जुम्लामा सूचीकृत बेरोजगार युवा १३ हजार


मुलुककै गरिब र मानव विकास सूचकांकमा पछि परेको कर्णाली प्रदेशको जुम्लामा सूचीकृत बेरोजगार युवामात्रै १३ हजार बढी छन् । संघीयतापछि पनि उत्पादनमुखी कार्यक्रम नहुनु र कृषि, पर्यटन, विकाससँग युवालाई जोड्ने नीतिको अभावले जुम्लामा मात्रै सूचीकृत बेरोजगार १४ हजार बढी रहेका हुन् । सरकारी तथ्यांकलाई आधार मान्दा समग्र कर्णाली प्रदेशमा दुई लाख सूचीकृत बेरोजगार युवा हुँदा जुम्लामा १३ हजार ३३ जना सूचीकृत बेरोजगार रहेका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको तथ्यांकअनुसार गाउँगाउँ पुगेर फाराम भरी कुनै काम नपाएका, रोजगारीको खोजीमा रहेकामात्रै १३ हजार युवा छन् । गत आर्थिक वर्ष २०८०÷०८१ को तथ्यांकनुसार जुम्लामा सूचीकृत बेरोजगार युवा १३ हजार ३३ जना हुँदा रोजगारी ९३४ जनाले मात्रै पाएका छन् । बाँकी १२ हजार ९९ जना सूचीकृत बेरोजगार युवा नै कामविहीन छन् भने बाँकी अन्य सरकारी गणनामा नभएका बेरोजगार युवा कति होलान एकिन छैन ।
एक नगरपालिकासहित सात गाउँपालिका रहेको जुम्लामा कृषि, पर्यटन, जडिबुटी र पूर्वाधार विकाससँग युवालाई जोडेर रोजगारी सृजना गर्न सकिने प्रचुर सम्भवना भए पनि ठोस नीति अभावले सूचीकृत बेरोजगारले नै काम पाउन सकेका छैनन् । गत आवमा जुम्लाका आठ पालिकाबाट प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् ९३४ जनाले रोजगारी पाउँदा ७५ वटा योजना निर्माण भएका छन् । आठ पालिकाका १३ हजार सूचीकृत बेरोजगारमध्ये महिला पाँच हजार ५२९ जना र पुरुष सात हजार ५०३ जना रहेका छन् ।
सूचीकृत बेरोजगारको तुलनामा रोजगारीमा संलग्न युवाको संख्या थोरै भएकाले अझै बेरोजगारीको समस्या हल हुन नसकेको देखिन्छ । बेरोजगारका रूपमा सूचीकृत भइसकेपछि पनि उपयुक्त रोजगारी नपाएपछि जुम्लाका अधिकांश युवा खाडी र कालापहाड गइसकेका छन् । सरकारको तथ्यांकमा आधिकारिक बेरोजगार सूचीकृत हुँदा पनि सीप र क्षमतानुसार काम नपाउनु दुुःखद पक्ष भएको तातोपानी गाउँपालिका युवा समितिका उपाध्यक्ष वीरेन्द्र शाहीले बताए । अरु युवाभन्दा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् सूचीकृत युवालाई पालिकाका विकास निर्माणसँंग जोड्ने नीति बनाउनु पर्नेमा शाहीले जोड दिए ।
कुन पालिकामा, कति बेरोजगार ?
जुम्लामा रोजगारी सृजनाका पर्याप्त सम्भवना भए पनि ठोस नीति र लगानी अभावले बेरोजगारी समस्या चुलिँदै गएको छ । बेरोजगारी न्यूनीकरण गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमले टेवा पु¥याउने आशा गरिए पनि अपेक्षित रोजगारी सृजना गर्न सकेको छैन ।
सीपको पहिचान, क्षमताअनुसारको रोजगारी, श्रम संस्कृतिको विकास, स्वदेशमै रोजगारी प्रदान गर्ने र युवा पलायन रोक्ने उद्देश्यसहित सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमले सूचीकृत बेरोगारको देखाए पनि रोजगारी भने थोरैलाई मात्र दिएको छ । तथ्यांकनुसार जुम्लाको चन्दननाथ नगरपालिकामा ५१८ हजार बेरोजगार सूचीकृत हुँदा ८० जनाले मात्रै रोजगा पाएका छन् भने सबैभन्दा बढी सिंजा गाउँपालिका २८ सय ३५ जना सूचीकृत बेरोजगार हुँदा रोजगारी २७२ जनाले पाएका छन् ।
त्यस्तै तातोपानी गाउँपालिकामा २२ सय १२ जना सूचीकृत हुँदा रोजगारी पाउने ८४ जना, तिला गाउँपालिकामा सूचीकृत दुई हजार २४ रहेकोमा रोजगारी पाउने ८९ जना, हिमा गाउँपालिकामा सूचीकृत बेरोजगार १२ सय ११ जनामध्ये रोजगारी ८१ जनाले पाएका छन् । त्यस्तै कनकासुन्दरी गाउँपालिकामा सूचीकृत २१ सय ७१ जनामध्ये रोजगारी ९४ जना, पातारासीमा सूचीकृत ९३८ जनामध्ये रोजगारी पाउने ८७ जना र गुठिचौर गाउँपालिकामा सूचीकृत बेरोजगार एक हजार ८१ जना रहेकोमा रोजगारी १५६ जनाले मात्रै पाएको तथ्यांकले देखाएको छ ।






