टिमुरको बिरुवा बेचेर लाखौं आम्दानी

दाङमा एक सामुदायिक वनले टिमुरका बिरुवा बिक्री गरेर वार्षिक दुई लाख रुपैयाँ आम्दानी गरेको छ । बंगलाचुली गाउँपालिका–४ जुम्लेपानीमा रहेको जुम्लेपानी गढी सामुदायिक वन उपभोक्ता समूहले टिमुरका बिरुवा उत्पादनसँगै बिक्री गरेर दुई लाख बढी वार्षिक आम्दानी गर्ने गरेको हो ।

महत्त्वपूर्ण जडिबुटीका रूपमा रहेको टिमुरका बिरुवा उत्पादन गरेर जिल्ला भित्रसँगै प्युठान, रोल्पा, सल्यान, रुकुमलगायतका जिल्लामा बिक्री गरेर आम्दानी गर्ने गरेको वन समूहका अध्यक्ष इन्द्रबहादुर बुढा बताउँछन् । परम्परागत रूपमा जंगलमा पाइने टिमुरलाई व्यावसायिक बनाउँदै किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले करिब पाँच वर्ष अघिदेखि नर्सरीका रूपमा विकास गरिएको अध्यक्ष बुढाले बताए ।

नर्सरीका रुपमा विकास भएपछि बंगलाचुलीसँगै जिल्लाका विभिन्न सामुदायिक वन समूहसँगै जिल्ला बाहिरका वन समूह तथा व्यक्तिलाई विरुवा बिक्री गर्ने गर्दै आम्दानी लिने गरेको उनले बताए । उनका अनुसार वन समूहका सदस्यलाई बिरुवा उत्पादनका लागि तालिमसँगै व्यावसायिक रूपमा बिरुवा उत्पादनका लागि ग्रीन हाउस र टनेल निर्माण गरिएपछि वन समूहले व्यावसायिक रूपमा टिमुर उत्पादन थालेको हो ।

टिमुरका बिरुवा उत्पादनका लागि करिब सात लाखको लागतमा जी आइजेटले ग्रीन हाउस र लुम्बिनी प्रदेश वन डिभिजन कार्यालयसँगको साझेदारीमा वन समूहले तीनवटा टनेल निर्माण गरिएको थियो । वन समूहले वार्षिक २५ हजार बिरुवा उत्पादन गरेर बिक्री गर्ने गर्दै आएको अध्यक्ष बुढाले बताए । ‘वनलाई उत्पादनसँग जोड्ने र आम्दानीमा वृद्धि गर्ने उद्देश्यले प्रत्येक बिरुवा उत्पादन गर्ने र बिक्री गर्दै आएका छौं,’ उनले भने ।

उनका अनुसार लक्ष्यअनुसार बिरुवा उत्पादन गर्न नसक्दा गत वर्ष करिब १० हजारमात्र बिरुवा बिक्री गरिएको बताए । वन समूहले सुरुका वर्षमा साविकको राप्तीसँगै बाँके, सुर्खेत, गुल्मीलगायतका ठाउँमा बिरुवा बिक्री गरेर वार्षिक १० लाखसम्म आम्दानी गरेको भए पनि पछिल्लो समय अन्य जिल्लामा बिरुवा उत्पादन हुन थालेपछि आम्दानी घटेको वन समूहका अध्यक्ष बुढा बताउँछन् ।

अहिले प्युठान, सल्यान लगायतका दाङमै निजी क्षेत्रबाट पनि टिमुरका बिरुवा उत्पादन हुने गरेको छ । वन समूहले बिरुवा उत्पादन गरेर बिक्रीसँगै टिमुरबाट आम्दानी लिनका लागि वन समूहको १९८.३६ हेक्टर क्षेत्रफलमा एक हजार टिमुरका बिरुवा रोपिएको अध्यक्ष बुढाले बताए । रोपिएका बिरुवा हुर्किएमा वन समूहले बिरुवा बिक्रीसँगै फलबाट पनि आम्दानी लिन सकिने उनी बताउँछन् ।

अध्यक्ष बुढाले भने, ‘वन समूहको विभिन्न क्षेत्रमा एक हजार बढी बिरुवा रोपेका छौं, ती बिरुवा हुर्किएपछि बिरुवा उत्पादनसँगै फलबाट समेत वन समूहले आम्दानी लिनेछ ।’ उत्पादन गरेको रकम वन समूहको खातामा राख्ने र बिरुवा उत्पादन लगायतका विभिन्न कार्यमा परिचालन गर्ने गरिएको छ ।

जुम्लेपानी सामुदायिक वन समूहले उत्पादन गरेका बिरुवा खरिद बिक्रीसँगै अध्ययन अवलोकनका लागि समेत मानिस आउने गरेको वन समूहका सहसचिव तामबहादुर परियार बताउँछन् । पहाडी र चिसो हुने ठाउँमा उत्पादन लिन सकिने टिमुरका बिरुवा वन समूहले उत्पादन गरेर आम्दानी लिन थालेपछि बिरुवा खरिदसँगै अध्ययन, अवलोकनका लागि मानिसहरू आउने गरेको उनको भनाइ छ ।

टिमुरको बिरुवा बेचेर लाखौं आम्दानी

शुक्लाफाँटामा जंगल सफारी खुला