पहुँचवालाले ऋण तिर्न अटेरी गर्दा सहकारीको लगानी डुब्दै


जुम्लामा पहुँचवालाले ऋण तिर्न अटेरी गरेपछि सहकारीको लगानी डुब्न थालेको छ । सर्वसाधारणले खाई नखाई नियमित किस्ता तिरे पनि विभिन्न दलका नेता कार्यकर्ताले ऋण तिर्न अटेरी गरेपछि जुम्लाका सहकारी डुब्न थालेका हुन् ।
किस्ता पनि नबुझाउने र ऋण असुलीका लागि गएका सहकारीका कर्मचारीलाई उल्टै धम्क्याउने जस्ता हर्कत गरेपछि जिल्ला सहकारी संघ जुम्लाले सोमबार जिल्ला प्रशासनसमक्ष पहुँचका भरमा ऋण नतिरेर ठग्न खोज्नेलाई कारबाहीको माग गरेको छ । जुम्लामा २३२ वटा सहकारी छन् । जसमध्ये जिल्ला सहकारी संघमा ८४ वटा सहकारी आबद्ध छन् । दर्जन बढी सहकारी क्रियाशील रूपमा जिल्लामा आर्थिक कारोबारसमेत गरिरहेका छन् ।
जिल्लामा आर्थिक कारोबार गरिरहेका अधिकांश सहकारीले पहुँचवाला व्यक्तिबाटै ऋण असुलीमा समस्या भएकाले समधानका लागि पहल गर्न सहकारी संघलाई अपिल गरेका छन् । विभिन्न दलकै नेता कार्यकर्ताले ऋण असुलीमा अटेरी गर्नुका साथै सहकारीका कर्मचारीलाई धम्क्याउने गरेपछि जिल्ला प्रशासनमा कारबाहीका लागि माग गरिएको जिल्ला सहकारी संघ जुम्लाका अध्यक्ष रिसिराम पाण्डेले बताए ।
उनले भने, ‘पार्टीका नेता कार्यकर्ताले प्रायः ऋण नतिरेर ठग्ने प्रवृत्ति देखाउने गरेका छन् । पहिलो ऋणमा ध्यानाकर्षण गराइएको छ । अझै अटेरी भए पत्रकार सम्मेलन गरेर नामै सार्वजनिक गर्ने तयारीमा छौं । गृह मन्त्रालयले सहकारी ठगीका मुद्दा हेर्ने भएकाले जिल्लामा मौलाउँदो सहकारी ठगलाई नियमन गर्न माग गरेका छौं ।’
जुम्लामा रहेका बचत तथा ऋण सहकारी, बहुउद्देश्यीय र कृषि सहकारी संस्थाबाट विभिन्न प्रयोजनका लागि कर्जा लिएर तिर्न अटेरी गर्ने सबैको नाममा सूचना नै जारी गर्ने सहकारीको तयारी छ । ब्याज नभए पनि साँवामात्रै तिर्न आग्रह गरे पनि पहुँचवालाले बेवास्ता गरिरहेका छन् । ऋण असुलीमा समस्या हुँदा ऋण जोहो गरी बचत गरेका सदस्यको बचत फिर्ता गर्न सहकारीलाई मुस्किल भइरहेको छ ।
सहकारी क्षेत्रलाई आर्थिक विकासको मेरुदण्ड मानिए पनि शक्ति र सत्तामा रहेकैबाट नियमितविपरीत सहकारीको ऋण नतिर्ने र अटेरी गर्ने गरेपछि जुम्लाका सहकारी डुब्न थालेका हुन् । अघिपछि पैसाको धाक लगाउने र राम्रो जीवनशैली बिताउँदै आएका नेताकार्यकर्ताबाटै सहकारीको ऋण असुलीमा कठिनाइ भएको सहकारी संघका अध्यक्ष पाण्डे बताउँछन् ।
पहुँचवालाले सहकारीबाट ऋण लिने तर तिर्न नमान्ने अनि सहकारी डुब्न थाल्यो भनेर हल्ला फैलाउने गरेकाले पनी बचतकर्तामा एक खाल्को त्रास फैलिएको छ । ऋण लिएका ऋणीले समयमै ऋण नतिर्नु एकातिर गल्ती भए पनि चिनजानकै भरमा, हचुवामा ऋण प्रवाह गर्ने सहकारीको पनि कमजोरी देखिन्छ ।
थोरै बचत गरेका भरमा ठूलो परिणामा ऋण दिँदा अन्य बचतकर्ताको बचत जोखिममा परेको छ । ऋण प्रवाह गर्दा ध्यान नपु¥याउँदा सहकारीले समस्या भोगिरहेका छन् । उत्पादनशील क्षेत्रभन्दा चिनजानका आधारमा सहकारीको लगानी बढेपछि ऋण असुलीमा समस्या देखिएको हो ।






