कनकासुन्दरीमा निःशुल्क स्वास्थ्य शिविर


जुम्लाको कनकासुन्दरी गाउँपालिकाको मालिकाबोता र हाडसिंजा स्वास्थ्य चौकीमा गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढी महिलाले सेवा लिएका छन् । गाउँपालिकाको आयोजना, जनस्वास्थ्य सेवा कार्यालय जुम्ला र आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपाल जुम्लाको सहकार्यमा सञ्चालन गरिएको शिविरमा ५ सय १८ जना महिलाले उपचार गराएका छन् ।
दुर्गमका महिलाहरुका लागि पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सरको स्क्यानिङ शिविरको आयोजना गरिएको थियो । उक्त दुई दिने निःशुल्क स्वास्थ्य जाँच शिविरमा बाट हाटसिंजा स्वास्थ्य चौकीमा ३ सय ७८ र मालिकाबोता स्वास्थ्य चौकीमा १ सय ४० जना महिलाले स्वास्थ्य चेकजाँच गरेका थिए । महिलामा पाठेघरको मुख र स्तन क्यान्सरको पहिचान गरी तत्काल उपचारमा सहजता गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको थियोे ।
जसमध्ये २ सय ६ जनामा पाठेघर समस्या देखिएको छ, भने १२ जनाको क्यान्सर ‘पोजिटिभ’ देखिएको छ । थप उपचारका लागि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरेको प्रतिष्ठानका डाक्टर एबेस सेजुवालले बताए । प्रतिष्ठानका डाक्टर टंक आचार्यको नेतृत्वमा गएको टोलि महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको चेकजाँच गरेको हो ।
महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षति कम गर्न सहज होस् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । कनकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक वीरेन्द्र उपाध्यायले पाठेघरको क्यान्सर महिलाहरुको ठूलो स्वास्थ्य समस्याका रुपमा देखिएकाले समस्या लुकाए गम्भीरता बढ्दै जाने बताउँदै नियमित जाँच गराउन आग्रह गरे ।
क्यान्सर हुनुअघि नै क्यान्सरको जोखिम पहिचान गर्न सके उपचारमा सहजता हुने भन्दै उनले सहजताका लागि दुई ठाउँमा निःशुल्क शिविर सञ्चालन गरिरहेको बताए । प्रतिष्ठानका डाक्टर टंक आचार्यले महिलाहरुले आफ्नो पाठेघरको अवस्थाका बारेमा बेला बेलामा जान्न जरुरी रहेको बताउँदै बढ्दो पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न नियमित परीक्षणमा जोड दिए । पिसाब चुहिने, तल्लो पेट, ढाड दुख्ने, चिलाउने, गन्हाउने सेतोपानी बग्ने तथा प्रजनन् सम्बन्धी समस्या देखिएको छ ।






