कुपोषणको अन्त्य गर्नका लागि कृषि क्षेत्रका विज्ञहरुले ध्यान दिनुपर्ने


कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले कुपोषण अन्त्यमा सरकारको ध्यान गएको बताएका छन् । मन्त्री शाहले कुपोषण मुक्त कर्णाली प्रदेशका लागि इनफ अभियानको प्रदेश स्तरीय शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री यस्तो बताएका हुन् ।
‘बाल कुपोषण र भोकमरीको अन्त्य गरौं’ भन्ने नाराका साथ वल्र्ड भिजन ईन्टरनेशनलले आयोजना गरेको कार्यक्रममा मन्त्री शाहले कर्णाली प्रदेशमा पनि कुपोषणको समस्या रहेको बताए ।
मन्त्री शाहले कर्णाली प्रदेशमा कुपोषण अन्त्यका लागि आवश्यक बजेट मन्त्रालयबाट प्रत्येक वर्ष विनियोजन भइरहेको बताए । उनले भने, ‘कृषि क्षेत्रको विकास अति आवश्यक छ । कृषिबाट उत्पादित अर्गानिक र गुाणस्तरीय बस्तुहरुनै कुपोषण न्युनिकरणमा महत्वपूर्ण भूमिका खेल्दछ । हामीसँग भुगोल, स्रोत साधान भए पनि हाम्रो माइन्ट मेकअप कृषितर्फ गएको छैन् । त्यसैले कर्णालीमा कुपोषणको अन्त्य गर्नका लागि कृषि क्षेत्रका विज्ञहरुले त्यता तिर ध्यान दिनुपर्छ ।’
साथै मन्त्री शाहले कर्णालीमा ३६ प्रतिशत पुट्कोपन रहेको र त्यसको न्युनिकरणमा सरकार लागिरहेको बताए । कुपोषण अन्त्यका लागि सबै विकास साझेदारहरुलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उनको भनाइ थियो । यस्तै, मन्त्री शाहले थालेका कामहरु इमान्दारीताका साथ हरेक पक्षबाट नतिजा आउन गरि गर्न जरुरी रहेको बताए ।
यस्तै, कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खाद्य तथा पोषण सुरक्षा सम्बन्धी कार्यक्रम सञ्चालनका लागि आर्थिक वर्ष २०७९÷०८० मा २३ करोड ३० लाख २० हजार, अव २०८०÷०८१ म २० करोड ४८ लाख ९० हजार र चालु आर्थिक वर्षमा १४ करोड ३३ लाख ६८ हजार विनियोजन गरेको छ ।






