सम्पादकीय : यसरी जोगाऔं राउटे

राउटे समुदायकी १२ वर्षीया दुर्गा शाहीको विहीबार बस्तीमै मृत्यु भयो । राउटे अगुवाका कारण ती बालिका एक महिनादेखि बिरामी थिइन् । उपचार अभावमा उनले अकालमै मृत्युवरण गरिन् । बालिकाको मृत्यु भएसंगै दैलेखको भैरवी गाउँपालिकाबाट राउटेहरु चामुण्डाविन्द्रासैनी नगरपालिकाका–४ सुइयतडामा बसाइँ सरे । समुदायका सदस्यको मृत्युसंगै बसाइँ सर्ने उनीहरुको परम्परा हो । तथ्यांक अनुसार २०७५ असारदेखि २०८० माघ पहिलो सातासम्म १८ जना बालबालिका र २० जना अन्य उमेर समूहको अकालमै मृत्यु भएको छ । मृत्युदर उच्च हुँदा उनीहरुको संख्या घट्दो छ । हाल राउटे समुदाय १३७ को संख्यामा छन् ।

बदलिँदो जीवनशैली, अत्यधिक मदिराजन्य पदार्थको सेवन, जलवायु परिवर्तनको प्रभावजस्ता कारण राउटेहरु विभिन्न रोगको सिकार छन् । आधुनिक उपचार पद्धतिमा विश्वास नगर्ने यो समुदाय आफ्ना सदस्य बिरामी हुँदा स्वास्थ्य संस्था लैजाँदैनन् । स्थायी बसोबास, पशुपालन र खेतीबालीप्रति आर्कषित छैनन् । सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता समेत सदुपयोग गर्न सकेका छैनन् । अत्यधिक मदिरा सेवनका कारण समुदायका धेरै युवाले ज्यान गुमाइसकेका छन् । पैसा पाउनासाथ रक्सी खोज्दै हिँड्ने प्रवृत्ति झांगिएको छ । सरसफाइमा उति ध्यान दिँदैनन् । बस्तीमा पहिलेजस्तो अर्गानिक खाना र स्वच्छ वातावरण छैन् । बजारमा पाउने रासायनिक खानपिनको प्रभाव बढी छ । यसले राउटे समुदायको स्वास्थ्यमा प्रतिकूल असर पारेको जानकारहरु बताउँछन् ।

अत्यधिक मदिराजन्य पदार्थको सेवन, स्वास्थ्योपचारमा बेवास्ता, प्रतिकूल तापक्रम, खानपिनमा लापरबाहीजस्ता कारण राउटे समुदायमा मृत्युदर बढी देखिएको हो । जीवन रक्षाको दोसाँधमा रहेको राउटे समुदायको सुरक्षाबारे हाम्रा तीनवटै तहका सरकारहरु गम्भीर छैनन् । भत्तामुखी बनाउने र ‘ग्ल्यामर्स’ को रुपमा प्रयोग गर्नेबाहेक सरोकारवाला निकायले ठोस पहल गर्न सकेका छैनन् । राउटेको घट्दो संख्याप्रति राज्यका निकायहरुमा कुनै बहस, चासो र चिन्ता छैन् । यही अवस्था रहिरहे राउटे लोप हुन धेरै वर्ष पर्खनुपर्दैन । पछिल्ला वर्षको मृत्युदरले यो चिन्तालाई प्रमाणित गर्दछ ।

राउटेको संख्यामात्र लोपोन्मुख अवस्थामा छैन् । उनीहरुको जीवनचक्र पनि जटिल संक्रमणकालमा गुज्रिरहेको छ । राउटे वंश, धर्म संस्कृति, बेग्लै भाषा भएको सानो मानव जाति पृथ्वीबाट लोप हुने अवस्थामा पुग्नु दुर्भाग्य हो । पृथ्वीमा रहेका सबै प्रजातिका प्राणीदेखि वनस्पतिको संरक्षण भैरहेका बेला मानव जाति राउटेको अस्तित्व रक्षा नहुन दुखद हो । अतः राउटेलाई संरक्षित मानव समुदायका रुपमा विकास गरिनुपर्छ ।

राउटेको स्वास्थ्य सुरक्षाका साथै कला, भाषा, संस्कृति, परम्परा, भेषभुषाको पनि जर्गेना हुनुपर्छ । राउटेलाई एनजिओकरणबाट मुक्त गर्न जरुरी छ । परिभ्रमण क्षेत्रमा कन्दमूल खेती गर्ने, काठे सामग्रीको बजारीकरण, बस्तीलाई ‘टुरिष्ट एरिया’को रुपमा विकास गर्ने, पैसाको साटो सामग्री परिपूर्तिको व्यवस्था गर्न आवश्यक छ । अहिलेजस्तो नगद भत्ता दिनुको साटो स्वास्थ्य उपचार लगायतका आधारभूत समस्या समाधान गर्न ‘मोबाइल टिम’ परिचालन बढी प्रभावकारी हुन सक्छ । यदि त्यसो नगर्ने हो भने दक्षिण एसियाकै दुर्लभ जाति राउटे लोप हुन धेरै वर्ष पर्खनुपर्दैन ।

याे पनि पढ्नुहाेस :

अस्ताउँदै छ, राउटे समुदायको अस्तित्व

सम्पादकीय : यसरी जोगाऔं राउटे

YUGAAWHAN NATIONAL DAILY (2080-10-08)

This will close in 0 seconds