१० महिनामा एक करोड राजस्व संकलन


दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा एक करोड १९ हजार राजस्व संकलन गरेको छ । जुन लक्ष्यभन्दा बढी हो । भन्सार कार्यालयले १० महिनामा ९४ लाख उठाउने लक्ष्य राखेको थियो । कार्यालयले वैशाख अन्तिमसम्ममा एक करोड १९ हजार उठाउन सफल भएको हो ।
भन्सार कार्यालयले चालु आर्थिक वर्षमा एक करोड तीन लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको कोइलावास भन्सार कार्यालयका प्रमुख दीपक शर्माले जानकारी दिए । अब वार्षिक लक्ष्य पूरा गर्न दुई लाख ८३ हजार बाँकी रहेको उनको भनाइ छ । ‘केही दिनमा हामीले राखेको वार्षिक लक्ष्य पूरा हुन्छ,’ प्रमुख शर्माले भने । कोइलावास भन्सारको राजस्वको स्रोत भनेको अस्थायी पैठारी भएको उनको भनाइ छ । ‘भारतीय सवारी साधनबाट उठाउने राजस्व नै राजस्वको प्रमुख स्रोतको रूपमा लिइएको छ,’ प्रमुख शर्माले भने ।
भारतबाट नेपाल आउने गाडीबाट दिनको ६ सय रुपैयाँ र मोटरसाइकलबाट प्रतिदिन दुई सय रुपैयाँ लिने गरेको उनले बताए । भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनबाट र केही खाद्यान्न लगायतका अन्य सामग्रीबाट उठ्ने गरेको भन्सार कार्यालयले जनाएको छ । भारतबाट कोइलबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायतका ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व संकलन हुने गरेको कार्यालयले जनाएको छ ।
सामग्रीको तुलनामा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारीसाधनबाट बढी राजस्व उठ्ने गरेको छ । ‘भारतले छोटी भन्सारका रूपमा लिने भएकाले २५ हजारभन्दा बढीको सामग्री ल्याउन दिँदैन, जसले गर्दा व्यावसायिक रूपमा नाका चल्न सकेको छैन । यहाँ उठ्ने राजस्व भनेको सवारी साधनबाट उठ्ने कर नै हो,’ प्रमुख शर्माले भने । कोइलाबास नाकाबाट बिदाको समयमा दैनिक सयभन्दा बढी सवारीसाधनमा मानिस घुमफिरका लागि आउने गरेको शर्मा बताउँछन् ।
कुनै समय व्यापार व्यवसाय धेरै हुने नाकाको पहिचान बनाएको कोइलाबास पछिल्लो समय भारतीय पर्यटक नेपाल भित्रिने नाका बन्दै गएको छ । व्यापार व्यवसायका लागि सामान आयात र निर्यात गर्नेभन्दा भारतीय नेपाल आउने र नेपाली भारत जाने नाकाको रूपमा स्थापित हुन थालेको हो । ‘नेपाल र भारत दुई सरकारबीचमा कोइलाबास नाकालाई चलायमान बनाउन समझदारी हुन जरुरी छ,’ प्रमुख शर्माले भने ।
नेपालतर्फ सामान ल्याउन कुनै समस्या नभएको उनले बताए । भारतीय पर्यटकका लागि सबै भन्दा सहज र सरल बाटो भएकाले यसै बाटो भएर आउने गर्छन् । कोइलाबास नाकाबाट विशेषगरी नेपाल आउने यात्रुले प्रयोग गर्ने सवारीसाधनबाट राजस्व उठाउने गरिएको छ । दाङ, रोल्पा, प्युठानका लागि पैठारी हुने व्यापारिक सामान कोइलाबास नाकाबाट भित्रिएको देखिँदैन । व्यापारीका लागि सबैभन्दा छोटो नाका परे पनि आकर्षित भने देखिएको छैन ।
कोइलाबास नाकालाई दिगोरूपमा सञ्चालन गर्न राजनीतिक नेतृत्वबाट पहल हुन आवश्यक देखिन्छ । नेपाल र भारतबीच जी टु जीको माध्यमबाट नाकालाई दिगोरूपमा सञ्चालनको पहल गर्नुपर्ने स्थानीयले बताएका छन् । दुवै देशबीचमा व्यापार सहजीकरणको अभावले भारतमा खरिद गरेको २५ हजारभन्दा बढीको सामान कोइलाबास भन्सारबाट नेपाल भित्र्याउन कठिन हुने गरेको छ । भारतीय भन्सार कार्यालयले २५ हजार रुपैयाँको सीमा तोकेकाले समस्या परेको हो ।
दुवै देशबीचमा कोइलाबास भन्सारबाट व्यापार बढाउन समन्वय र सहकार्य हुनुपर्ने आवाज उठे पनि यसले मूर्तरूप लिएको छैन । व्यापार संगठनको बीचमा पहल भए पनि सरकारीस्तरबाट पहल नहुँदा कोइलाबास नाका व्यापारिक दृष्टिकोणले कमजोर देखिन थालेको छ । दाङलगायत साविक राप्ती अञ्चलमा सामान पु¥याउन कठिन हुने गरेको छ । कोइलाबास नाकालाई व्यावसायिक बनाउन निजी क्षेत्रबाट पहल भए पनि यस्ले मूर्तरुप लिन सकेको छैन ।
नाकासम्म पुग्न पक्की सडक बने पनि नाका पूर्णरूपमा सञ्चालनमा आउन नसक्दा कोइलाबासमा सोचे जस्तो चहलपहल हुन सकेको छैन । कोइलाबास हेर्न पुग्ने राजनीतिक नेतृत्व तथा मन्त्रीहरूले नाका सञ्चालन गर्न ध्यान नदिएको गुनासो छ । भन्सार तौलको आधारमा समेत हुने भएकोले विषादी परीक्षण तथा क्वारेन्टाइन स्थापना गर्न आवश्यक देखिएको छ । तर, यसतर्फ सरकारको ध्यान पुग्न सकेको छैन । जिल्ला तथा छिमेकी जिल्ला सल्यान कपुरकोटमा उत्पादन भएको विभिन्न कृषि उत्पादन भारत निर्यात गर्न पहल भए पनि यसले पूर्ण रूपमा सार्थकता पाउन सकेको छैन ।






