कर्णाली सभ्यतामा प्रचलित हाम्रा परम्परागत आवास र घरहरु


बास बस्नको लागि निर्माण गरिएका संचनाहरुलाई घर भनिन्छ । जङ्गलमा बस्ने क्रममा हाम्रा पुर्खाहरु ओढार र रुखका स्याउलाको छाप्रोमा बस्ने गर्दथे । प्राचीन कालमा हाम्रा पुर्खाहरु बस्ने घर वा आवासलाई पर्णकुटी भनिन्थ्यो । स्याउलाको बार र स्याउलाकै छानो आदि भएको छाप्रो नै पर्णकुटी हो । पर्णकुटी नै हाम्रो पहिलो घर थियो । हाम्रा पुर्खाहरुले आफ्नै परम्परागत सीप, शैली र प्रविधिबाट माटो, ढुङ्गा, काठ, खर, बाँस इत्यादि सामाग्रीहरु प्रयोग गरेर घरहरु घरहरु निर्माण गर्ने गरेका थिए । हिन्दु धर्म सम्प्रदायमा आफ्नो कुल देवीदेवताको पूजा, दशैं र तिहार जस्ता चाडपर्वहरु मनाउनु अगाडी गाई भैंसीको गोबरले पोतेर चोख्याउने र त्यसमा रातो माटो, पहेलो माटो वा कमेरो माटोले घरहरु रङ्गाउने परम्परा समेत रहेको छ । हाम्रा केही प्राचीन मौलिक घरहरुबारे संक्षेपमा यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।
छाने घर ः खरको छानोमा काठ, माटोको तला र ढुङ्गा, माटोको भित्ता भएको हाम्रो स्थानीय मौलिक कला, सिप र प्रविधिबाट निर्माण गरिएको परम्परागत घरलाई हाम्रो स्थानीय भाषामा छाने घर भनिन्छ । छाने घरहरु प्रायः एक वा दुई तलासम्मको हुने गर्दछन् । प्राचीन समयमा घर बनाउन आवश्यक औजार र सामग्रीहरुको अभावमा स्थानीय स्तरमा उपलब्ध बाँस, खर, ढुङ्गा, माटो, काठ इत्यादि समाग्रीहरु प्रयोग गरेर छाने घर बनाउने गरिन्थ्यो । छाने घरमा छानाको संरचना बनाउँदा घरको चुलीमा तीनवटा लामा काठका बला, बला माथि छानाको दुवैतर्फ करिब एक फुटको फरकमा जोडीमा बाँधिएका काठका डाँरीहरु, बाँसका सेटीहरु र सेटी र खर बाँध्नको लागि बाँसका बाता प्रयोग गरिएको हुन्छ । यस्तो घरमा बाहिरभित्र गर्न काठका ढोका, हावा र उज्यालोको लागि घरको भित्तामा झ्यालहरु राखिएको हुन्छ । छाने घरमा बास बस्ने, खाना पकाउने, पशु चौपायाहरु बाँध्ने, खाद्यवस्तु भण्डारण गर्ने लगायतका विभिन्न आवसीय काममा प्रयोग गर्ने गरिन्छ । मानवीय स्वास्थ्य र वातावरणीय दृष्टिकोणले यस्तो घरलाई मानव स्वास्थ्यमैत्री तथा वातावरणमैत्री र आर्थिक दृष्टिकोणले कम खर्चिलो हुने भएकोले गरीबमैत्री घर पनि मानिन्छ ।
ढुङ्गे घर ः ढुङ्गाको छानोमा काठ, माटोको तला र ढुङ्गा, माटोको भित्ता भएको हाम्रो स्थानीय मौलिक कला, सिप र प्रविधिबाट निर्माण गरिएको परम्परागत घरलाई ढुङ्गे घर भनिन्छ । ढुङ्गे घरहरु बढिमा प्रायः दुइ तलासम्मको हुने गर्दछन् । छाने घरमा आगलागी हुनसक्ने जोखिम हुने, वर्षातमा चुहिने समस्या हुने र हरेक वर्ष नयाँ खरले छानो छाउनु पर्ने समस्या हुने भएकोले हाम्रा पुर्खाहरुले ती समस्याहरुको भरपर्दो समाधानको खोजी गर्दै जाँदा खरको विकल्पमा ढुङ्गाको छानो बनाउने प्रविधिको विकास गरेका थिए । ढुङ्गे घरमा छानाको संरचना बनाउँदा घरको चुलीमा तीनवटा लामा काठका बला, बला माथि छानाको दुवैतर्फ करिब एक फुटको फरकमा जोडीमा ठोकिएका काठका मुस्कीहरु, पाखे दलिन, काठका दाँती, ढुङ्गा अड्याउन काठका चिर्पट र गिलो माटो प्रयोग गरिएको हुन्छ । यस्तो घरमा बाहिरभित्र गर्न काठका ढोका, हावा र उज्यालोको लागि घरको भित्तामा झ्यालहरु राखिएको हुन्छ । छाना छाउने ढुङ्गाको लागि खानीबाट निकालिएको ढुङ्गालाई छिनो, हतौडो र खुकुरीले पाता पाता हुने गरि उचित किसिमले काटछाँट गरेर आयताकार आकारमा मिलाएर तयार गरिएको हुन्छ । मानवीय स्वास्थ्य र वातावरणीय दृष्टिकोणले आधुनिक पक्की घरहरु भन्दा यस्तो घरलाई मानव स्वास्थ्यमैत्री तथा वातावरणमैत्री र आर्थिक दृष्टिकोणले कम खर्चिलो हुने भएकोले गरीबमैत्री घर पनि मानिन्छ ।
तले घर ः घरको भुईतला भन्दा माथिल्लो तहमा पनि बस्न, समानहरु राख्न सकिने उद्देश्यले विशेष गरी काठ, माटो र ढुङ्गाको प्रयोग गरेर बढिमा दुई तलासम्मको संरचनामा निर्माण गरिएको परम्परागत घरलाई तले घर भनिन्छ । यस्तो घरमा तलाको संरचना बनाउँदा काठको निराल, निरालको भार थाम्न निराल मुनिबाट थाम, निराल माथि दलिन, दलिन माथि चिर्पट, चिर्पट माथि गिलो माटो र गिलो माटो माथि सुख्खा माटो प्रयोग गरिएको हुन्छ । यस्तो घरको छानो प्रायः खरको वा खरको विकल्पमा ढुङ्गाको बनाउने गरिएको पाइन्छ । आजभोली खर र ढुङ्गाको विकल्पमा जस्तापाताले छाना छाउने प्रचलन बढेको छ । खर र ढुङ्गाको विकल्पमा जस्तापाताको प्रयोग गरेर निर्माण गरिएको घरको छाना हावाहुरीले उडाउन सक्ने जोखिम समेत रहेको हुन्छ ।
मट्टीथारो घर ः काठ र माटोको थारो भएको तर त्यसमाथि पानी तर्ने छानो नभएको घरलाई मट्टीथारो घर भनिन्छ । यस्तो घरमा काठको निराल र दलिन माथी चिर्पट राखेर त्यसमाथि पानी तर्काउन गिलो माटो र गिलो माटो माथि सुख्खा माटोको बाक्लो तह बनाइएको हुन्छ । यस्तो थारोमाथि पोतेर अन्न बिस्कुन सुकाउने, कलाउने खलो समेत बनाइएको हुन्छ । कर्णाली प्रदेशका जुम्ला, हुम्ला जिल्लाका गाउँबस्तीहरुमा यस्ता घरहरु हालसम्म पनि प्रचलनमा रहेको पाइन्छ ।
गोठ ः किसान, पशुपालन गर्ने सर्वसाधारण मानिसहरुले गाई, गोरु, भैंसी, भेडाबाख्रा आदि घरपालुवा पशु चौपायहरुको आवासको लागि निर्माण गरिएको परम्परागत घरलाई गोठ भनिन्छ । गोठ प्रायः खर वा परालको छानोमा काठ, ढुङ्गा र माटो आदिको प्रयोग गरेर भित्ता बनाइएको हुन्छ । गोठ बढिमा एक तलाको वा तला नै नभएको पनि हुन्छ । तला नभएको गोठमा काठका खम्बा गाडेर काठको संरचनामा छानो बनाइएको हुन्छ । वर्षातको समयमा पशु चौपायलाई पानीले नभिजाओस् भनेर यस्तो गोठमा बाँध्ने गरिन्छ ।
तला भएको गोठमा ढुङ्गा, माटोको गारो लगाएर त्यसमा झ्यालढोका समेत राखिएको हुन्छ । यस्तो गोठको भुई तलामा पशु चौपायहरु बाँध्ने र माथिल्लो तलामा मानिसहरु बस्ने वा घाँसपराल राख्ने गरिएको हुन्छ । हिउँदको जाडोमा पशु चौपायहरुलाई रातमा चिसो नहोस् भनेर यस्तो गोठभित्र बाँध्ने गरिन्छ ।
खेतीकिसानी गर्ने कतिपय किसानहरु वर्षातमा खेत रोप्न जिउला वा बेँसी तिर झर्ने र खेतको काम सकेर चाडपर्व मनाउन गाउँघर तिर फर्किने गर्दछन् । कतिपय किसानहरु आलु लगाउन र भित्र्याउन लेक तिर जाने र लेकको काम सकेर चाडपर्व मनाउन गाउँघरतिर झर्ने गर्दछन् । यसरी लेकबेँसी गर्ने किसानहरुले एकातिर घर र अर्कोतिर गोठ बनाउने र अस्थायी रुपमा बसोबास सरेर, पशुपालन र खेतीपातीको काम गर्ने हाम्रो पौराणिक परम्परा रहेको पाइन्छ ।
आँटी ः भर्खर भित्र्याइएको काँचो र ओसिला मकैका घोगा भण्डारण गर्न बनाइएको खरको छानो भएको परम्परागत काठे घरलाई आँटी भनिन्छ । आँटीलाई अर्को शब्दमा टाँड वा मचान पनि भनिन्छ । अन्य साधारण घरमा ओसिला ताजा मकैका घोगा थुपारेर भण्डारण गर्दा मकै बाफिने, ढुसी पर्ने र कुहिने समस्या हुने भएकोले त्यस्तो समस्याबाट मकै जोगाउन चारैतिरबाट हावा चल्ने र घाम समेत छिर्ने गरी सम्पूर्ण संरचनाहरुमा काठको प्रयोग गरेर आँटी बनाइएको हुन्छ । आँटीको माथिल्लो तलामा मकै भण्डारण गरिएको हुन्छ भने भुई तलामा प्रायः धान कुट्न ढिकीको संरचना जडान गरिएको हुन्छ ।
ठाँटी ः प्रचीन समयमा पाहुना, बटुवा, खेतमा काम गर्ने खेतालाहरुले विश्राम गर्न वा बास बस्न र सामानहरु राख्न माटो, ढुङ्गा र काठबाट बनेको साधारण घर, पाटी; पौवा आदिलाई ठाँटी भनिन्छ । ठाँटीको प्रयोग स्थान विशेष फरकफरक काममा हुने गर्दथ्यो । खेतको नजिकमा बनाइएको ठाँटी खेतीकिसानी कार्यसँग सम्बन्धित औजारहरु, घाँस, पराल इत्यादि राख्न, पानी परेको समयमा खेतालाहरु ओत लाग्न, खाना खान, बास बस्न, गाईगोरुहरु बाँध्न प्रयोग हुन्थ्यो भने, मुलबाटोको छेउमा बनाइएको ठाँटीमा बाटो हिड्ने बटुवाहरुले विश्राम गर्न, ओत लाग्न वा बास बस्न प्रयोग गरिन्थ्यो र गाउँमा बनाइएको ठाँटीमा पाहुनाहरुको लागि बासको व्यवस्था गर्न, घरयासी सामानहरु राख्न प्रयोग गर्ने गरिन्थ्यो । आधुनिक समयमा ठाँटीको अस्तित्व हराउदै गएको छ यसको विकल्पमा आजभोली बाटोघाटोमा प्रतिक्षालयहरु निर्माण गर्ने प्रचलन रहेको पाइन्छ ।
बाँके घर ः विशेष गरी दुई वा तीनवटा घरहरु लम्बाइको एक छेउबाट छड्के पारी एउटैमा गाँसिएको घरलाई बाँके घर भनिन्छ । यस्तो घरमा कोठाहरु धेरै हुने भएकोले ठुलो संयुक्त परिवार हुने गाउँका ठुलाबडा र धनि घरपरिवारमा यस्तो घर बनाउने प्रचलन रहेको पाइन्छ । यस्तो घरमा प्रायः बार्दली, पटाह, दलान, फलैँचा आदिको समेत व्यवस्था गरिएको हुन्छ ।
दरबार ः राजामहाराजाहरुको शासनकालमा राजा, राजपरिवार र अन्य भाइभारदारहरु सहितको निवास, बैठक, सभा, समारोह, राजसभाको लागि निर्माण गरिएको भव्य महललाई दरबार भनिन्छ । दरबारलाई राजदरबार, राजभवन, राजसदन, राजगृह पनि भनिन्छ । यस्ता दरबारहरुमा शयन कक्ष, आरामकक्ष, भोजन कक्ष, अतिथिकक्ष, श्रृङ्गारकक्ष, राजसभाकक्ष, भेटघाट तथा बैठक कक्ष, विशेष समारोह कक्ष, पूजाकक्ष, भण्डारकक्ष इत्यादि छुट्टाछुट्टै कोठाहरुको व्यवस्था गरिएको हुन्छ ।






