गर्मी सुरु भएपछि सतहमा राराका लोपोन्मुख असला

![]()
समुद्री सतहदेखि २९ सय २९ मिटर उचाइमा अवस्थित पर्यटकीय गन्तव्य रारा तालमा विश्वमै लोपोन्मुख असला प्रजातिका माछाहरु छन् । हिउँदको महिना हिमपात हुने रारा तालमा असला माछाको उत्पत्तिले चकित बनाएको छ ।
जाडो मौसममा तालभन्दा करिव ४५ मिटर तल गहिराइ गएका असला माछा गर्मी सुरु भएपछि देखा पर्न थालेका छन् । आजभोलि आहारा खोज्दै तालको किनारा नजिकतिर पनि देखिन थालेका छन् ।
असला माछाको मुख्य आहारा किरा, भुरा र लेउ हो । रारा तालमा बिशेष गरी तीन प्रजातिका असला माछा रहेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ । राराका असला माछा बर्खाको झरीको समयमा खोलानालामा उक्लिने गरेका छन् । रारा तालमा रहेका असला माछाको प्रजनन् चैत, बैशाख, भदौ र असोजमा हुने गरेको छ । वि.सं. २०४० सालमा जापानिज युनिर्भसिटी विश्व बिद्यालयबाट आएको एक अनुसन्धान टोलीले रारा तालको माछाको बिषयमा कसरी उत्पत्ति भयो भन्ने अनुसन्धान गरेको मुर्माका बिर्खबहादुर रोकायाले बताए ।
उनका अनुसार जापानिज अनुसन्धान टोलीले रारा तालमा करिव ११ केजीसम्मको असला माछा रहेको उल्लेख गरेको थियो । रारामा मानवीय चाप बढदै जाँदा रारा क्षेत्र फोहोरले प्रदुषण हुन थालेपछि असला माछालाई असर पर्न थालेको स्थानीयको भनाइ छ । तालमा बोत्तल पलाष्टिक रक्सीका बोत्तल बिषादी कुरा फ्याँक्न थालेपछि असला माछा जोखिममा छन् । चैत महिना प्रारम्भसँगै रारा तालको किनार वरपर प्रशस्तै असला माछा देखिने गरेपछि घुम्न आउने पर्यटकहरु रमाउने गरेका छन् ।






