्तो पनि पर्ने देखिन्छ ।’ उनका अनुसार २० हजार रुपैयाँ खर्च गरेर काटिने खेतहरुमा ६ हजारमा काट्न सकिन्छ । तीन सय रुपैयाँमा डेढ लिटर पेट्रोल र ५ सय भाडामा दैनिक मेसिन चलाउन सकिने उनको अनुभव छ ।
उनले आफ्नो र छिमेकीको गरेर २७ मुरी खेतमा रोपिएको धान काटेका छन् । चन्दननाथ २ भण्डारीबाडा गाउँका रत्नबहादुर भण्डारीले पनि धान मेसिनले नै काटे । उनलाई पहिले जस्तो ज्यालादारी मान्छे लगाउनुपर्ने, धान काट्न ढिलो हुँदा सास्ती हुने झन्झट बेहोर्नु परेन । उनले पहिलो दिन धान काटेर सकाए । दोस्रो दिन चुटेर घर भित्र्याए । पहिलोपटक मेसिनले धान काटेको देख्दा किसानहरु चकित थिए । अधिकांश किसानहरुले त मेसिनबाट धान काटिदिन सहयोग मागे ।
रत्नबहादुरले भने,‘मान्छेले काट्दा धेरै दुःख हुन्छ । खर्च पनि धेरै आउने गर्छ । तर मेसिनले सस्तोमा धान काटेर भित्र्याउन सकिन्छ ।’ धान काट्ने मेसिन २५ हजार रुपैयाँमा ल्याएका हुन् । ’अलिकता ढलेको, बांगो परेको धान काट्न कठिन हुन्छ,’ उनले भने, ‘सर्लक्क उभिएको धान काट्न सजिलो हुन्छ ।’ नौ घण्टामा २७ मुरी खेतमा रोपिएको धान काटिएको भीमबहादुरको अनुभव छ ।’ पहिले आधुनिक स्रोत साधनको पहुँच थिएन । पुर्खाहरुले हातले हँसियाको प्रयोग गरेर धान काटे,’ रत्नबहादुरले भने,‘अहिले पर्याप्त मेसिनहरु बजारमा आइसकेका छन् । ती मेसिनहरुको प्रयोग गर्नु अहिलेको आवश्यकता हो ।’ पुर्खाहरुले परम्परागत ढंगले खेती गरे । उही तरिकाले भित्र्याए । तर अहिलेको पिढीले परम्परालाई धान्न सक्दैन् । विज्ञान, प्रविधि र अवस्थासँग मिल्दोजुल्दो मेसिनहरु प्रयोग गर्नुपर्ने देखिन्छ । जुम्लामा २ हजार ९ सय ८० हेक्टरमा धान खेती हुने गरेको छ । जसमा १हजार २ सय हेक्टरमा मार्सीधानको खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । अहिले किसानले मिनिटेलरले जोत्ने र मेसिनले धान काट्नेसम्मको काम गरिरहेका छन् ।






