जाजरकोट भूकम्प: प्रभावित लाभग्राहीको संख्या झन्डै ८० हजार पुग्यो, ५५ हजार परिवार अझै त्रिपालमुनि

जाजरकोट भूकम्पका प्रभावित लाभग्राहीको संख्या झन्डै ८० हजार पुगेको छ । पालिकाले थप तथ्यांक पठाएपछि लाभग्राहीको संख्या ७९ हजार पाँच सय ९९ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निजी आवास तथा पुनर्निर्माण शाखाका प्रमुख प्रकाशचन्द्र अधिकारीले जानकारी दिए ।

पछिल्लो पटक १२ हजारभन्दा धेरै लाभग्राही थपिएका छन् । जाजरकोट भूकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि चार अर्ब ७५ लाख रुपैयाँ लाग्ने सरकारी अनुमान रहेकोमा थप रकम चाहिने भएको छ ।

सरकारले लाभग्राहीका लागि अहिलेसम्म दुई अर्ब २६ करोड रुपैयाँ निकासा गरेको छ । केन्द्रबाट निकासा गरी पठाएको रकममध्ये आजसम्म जिल्ला विपद् व्यवस्थापन समितिबाट पालिकाको विपद् व्यवस्थापन समितिमा एक अर्ब ९० करोड रुपैयाँ गएको र पालिकाबाट लाभग्राहीको खातामा एक अर्ब २६ करोड रुपैयाँ पुगेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।
उनका अनुसार ५० हजार लाभग्राहीको खातामा पहिलो किस्ता रकम पुगेको छ । त्यसमध्ये २४ हजार १० लाभग्राहीको अस्थायी आवास निर्माण सम्पन्न भएको पोखरेलले बताए । १० हजार घर निर्माणाधीन छन् ।
भूकम्पमा घर भत्किएका ५५ हजारभन्दा धेरै परिवार अझै त्रिपालमुनि बस्न बाध्य छन् । साढे २ महिनादेखि पालमुनि बस्दा चिसोले सताएको पीडितहरू बताउँछन् । जाजरकोट केन्द्रविन्दु भएर गएको कात्तिक १७ गते गएको भूकम्पका कारण एक सय ५७ जनाले ज्यान गुमाएका थिए ।

जाजरकोट भूकम्प: प्रभावित लाभग्राहीको संख्या झन्डै ८० हजार पुग्यो, ५५ हजार परिवार अझै त्रिपालमुनि

YUGAAWHAN NATIONAL DAILY (2080-10-04)