एमाले सुर्खेत अधिबेशन : नेता कँडेलको पेलानले निर्वाचन हुँदै

सुर्खेत, १० चैत्र ।
बिहिबारदेखि नेकपा एमाले सुर्खेत जिल्ला कमिटीको नवौं अधिवेशन जारी छ । एमाले महासचिव शंकर पोखरेलले अधिवेशनको उद्घाटन गर्दै नेतामुखी नभई जनतामुखी नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । पोखरेलको निर्देशन बमोजिम आन्तरिक छलफलमा जुटेका नेताहरुले अन्तिमसम्म सहमती गरेर जाने रणनीति अपनाए पनि नेताहरुको हठका कारण सर्वसम्वत नेतृत्व चयन हुन सकेन ।
सहमतिको अन्तिम प्रयास असफल भएपछि पार्टीको आठौं अधिवेशनबाट अध्यक्ष र उपाध्यक्ष एउटै टिमबाट आएका अमृतबहादुर विसी र कुलमणी देवकोटा दुई धुव्रमा उभिएर चुनावी प्रतिपस्र्धामा होमिएका छन् । आठौं अधिवेशनबाट विसी अध्यक्ष बनेका थिए भने देवकोटा उपाध्यक्ष बनेका थिए ।
सहमति र सहकार्यका आधारमा एउटै टिममा रहेर कार्यकाल पुरा गरेका विसी र देवकोटा पार्टीका माथिल्लो तहका नेताहरुको हठका कारण अध्यक्षका लागि आम्नेसाम्ने भएको एमाले वृत्तमा चर्चा भइरहेको छ । यसको मुख्य कारण एमाले स्थायी कमिटी सदस्यहरु यामलाल कँडेल, गोरख बोगटी र केन्द्रीय सदस्य नवराज रावतको प्रतिष्ठाको लडाईँ रहेको एमालेका एक नेताले दावी गरे ।
सुर्खेत प्रदेश राजधानीको जिल्ला सुर्खेत भएकाले पनि नेताहरुले प्रतिष्ठाको विषयको रुपमा लिदा चुनावी प्रतिस्पर्धाको अवस्था आएको ति नेताले दावी गरे । अधिवेशन सुरु भएसँगै स्थायी कमिटी सदस्यद्वय कँडेल, बोगटी र केन्द्रीय सदस्य नवराज रावत सर्वसम्वत नयाँ नेतृत्व छान्नका लागि बारम्बार छलफलमा बसेका थिए ।
तर, यी तीनै नेताले सहमतिको खाका कोर्न नसक्दा बोगटी र रावत गुटको नेतृत्व विसीले गरे भने कँडेलको नेतृत्व देवकोटाले गरेर उम्मेद्वारी दर्ता गराएका छन् । वोगटी सुर्खेत जिल्ला ईन्चार्ज हुन् भने कँडेल र रावतको गृह जिल्ला सुर्खेत हो । अध्यक्ष, उपाध्यक्ष र सचिवमा दावि गरेको कँडेल टिम टसको मस नहुँदा बोगटी टिमले पनि प्यानलै खडा गरेर चुनावी प्रतिस्पर्धा रोजेको थियो ।
नेताहरुको छलफलमा सहमतिबाट नेतृत्व छनौंटका लागि बोगटी टिमले सचिवसहित ४० प्रतिशत सदस्य मागेको थियो । तर कमिटी सञ्चालनमा असहज हुने भन्दै कँडेल टिमले सचिव पनि आफूहरुले नै पाउनुपर्ने दावि प्रस्तुत गरेपछि सहमति हुन नसकेको नाम नबताउने सर्तमा एक नेताले बताए ।
बोगटी टिमले सचिवका लागि अगाडि सारेका सम्भावित नेताहरुबाट जिल्ला कमिटी चलाउन असहज हुने कँडेल टिमको ठम्याई थियो । यो टिमबाट पदाधिकारीका लागि अगाडि सारिएका नेताहरु विद्रोही स्वभावका भएकाले कमिटी सञ्चालनमा झमेला हुने भन्दै तीनै महत्वपूर्ण पद कँडेल टिमले अगाडि सार्नु र बोगटी टिमले सचिवसहित ४० प्रतिशत हिस्सा माग गर्नु नै विवादको प्रमुख जड भएको ति नेताको दावी छ ।
‘उनीहरूको टिमभन्दा बढी नेताहरू यतै भएकाले व्यवस्थापन गर्न समस्या भएपछि सहमतिमा खास कुरा मिल्न सकेन तर उप–सचिवसहित २० प्रतिशत सदस्य लिनुहोसभन्दा नमानेपछि अधिवेशन चुनावमा गएको हो,’ ति नेताले भने, ‘उनीहरूले खोजे जसरी दिन सकिने अवस्था भएन अब निर्वाचन बाटै नेतृत्व छनौंट हुन्छ ।’
तर वोगटी टिमका नेताहरूले भने अमृत विसीसहितको टिमलाई सम्मानजनक रूपमा व्यवस्थापन नगरिँदा चुनावमा होमिन परेको बताउँछन् । ‘स्वभावै उनीहरूको दवदवा छ तर हामी नेता कार्यकर्ताहरूको पनि उचित सम्मान हुनु पर्याे भनेर सचिवसहित केही सदस्य मागेका थियौं, तर त्यो नभएपछि अन्तत हामी पनि चुनावमै जाने निर्णय ग¥यौं, चुनावको परिमाण जे आउँछ हामी स्वीकार्छाैं,’ ती नेताले भने ।
एमाले सुर्खेतमा आएको विवाद यो नौलो भने होइन । गत ४ मंसिर २०७९ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा सुर्खेत जिल्ला कमिटीले सुर्खेत क्षेत्र नम्बर २ (क) को टिकट खड्क बहादुर खत्रीलाई दिएको थियो । जनस्तरमा राम्रो प्रभाव भएको र चुनाव जित्न सक्ने भन्दै पार्टीको जिल्ला कमिटीले खत्रीलाई टिकट दिएको थियो ।
खत्रीलाई जिल्ला कमिटीले दिएको टिकटमा चित्त नबुझेको भन्दै डण्डीप्रसाद शर्माले पार्टी केन्द्रबाट टिकट लिएर आएपछि एमाले सुर्खेतमा भाँडभैलो नै मच्चिएको थियो । शर्मालाई पार्टी केन्द्रले दिएको टिकटका विषयमा सुर्खेत जिल्ला कमिटीले आधिकारिक उम्मेदवार खड्क बहादुर खत्री भएकाले शर्मालाई जिताउन नसकिने निर्णय नै सार्वजनिक गरेको थियो । त्यसयता शर्मा रिसाउँदै आएका छन् ।
सोही विवादका कारण आठौं अधिवेशनमा विसीसँग हारेका शर्मा नवौंमा आउँदा उनै विसीलाई साथमा लिएर चुनावी मैदानमा होमिका छन् । कँडेलको पक्षबाट अध्यक्षका लागि हाल उपाध्यक्ष रहेका कुलमणि देवकोटा र वोगटी टिमबाट वर्तमान अध्यक्ष अमृत बिसी छन् ।

यस्तै, उपाध्यक्षमा देवकोटा टिममा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव खुलामा अझै टुंगो लाग्न सकेको छैन । उप–सचिव महिलाबाट सुशीला विश्वकर्माले उम्मेद्वारी दर्ता गराएकी छन् । उपध्याक्ष पदका उम्मेदवार बडुवाल यसअघि पार्टी विभाजन हुँदा समाजवादीतर्फ लागेर सुर्खेत जिल्ला अध्यक्ष थिए ।
समाजवादीबाट एमालेमा समायोज भएका बडुवाल एमाले सुर्खेत पश्चिमका प्रभावशाली नेताका रुपमा चिनिन्छन् । यसो त पार्टी विभाजन नहुनु अघि बडुवाल एमाले सुर्खेतको सचिव थिए । एक कार्यकाल अध्यक्ष भइसकेकाले विसी आठौँ अधिवेशनमा यामलाल कँडेलकै पक्षबाट उम्मेदवार बनेर जितेका थिए ।
विसी पुनः दोहोरिँदा उनको टिमबाट उपाध्यक्ष ताराकेशर गौतम, सचिवमा डण्डिप्रसाद शर्माले उम्मेद्वारी दर्ता गराएका छन् । उप–सचिवद्वयमा भने खुलातर्फ हरिप्रसाद अधिकारी र तृप्ती विश्वकर्माले उम्मेद्वारी दर्ता गरएका हुन् ।
निर्वाचनका लागि गठित जिल्ला निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ । निर्वाचन कार्यक्रम अन्तर्गत शनिवार उम्मेदवारको दरखास्त फारम दर्ता बिहान साढे ८ बजेदेखि ११ बजेसम्म, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाश दिउँसो १ बजे, उम्मेदवारको विरोधमा उजुरी दिने दिउँसो १ बजेदेखि साढे १ बजेसम्म, उजुरीउपर छानविन र निर्णय दिउँसो साढे १ बजेदेखि २ बजेसम्म, उम्मेदवारको नामावली पुनः प्रकाशन दिउँसो २ बजे, उम्मेदवारको नाम फिर्ता दिउँसो २ बजेदेखि बेलुका ६ बजेसम्म तोकेको थियो । निर्वाच कमिटीका अनुसार आइतबार पाँच पदाधिकारीसहित ९९ सदस्यीय नयाँ कमिटी चयनका लागि निर्वाचन हुनेछ ।







