काठको लाप्काबाट जब नन्दभाउजू गमगाढको उर्लिंदो भेलमा खसे


सोमबार बिहान जनैपूर्णिमाको दिन मुगुको गमगाढ खोला डरलाग्दो गरी उर्लिएको थियो । एक वर्षभन्दा लामो समयदेखि निर्माणाधीन अवस्थामा अलपत्र मोटरेबल पुलको केही मिटर मास्तिर खोलामाथि जोखिमपूर्ण काठको लाप्कामार्फत यात्रुहरू वारपार गर्दै थिए ।
यस क्रममा दुई जना एक्कासि गमगाढको डरलाग्दो भेलमा खसे । लाप्कामार्फत खोला तर्न वारिपारि किनारमा पालो कुरेर बसेका केही यात्रु उद्धारको प्रयासमा खोलाको किनारैकिनार दौडिए । करिब दुई सय मिटर तलसम्म बगेपछि दुवै जनाको उद्धार गरियो । खोलामा खसेका सक्कली शाही (भाउजू) र सपना मल्ल (नन्द) मृत्युको मुखमा पुगेर बाँचे । लाप्कामा हिँड्ने क्रममा खुट्टा असन्तुलित भएर लरखराएकी सपनालाई जोगाउने हुँदा सक्कली पनि खोलामा खसेकी थिइन् ।
मुगुको छायाँनाथ रारा नगरपालिका– १ मा गमगढी–नाक्चेलाग्ना चीनको तिब्बत जोड्ने सडक पर्छ । यही सडकअन्तर्गत अल्कासाँघुको गमगाढ खोलामा भएको घटनाको भिडियो सोसल मिडियामा फैलिइरहेको छ । सक्कली र सपना छायाँनाथ रारा नगरपालिका– १ का बासिन्दा हुन् । उद्धार गरिएका दुवैको अवस्था सामान्य छ । स्थानीय जनप्रतिनिधिका अनुसार, बाहिर आएको भिडियो फुटेजमा दुई जना मात्र खसेको देखिए पनि त्यो दिन लाप्का तर्ने क्रममा ६ जना खसेका थिए । छायाँनाथ रारा नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष पदमराज मल्लले जनैपूर्णिमाका दिन छायाँनाथ धाम पुगेर फर्किने क्रममा सक्कली र सपनासहित नमराज मल्ल, धर्मराज विक, विष्णु विक, सञ्जु विक र पिउलीसरा विक खोलामा खसेको बताए । यीमध्ये नमराजको टाउकोमा चार वटाभन्दा बढी टाँका लगाउनुपरेको थियो । सबैलाई स्थानीयवासीले उद्धार गरेका थिए ।
‘छायाँनाथ धाममा पूजा गरी फर्किंदै गरेका सयौँ तीर्थालु बिहान ९ बजेको आसपास पालैपालो लाप्कामा चढेर खोला पार गर्दै थिए,’ अध्यक्ष मल्लले शिलापत्रसित भने, ‘यस क्रममा ६ जना खोलामा खस्नुभयो, भाग्यवश सबैको सकुशल उद्धार भयो । उहाँहरू पनि छायाँनाथ १ र ३ का स्थानीय हुनुहुन्छ ।’
स्थानीय उपेन्द्र शाहीले पहाडका मान्छे भएकाले त्यत्रो खेलामा खसेर पनि जोगिएको दाबी गरे । ‘कमजोर मान्छे हुन्थ्यो भने बाँचेर निस्कने सम्भावना कम थियो’, उनले भने, खोलामा पक्की पुल नहुँदा मुगुम कार्मरोङ गाउँपालिका– १६ र छायाँनाथ रारा नगरपालिकाका १९ बस्ती गरी ३५ वटा गाउँका स्थानीय जोखिम मोलेर जिल्ला सदरमुकाम गमगढी आउजाउ गर्दै आएका छन् । मुगुम कार्मरोङ तिब्बतको सीमामा रहेको गाउँपालिका हो ।
‘छायाँनाथ रारा नगरपालिकाका ४ वटा वडा र मुगुम कार्मरोङका सम्पूर्ण गाउँपालिकावासीले नुनतेल किन्नदेखि सदरमुकाम गमगढी, नेपालगञ्ज शहर जान खोलाको यही लाप्कामाथि चढेर आवतजावत गर्नुपर्ने बाध्यता छ,’ नगर प्रवक्ता मल्लले भने, ‘यो वर्षौंयताको समस्या हो ।’ यो जोखिमपूर्ण लाप्कामार्फत विद्यार्थीसमेत आवतजावत गर्छन् । आफ्ना सामान बजारसम्म लैजान भारी बोकेरसमेत स्थानीयले लाप्का वारपार गर्दै आएका छन् । ‘दैनिक ५/६ सय मान्छे यही लाप्कामार्फत ओहोरदोहोर गर्छन्,’ उनले भने ।
सोमबारको घटनापछि नगरपालिकाले लाप्काको ठाउँमा अस्थायी काठेपुल निर्माणको काम सुरु गरेको छ । यसका लागि वडा नम्बर १ का अध्यक्ष मल्लसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीको टिम खटिएको छ । ‘सोमबार जे भयो, दुःखद भयो,’ मल्लले भने, ‘यस्तो घटना नदोहोरियोस् भनेर हामी अस्थायी पुल निर्माणमा जुटेका छौँ ।’ अहिले त्यहाँ प्रहरीले आफैँ जोखिम मोलेर स्थानीयलाई लाप्कामार्फत खोला तारिरहेको छ ।
यसअघि नै जोखिम कम गर्ने उपायमा काम नगरेको भन्दै धेरैले नगरपालिका नेतृत्वको समेत आलोचना गरेका छन् । बर्खा लाग्दा स्थानीयवासी खोला तर्न यस्तै जोखिमपूर्ण उपाय अपनाउन बाध्य छन् । स्थानीयवासीको ज्यान दाउमा राखेर खोलामाथि तेर्स्याइएको लाप्काभन्दा केही मिटर तल्तिर बन्दाबन्दैको मोटरेबल पुल वर्षदिनदेखि अलपत्र छ । गत वर्षदेखि यो पुल हिम कन्स्ट्रक्सनले बनाइरहेको छ । संघीय सरकारको ८ करोड बजेटमा निर्माण थालिएको पुलको एक वर्षभन्दा लामो समयमा फाउन्डेसन मात्र बनाइएको छ । गाउँपालिका अध्यक्षसहित आफूले दबाब दिएपछि आगामी वर्ष वैशाखसम्म पुल बनाइसक्ने प्रतिबद्धता ठेकेदारले जनाएको प्रवक्ता मल्लले बताए ।
मुगुको गमगाढ खोलाको घटनापछि कतिपयले संघीय सरकारको समेत आलोचना गरेका छन् । लाप्काबाट चिप्लेर खोलामा खसेका यात्रुको भिडियो फेसबुकमा शेयर गर्दै भुवन फाइजुले लेखेका छन्, ‘भ्यु टावर र गेट बनाउनुको सट्टा यो खोलामा एउटा झोलुङ्गे पुल बनाइदिएको भए आमाछोरीलाई बगाउँदैन थियो होला ।’ स्थानीयवासीले भने खोलामा निर्माणाधीन मोटरेबल पुल जतिसक्दो छिटो आवतजावतका लागि तयार गरिदिन माग गरेका छन् । स्थानीय आरती मल्लले शिलापत्रसित भनिन्, ‘बन्दाबन्दै पुल अलपत्र छ । छेउमै तेर्स्याइएको लाप्काबाट तर्ने हुँदा मान्छे खोलामा खसिरहेका छन् । हामीलाई पुल छिटो बनाइदिनुप¥यो, आश्वासन मात्र होइन ।’






