दैलेखमा सुरक्षित यात्रा अभियानको शुरुआत


सवारी दुर्घटनालाई न्यूनिकरण गर्दै यात्रालाई थप सुरक्षित बनाउने उद्देश्यले, दैलेख जिल्ला ट्राफिक प्रहरी कार्यालयले ऐतिहासिक सामाजिक कार्यको आयोजना गरेको छ । पहिलो पटक, चालक, सहचालक, र यात्रुहरूको आँखा जाँच र रक्तचाप (ब्लड प्रेशर) परीक्षण गरी उनीहरूको स्वास्थ्य अवस्थाको मूल्याङ्कन गरिएको हो ।
सवारी साधन सञ्चालनमा चालक र सहचालकको शारीरिक तथा मानसिक स्वास्थ्यको महत्त्वलाई ध्यानमा राख्दै, ट्राफिक प्रहरी प्रमुख टोप ब. महताराको नेतृत्वमा यो कार्यक्रम सञ्चालन गरियो । कमजोर स्वास्थ्य अवस्थामा सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक बढ्ने तथ्यले यस कार्यक्रमको आवश्यकता औंल्याएको थियो ।
कार्यक्रममा स्वास्थ्यकर्मीहरूको टोलीले उपस्थित चालक, सहचालक, र यात्रुहरूको आँखा जाँच तथा रक्तचाप परीक्षण गरे। यसले उनीहरूको स्वास्थ्य अवस्थाबारे तत्काल जानकारी दिनुका साथै सुधारका लागि आवश्यक सल्लाह र निर्देशन प्रदान गरेका थिए ।
चालक र सहचालकलाई विशेष प्राथमिकता दिइएको थियो, भनेजनचेतना अभियानमा स्वास्थ्य परीक्षणसँगै, सवारी दुर्घटनाबारे सचेतना जगाउने काम पनि गरिएको थियो ।
कार्यक्रमले दैलेखका सडक प्रयोगकर्ताहरूलाई स्वास्थ्य सचेतना र सवारी सुरक्षामा महत्त्वपूर्ण सन्देश प्रवाह गरेको छ । सहभागीहरूले यस्तो पहलले आफ्नो जीवनमा सकारात्मक प्रभाव पारेको बताएका छन् ।
दैलेख ट्राफिक प्रहरी कार्यालयले आगामी दिनमा यस्तो कार्यक्रमलाई निरन्तरता दिँदै अन्य क्षेत्रहरूमा समेत विस्तार गर्ने योजना बनाएको छ ।
यो पहलले दैलेख जिल्लामा सवारी सुरक्षाको क्षेत्रमा नयाँ अध्याय सुरु गरेको छ । दैलेख ट्राफिक प्रहरी कार्यालय प्रमुख टोप बहादुर महताराको नेतृत्वमा सुरु गरिएको यो अभियानले स्थानीय समुदायको साथ र प्रशंसा बटुल्न सफल भएको छ ।






