भेरीगंगा नयाँ शहरको भवन शिलान्यास


नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दलहरुबीच चुनावमा प्रतिस्पर्धा भएपनि विकास र जनताको समृद्धिका लागि प्रतिस्पर्धा नरहेको बताएका छन् । भेरीगंगा नयाँ शहर आयोजनाको कार्यालय भवनको आइतबार शिलान्यास गर्ने खड्काले विकास र समृद्धिका विषयमा प्रतिस्पर्धा गर्नु आवश्यक नभएको बताए ।
पूर्व उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका खड्काले स्रोतको सुनश्चितता नहुनु, राजस्व नउठ्नु जस्ता समस्याले देशमा विकासको लहर ल्याउने जनप्रतिनिधिको सपना पूरा हुन नसकेको बताए । ‘निर्माणमा हुने ढिलाईले पुँजीगत खर्च दयनीय छ, यस्तै विभिन्न कारणले मुलुकको अर्थतन्त्र समस्यामा छ,’ उनले भने, ‘सरकारले ऋणपत्र जारी गरेर मुलुक चलाउनुपरेको छ, यो अवस्थामा समयमै विकास गर्न सकिएको छैन ।’
उनले भेरी किनारमा बन्ने देशकै ठूलो शहर भेरीगंगा आधुनिक सहरले पूर्ण रुपमा आकार लिन केही वर्षहरू लाग्ने बताए । उनले नयाँ शहरको डीपीआरसँगै कामले तिब्रता पाउने बताए । नेपालमा परिकल्पना गरिएका ५० भन्दा बढी सहरमध्ये भेरीगंगा आधुनिक सहर सबैभन्दा ठूलो भूगोलमा भएकाले यसको विकासका लागि तिव्र गतिमा काम गर्न आयोजनालाई आग्रह गरे ।
अहिलेको पुस्ताले भावी पुस्तालाई दिने नासोका रुपमा भेरीगंगा आधुनिक शहर भएकाले निर्माणको गतिलाई तिव्रता दिनुपर्नेमा खड्काले जोड दिए ।
उनले सहरी आयोजनासँग समन्वय नगरी जथाभावी बाटो निर्माण नगर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरे । ‘नदीको किनारमा ठूला सडक खन्ने काम नगर्नुहोस्, बरु सहरी आयोजनासँग समन्वय गरेर हरियाली र सुन्दरता दिने काम गर्नुहोस्,’ खड्काले भने, ‘साना बाटो बनाउन अनुमति नदिनुहोस्, कम्तिमा १०० बर्षलाई पुग्नेगरि बाटो छोड्नुस् ।’
नयाँ शहरभित्र सडक र अन्य पूर्वाधार कस्ता हुने भन्ने विषयमा प्रारम्भिक डिपीआर तयार भएकाले सोहीअनुसार अघि बढ्न स्थानीय तहका प्रमुखलाई आग्रह गरे । सहरको गुरुयोजना बनाउन प्रक्रिया सुरु भएकाले अब बजेट जोहो गरेर काम सुरु हुने आश्वासन उनले दिए ।
उनले आयोजना कार्यालयले सहरको प्रगतिका बारेमा चार–चार महिनामा सार्वजनिक सुनुवाई गर्नुपर्ने बताए । यसमार्फत जनप्रतिनिधिबाट सरकारलाई भन्नुपर्ने विषय स्थानीय तहका जनप्रतिनिधिलाई भन्न उनले आयोजना कार्यालयलाई सुझाव दिए ।






