पानी माग्दै जुम्लामा देवताको भाकल


लामो समय देखिको खडेरीले जनजीवन अस्तव्यस्त हुन थालेको भन्दै जुम्ला सदरमुकाम खलंगाका स्थानीयले देवताको भाकल गरेर पानी मागेका छन । उनीहरुले तत्काल पानी पारिदिएर भोकमरी हुनबाट बचाउन प्राथना गरेका हुन । जुम्लाको चन्दननाथ नगरपालिका – १ स्थित दानसाँघुमा रहेको शिव भगवानको मन्दिरमा पुजा गरेर सुख्खा खडेरी हटाएर हरियाली जुम्ला बनाउन पानी आवश्यक रहेको बताएका थिए । विगत ११ महिना देखिएको सुख्खा खडेरीले जुम्ला सुकीसकेको छ । खेतबारीमा छरेको अन्नबाली सखाप हुन थालेपछि भोकमरी हुने चिन्ताले किसान आजित छन । चन्दननाथ– ३ सिम्खाडा गाउँका धर्मानन्द उपाध्याय तिमलसेनाले पानी नपर्दा मानव जीवन संकटमा परेको बताए । उनले भने,‘पानी परिरहेको छैन । खेतबारीमा बाली सोत्तर भइसक्यो । डाँडापाखाहरु सुख्खा हुंदा उराठ लाग्दो देखिने गरेका छन ।
अन्तिम विकल्प स्वरुप भगवानको पुजा गरेका छौं । उसो त पानीका मुहानहरु सुकेर सदरमुकाम खलंगा पनि काकाकुल बनेको छ, जुम्लाका खोलानालाहरुमा पानीको सतह घटेको छ । जसका कारण अधिकांस सदरमुकामवासी खोलाको दुषित पानी पिउन विवश छन्। भर्खरै रोपेको मार्सीधानमा धाजा फाटेर बिउमा बिजोग भइरहेको छ । उनले भने,‘यो अवस्थामा भगवान गुहार्नुको विकल्प रहेन् ।’ गत बर्षहरुमा खडेरी हुंदा पुजा गरेपछि पानी पर्ने गरेको विश्वास छ ।
उपाध्यायले भने,‘जौं पाक्ने बेला भइसक्यो। पानी परेको छैन । जमिनमा चिस्यान नहुँदा नपाक्दै बालीनाली सोत्तर बनेको छ ।’ अहिले हरियाली हुनु पर्ने डाँडाकाडाँ सुख्खा छन् । जताततै डढेलो सुरु भइसकेको छ । धुलो धुँवाले जनजीवन पनि अस्तव्यस्त छ, उनले भने,‘बालीनाली बारीमै सुक्दा भोकमरी पर्ने निश्चित छ ।’ अग्लो स्थानमा सिचाइँ सुविधा छैन । आकाशे भरमा खेती गर्नुपर्छ ।’ लामो समयको खडेरीका कारण जुम्लाको जौँ, गहुँ, आलु, मकै र कोदो बालीनाली र फलफूल खेती नराम्ररी प्रभावित भएको छ ।
फल लाग्नको लागि फुलेका स्याउका बगैँचामा चिचिला नलाग्दै फुल झरिरहेका छन् । चन्दननाथ भैरवनाथ गुठि व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाले पानी पार्न देवताहरुको पुजा सुरु गरिरहेको बताए । उनका अनुसार शिव मन्दिरमा एघार सय ८ पिपलको पातमा ओम नवशिवाय लेखेर पुजा गरिएको थियो । एक सय ८ गाइको दुधु ल्याएर मन्दिरमा चढाइएको थियो ।
एघार वटा बाहुनले ११ पटक रुद्री पाठ पढेका थिए । भगवानले पानी पार्न गर्ने सबै प्रक्रिया पुरा गरिएको अध्यक्ष थापाको भनाई छ । मन्दिरमा भक्तजनाहरु भेला भएर एक आपासमा खडेरीले भोग्नु परेको पिडा र पानी पर्दा हुने खुसी समेटिएको देउडा भाका प्रस्तुत गरेका थिए । तिला र जवानदिमा बगिरहेको पानी एकपासमा छर्केर भिजिरहेका थिए । देवताको पुजा गर्दा जति पानीमा भिज्न सक्यो उति नै छिटो पानी पर्ने जनविश्वास छ । यसअघि लामो समय खेडेरी पर्दा भगवानको पुजा गर्दा पानी पर्ने गरेकोले यो पटक पनि पाँच दिनभित्र पानी पर्ने विश्वास उनीहरुको छ ।
कर्णालीको धार्मिक पर्यटनको केन्द्र मानिएको चन्दननाथ भैरवनाथ मन्दिरबाट बाजागाजा सहित शिवको मन्दिरमा पुगेर रुद्री गरिएको थियो । शिवको मन्दिरमा पुजा गरिसकेपछि भगवानको जयजयकार गर्दै चन्दननाथ र भैरवनाथ मन्दिरमा आएर पुजा सकिएको थियो । शिवजीको पुजामा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे लगायतका सुरक्षाकर्मीहरु,सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु र स्थानीयबासिन्दाको सहभागिता रहेको थियो ।
यसअघि चन्दननाथ नगरपालिका–२ भण्डारीबाडा गाउँका महिलाहरुले पानी माग्दै मालिका भगवानको मन्दिरमा पुजा गरेका थिए ।






